काठमाडौं । दसैँ मनाउन घर फर्किने यात्रुको चाप बढेसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा बिहानैदेखि लामो दूरीका टिकट काट्ने यात्रुको घुइँचो लागेको छ। विशेषगरी सुदूरपश्चिम र कर्णाली जाने यात्रुहरू बिहान झिसमिसेदेखि नै टिकट काउन्टरमा लामबद्ध भएका छन्।
राजधानीमा उच्च शिक्षा अध्ययनरत विद्यार्थी, सरकारी तथा निजी क्षेत्रमा कार्यरत कर्मचारी र दैनिक ज्यालादारी गर्ने सर्वसाधारण दसैँ मनाउन घर फर्किने तयारीमा छन्। तर, सीमित सिट, यात्रुको चाप र आफूले चाहेको दिनमा टिकट पाइने–नपाइने अनिश्चितताले यात्रुलाई सकस भएको छ।
बसपार्कमा यात्रुको भीड व्यवस्थापनका लागि नागरिक सहायता कक्ष परिचालन गरिएको छ। टिकट काउन्टरमा स्टिलका ब्यारिकेड राखेर यात्रुलाई पालैपालो अघि बढाउने व्यवस्था मिलाइएको छ। काउन्टरमा रहेका कर्मचारीले कम्प्युटरमार्फत सिटको उपलब्धता जाँच गरी टिकट काटिरहेका छन्।
बसपार्कभित्र राखिएको डिजिटल सूचना पाटीमा पोखरा, बागलुङ, बुर्तिबाङ, रुकुम, बेनी, दरबाङ, फलेबास, मुक्तिनाथ, नेपालगञ्ज, राजापुर, धनगढी, बझाङ र बाजुरालगायत गन्तव्यका बससम्बन्धी विवरण देखाइएको छ। सुदूरपश्चिमतर्फको हवाई भाडा महँगो हुनु र कर्णाली तथा सुदूरपश्चिमका सडकको अवस्थाबारे अनिश्चितता रहनुले यात्रुको चिन्ता थपिएको छ। भरपर्दो मानिएका एसी तथा डिलक्स बसका सिटसमेत अग्रिम बुकिङ हुन थालेका छन्।

यद्यपि, आधुनिक प्रविधिको प्रयोग बढिरहेका बेला नयाँ बसपार्कका टिकट काउन्टरमा भने नगद कारोबारलाई प्राथमिकता दिइएको छ। काउन्टरमा टाँसिएका सूचनामा ‘अनलाइन होइन, नगदमा कारोबार’ गर्न भनिएको छ। तीनदेखि पाँच हजार रुपैयाँसम्म पर्ने टिकट खरिद गर्न यात्रुले नगद बोक्नुपर्ने अवस्थाले सुरक्षा जोखिम बढाउन सक्ने देखिएको छ।
साना पसलदेखि ठूला व्यापारिक केन्द्रसम्म क्यूआर कोडमार्फत भुक्तानी हुने अवस्थामा राजधानीको प्रमुख बसपार्कमै डिजिटल भुक्तानीको सुविधा नहुनुले यात्रुका लागि असहजता थपेको छ। नगदमा मात्रै कारोबार गर्ने व्यवस्थाले वित्तीय पारदर्शितामाथि समेत प्रश्न उठाएको छ।
दसैँमा कलेज तथा कार्यालयबाट फूलपाती (असोज २४) वा महाअष्टमीको अघिल्लो दिन मात्रै बिदा पाउने यात्रुका लागि टिकट पाउनु थप चुनौतीपूर्ण बनेको छ। सीमित बिदाका कारण निश्चित दिन घर जानुपर्ने यात्रुको चाप बढ्दा बुकिङ खुलेको केही समयमै सिट सकिने चिन्ता छ।
बसपार्कमा टिकट काट्ने यात्रुलाई टिकटमा उल्लेखित गन्तव्य, मिति र समय राम्ररी जाँच गर्न आग्रह गरिएको छ। बस नम्बर थाहा पाउन बस छुट्ने दिनको आधा घण्टाअघि मात्रै काउन्टर नम्बर २२ र २३ मा सम्पर्क गर्नुपर्ने व्यवस्था गरिएको छ। त्यस्तै, सबै यात्रुले बसपार्कबाटै गाडी चढ्नुपर्ने नियम बनाइएको छ।
कलंकी वा कोटेश्वरलगायत बाटोका विभिन्न स्थानबाट यात्रु चढाउने प्रवृत्तिले ट्राफिक जाम र सिट व्यवस्थापनमा समस्या हुने भएकाले बसपार्कबाटै यात्रु चढाउने व्यवस्था सकारात्मक मानिए पनि बस छुट्न आधा घण्टा बाँकी रहँदासम्म बस नम्बर नपाउँदा यात्रुमा अन्योल हुन सक्ने देखिन्छ।
कर्मचारीका अनुसार शुक्रबारदेखि सुरु भएको टिकट काट्ने चटारो दसैँसम्म जारी रहनेछ। सीमित बस तथा सिटको व्यवस्थापन, यात्रुको रोजाइअनुसार सिट मिलाउने र दोहोरो बुकिङ हुन नदिने काम चुनौतीपूर्ण रहेको उनीहरूको भनाइ छ।
दसैँमा परिवारसँग भेटघाट गर्न घर फर्किने उत्साह बोकेका यात्रुका लागि भने यात्रा सहज बनाउन टिकट बुकिङलाई व्यवस्थित गर्ने, डिजिटल भुक्तानीको सुविधा उपलब्ध गराउने र बस छुट्ने समय तथा नम्बरबारे समयमै जानकारी दिने व्यवस्था आवश्यक देखिएको छ।







