काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उखु किसानलाई १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी अनुदान वितरण गर्ने हुनुभएको छ।
उखु उत्पादक किसानलाई प्रोत्साहनस्वरूप उपलब्ध गराइने अनुदान वितरणका लागि मन्त्री चौधरीले सम्बन्धित कार्यविधि स्वीकृत गर्नुभएको हो।

आर्थिक वर्ष २०८३/८४ मा निकासा भएको १ अर्ब ५० करोड ५० हजार रुपैयाँ अनुदान बर्दिया, रौतहट, कैलाली, कञ्चनपुरलगायत विभिन्न जिल्लाका उखु किसानलाई वितरण गरिनेछ।
सरकारले उखु खेतीमा किसानलाई प्रोत्साहन गर्ने, कृषि उत्पादकत्व वृद्धि गर्ने तथा अनुदानलाई लक्षित किसानसम्म प्रभावकारी रूपमा पुर्याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्दै आएको छ।
सरकारले उखु किसानलाई उत्पादनका आधारमा प्रतिक्विन्टल ७० रुपैयाँका दरले प्रोत्साहन अनुदान उपलब्ध गराउँदै आएको छ। उक्त अनुदानले उखु उत्पादनमा किसानलाई प्रोत्साहन गर्नुका साथै कृषि क्षेत्रमा उनीहरूको लगानी र उत्पादन बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।







