२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते News Polar शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म News Polar कांग्रेसको १५ औँ महाधिवेशन: ३ बजेसम्म मतदान, आजै मतगणता थाल्ने News Polar ‘लमजुङ दरबार’सँगै बाँचेको माया News Polar डोको बुन्दै, सीप सिकाउँदै News Polar तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर News Polar कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने News Polar व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै News Polar माहुत समुदायः परम्परागत पेसा छुट्यो, अभाव र सङ्कट घटेन News Polar देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह News Polar बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर News Polar कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक पुनर्निर्माण हुँदै News Polar मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण News Polar कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती News Polar सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे News Polar सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित News Polar एमालेमा कुर्सीको आसन र देखिएको ‘कुशासन’ News Polar विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

‘लमजुङ दरबार’सँगै बाँचेको माया

‘लमजुङ दरबार’सँगै बाँचेको माया
अ अ+ अ-

लमजुङ। ‘गाउँसहरमा लमजुङ दरबार…’ गीतका यी शब्दसँगै लमजुङको साङ्गीतिक पहिचानका रूपमा सम्झिने नाम हो– वरिष्ठ लोकगायिका माया गुरुङ ।

लामो समयदेखि लोकगीत, सङ्गीतको यात्रामा रहनुभएकी गुरुङका लागि गीत मनोरञ्जनको माध्यममात्रै बनेन, जीवन जिउने आधार र पहिचानको हिस्सा पनि बन्यो ।

बेँसीसहर नगरपालिका–५ नाल्मामा जन्मनुभएकी गुरुङले करिब १२ वर्षको उमेरदेखि गाउँघरका रोदी, मेलापात, विवाह तथा पूजापर्वमा गीत गाउन थाल्नुभएको थियो । त्यतिबेला गीत गाएबापत पारिश्रमिक पाइँदैनथ्यो । कतिपय ठाउँमा आवातजावत खर्चसमेत नपुग्ने अवस्था थियो । परिवार र आफन्तको साथमा उहाँको गायनयात्रा भने रोकिएन ।

विसं २०४४ मा पोखरा पुगेपछि रेडियो नेपालका लोकगीत सुन्ने अवसर पाएसँगै उहाँमा पनि गीत गाउने रहर बढ्यो । अवसर खोज्दै जाँदा त्यसको एक वर्षपछि २०४५ सालमा रेडियो नेपालको ‘प्रतिभा’ कार्यक्रममा उहाँले गीत गाउने अवसर प्राप्त गर्नुभयो । त्यसपछि उहाँकै शब्द र स्वरका लोकगीत रेडियो नेपालमा गुञ्जिन थाले ।

विसं २०४५ फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा रेडियो नेपालले आयोजना गरेको अञ्चलस्तरीय खुला लोकगीत प्रतियोगितामा उमा गुरुङसँग मिलेर ‘गाउँसहरमा लमजुङ दरबार’ गीत गाउनुभयो । प्रतियोगितामा प्रथम हुँदै स्वर्ण पदक प्राप्त गरेको उक्त गीतले उहाँलाई साङ्गीतिक क्षेत्रमा स्थापित गराउनुका साथै लमजुङको साङ्गीतिक पहिचानसमेत फराकिलो बनायो ।

‘सैलुङे डाँडा नाल्माको’, ‘माया सरर’ र ‘खुर्पेटो डोकोले’ उहाँका चर्चित सृजना हुन् । गीतसङ्गीतको यात्रासँगै उहाँको व्यक्तिगत जीवन भने सहज रहेन । विसं २०४३ मा लेखमान गुरुङसँग पोखराको विन्ध्यवासिनी मन्दिरमा प्रेमविवाह गर्नुभएकी गुरुङले त्यसपछि पारिवारिक कठिनाइ झेल्नुपर्यो ।

घरपरिवारको जिम्मेवारी र आर्थिक अभावबीच पनि उहाँले गायनलाई छाड्नुभएन । कलाकारिताबाट मात्रै जीविकोपार्जन गर्न कठिन भएपछि पशुपालनलगायतका काम गर्नुभयो । “यत्तिका वर्ष कलाकार भएँ, मैले पैसा कमाइनँ, इज्जत र दर्शक कमाएँ, यसमा खुसी छु”, उहाँले भन्नुभयो । लामो समयदेखि आफ्नै एकल साङ्गीतिक कार्यक्रम गर्ने उहाँको चाहना अब पूरा हुँदैछ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, लमजुङ जिल्ला समितिको आयोजनामा आगामी मङ्सिर १९ गते बेँसीसहर नगरपालिका–८ स्थित फूलबारी मञ्चमा ‘माया गुरुङ एकल साङ्गीतिक साँझ–२०८३’ आयोजना हुँदैछ । कार्यक्रमबाट बचत भएको रकम कलाकार कल्याण कोष स्थापनामा उपयोग गर्ने तयारी गरिएको छ ।

उहाँ पुराना लोकभाका र मौलिक संस्कृतिको संरक्षणसँगै नयाँ पुस्ताले आफ्ना मौलिक गीत, सङ्गीत र संस्कृतिलाई नबिर्सियोस् भन्ने चाहनुहुन्छ । समयसँगै गीत सुन्ने माध्यम र शैली फेरिए, कतिपय पुराना भाका ओझेल परे । तर उहाँको गीतसङ्गीतप्रतिको प्रेम भने उस्तै छ । “मर्ने बेलासम्म यही ‘लमजुङ दरबार’ गाउँदै मर्न पाऊँ । मरिसकेपछि पनि यही गीत गाएर मलाई बिदाइ गरियोस् । म नरहे पनि ‘लमजुङ दरबार’ गीत सधैँभरि गुञ्जिरहोस् भन्ने मेरो चाहना हो”, उहाँले भन्नुभयो । रासस