काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले मतदानका लागि लाइनमा बसेका मतदातासँग मत मागेका छन्। पार्टीको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानका क्रममा थापाले मतदातासँग मत मागेका हुन्।
थापाले मत मागिरहँदा मतदाता उत्साही देखिएका थिए। उनले कसैको बहकाउ र दबाबमा नपरी आफ्नो विवेक प्रयोग गरेर स्वेच्छाले मतदान गर्न मतदातालाई आग्रह गरेका छन्।
थापाले बिहान सामाजिक सञ्जालमार्फत पनि कुनै समूह नरहेको उल्लेख गर्दै मतदातालाई दबाबमुक्त भएर मतदान गर्न आग्रह गरेका थिए।
कांग्रेसलाई विधि र विधानअनुसार अघि बढाउनुपर्ने धारणा राख्दै आएका थापा विशेष महाधिवेशनमार्फत पार्टी नेतृत्वमा आएका थिए। पार्टीको केन्द्रीय कार्यसमितिले १५औँ महाधिवेशन गत वर्षको मंसिरमा गर्ने निर्णय गरेको भए पनि नेतृत्वले समयमै महाधिवेशन नगरेपछि विशेष महाधिवेशनको प्रक्रिया अघि बढाइएको थियो।
थापाकै नेतृत्वमा कांग्रेस गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सहभागी भएको थियो। उनले पार्टीको विधानअनुसार समयमै महाधिवेशन गरी संगठनलाई अघि बढाउने विषयलाई प्राथमिकता दिँदै आएका छन्।
लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय थापा यसअघि पार्टी महामन्त्रीसमेत भएका थिए। उनी पहिलो पटक केन्द्रीय सदस्यमा निर्वाचित हुँदा सर्वाधिक मत प्राप्त गर्दै शीर्ष स्थानमा रहेका थिए। जेन–जी आन्दोलनपछि पार्टीको नीति र कार्यशैलीलाई समयसापेक्ष बनाउनुपर्ने पक्षमा पनि उनी सक्रिय रहँदै आएका छन्।
सभापति पदमा थापासँग काठमाडौं क्षेत्र नम्बर ६ का श्यामकृष्ण खड्गी प्रतिस्पर्धामा छन्। खड्गी पहिलो पटक कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका हुन्।








