काठमाडौँ । सिंगापुरबाट फर्केको डेढ सातापछि पुनः प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि आज सिंगापुर जाँदैछन् । उनले आफ्नो स्वास्थ्यमा धेरै समस्या नरहेको नेताहरूलाई ब्रिफिङ गरेका छन् ।
गत साउन १८ मा सिंगापुर गएर २७ गते फर्केका प्रधानमन्त्री ओलीले मंगलबार सर्वदलीय बैठकमा अन्य दलका शीर्ष नेताहरूलाई एउटा औषधिको डोज थप्नु वा मिलाउनुपर्ने भएकाले जान लागेको ब्रिफिङ गरेका थिए ।
बिहीबार दिउँसो साढे १ बजे ओली सिंगापुर प्रस्थान गर्नेछन् । एक सातासम्म बस्ने भनिए पनि फर्किने मिति यकिन भएको छैन । उनले बुधबार आयोजित कार्यक्रममा संविधान दिवसअगाडि नै आउने भनेका छन् । संविधान दिवस आउन १ महिना बाँकी छ ।