१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार

मिथिलाञ्चलमा लोप हुँदै होली गीतः जोगिरा सर रर…

मिथिलाञ्चलमा लोप हुँदै होली गीतः जोगिरा सर रर…
अ अ+ अ-

धनुषा ।

‘कौन तालपर ढोलक बाजे कौन ताल मृदङ्ग ?
कौन तालपर गोरिया नाचे कौन तालपर हम ?
जोगिरा सर र र !’

मिथिलाञ्चलमा गाइने यस प्रकारको जोगिराले होली पर्व खेल्नेहरुबीच सद्भाव, माया र उत्साहका साथै उर्जाको सन्देश सञ्चार हुने गर्ने गर्छ । होली पर्व र सङ्गीतबीच गहिरो सम्बन्ध हुन्छ । सङ्गीत बिनाको होलीको परिकल्पना नै गर्न सकिदैन । तर पछिल्लो समय होलीको पौराणिकता विस्तारै हराउँदै गएको छ । पहिलेजस्तो होलीमा कथा, व्यथा तथा व्यङ्ग्यात्मक गीत सुन्न विरलै पाइन्छ । “मृदङ्ग, ढोलसँगै डम्फुको स्वर पनि हराउन थालिसक्यो”, जनकपुरधामका कैलाशप्रसाद महतोले भन्नुभयो, “होलीको तर्क, दर्शनलाई गम्भीरतापूर्वक नलिइएकाले अबको सहरमुखी होलीले मौलिकता हराउँदै गएको छ ।”

फागुको बेला यस्ता गीतले सारा गाउँघर गुन्जाएका हुन्थ्यो तर अहिले गीत, ढोल, मृदङ्ग र डम्फूको स्वर बिरलै सुन्न पाइने गरेको उहाँको भनाइ छ । “वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाइने फागु गीत लोप हुन थालेकामा खल्लो लाग्छ”, उहाँले भन्नुभयो, “उहिले गीत गाएरै फागु आएको सङ्केत गरिन्थ्यो, अब न ढोल, मृदङ्ग नै बज्छन्, न त फागुगीत नै गुञ्जिन्छन् ।”

पहिले पहिले त गाउँको बीचमा रहेको ब्रह्मस्थानमा गाउँका सबै बसेर रातिसम्म जोगिरा गाइने गरेको बताउँदै उहाँले जोगिरा नसुनेको पनि झण्डै सात वर्षभइसकेको छ भन्नुभयो । वसन्तऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागुपूर्णिमासम्म मिथिलाञ्चलका घर, गाउँ, टोल र छिमेकमा गाइने यस्तै माधुर्य र प्रेम भाव भएको होली गीत गाउने मानिसको अभावका कारण लोप हुँदै गएको हो । होलीमा गाइने यस्ता गीतलाई ‘जोगिरा’ भनिन्छ ।

मिथिलाञ्चलमा गाइने यसप्रकारको जोगिराले होलीपर्व खेल्नेबीच सद्भाव, माया र उत्साहका साथै ऊर्जाको सन्देश सञ्चार हुने संस्कृतिविद् किशोरी साहले बताउनुभयो । उहाँले भन्नुभयो, “होलीपर्व र सङ्गीतबीच गहिरो सम्बन्ध हुन्छ । सङ्गीतविनाको होलीको परिकल्पना नै गर्न सकिँदैन । भनिन्छ होलीपर्व मनभित्र रहेको कुण्ठित विचारलाई समाप्त पार्ने पर्व हो ।”

मिथिलानगरपालिका–२ नक्टाझिज बस्ने ७० वर्षीय रामखेलावन महतोले पुख्र्यौली बाजा मृदङ्ग बजाई फागु गीत जोगिरा गाउन नपाएकामा दुःखी मनले भन्नुभयो, “पहिलेपहिले यस्ता फागु गीत जोगिरा वसन्तऋतुको आगमनसंँगै श्रीपञ्चमीदेखि फागुपूर्णिमासम्म गाउँगाउँ, टोलटोल घुमेर फागुपर्वको आगमन भएकाबारे गीत गाएर जानकारी दिने परम्परा थियो तर अहिले गीत गाउने बूढापाकाको कमी भएका कारण न त त्यतिमात्रामा ढोल मृदङ्ग नै बज्छ, न त फागु गीत नै गाइन्छ ।”

“यसपालीको होली नजिकै आइसक्यो, न डम्फू बज्छ न जोगिराका स्वर नै सुनिन्छन्न् !”, वर्षौंदेखि जोगिरा गाउँदै आएका क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कुचाइटोलका ७२ वर्षीय रामसागर ठाकुरले बताउनुभयो । उहाँले भन्नुभयो, “मेरा समूहका धेरै साथीको मृत्यु भइसक्योे, कोही बुढा भएर थलिएका छन्, अझै गाउने त रस छ, तर साथ दिने कोही छैनन् ।” वसन्त पञ्चमीसँगै होली ‘फागु’ पर्वको सन्देश छर्ने जोगिरा (फागु गीत) अब सुनिन छाडेपछि धनुषासहितका मिथिलाञ्चल क्षेत्रको यो पुरानो संस्कृति लोप हुने स्थितिमा पुगेको छ । 

ठाकुरले आफ्नै शैलीमा जोगिरा सुनाउनुभयो–
    
   ‘किनका के हाथ कनकपिचकारी,
    किनका के हाथ अबिर झोरी ?
    रामजी के हाथमें कनकपिचकारी,
    सियाजी के हाथअबीर झोरी !
    जोगिरा..सररर..!!’

(कसको हातमा सुन जडित पिचकारी (लोला) छ र कसको हातमा अबिरको झोला रु रामजीको हातमा सुन जडित पिचकारी छ र सीताजीको हातमा अबिरको झोला) पौराणिक गाथाका विषयवस्तु, भक्ति, ख्यालठट्टा, प्रेमयुक्त र रस मिसिएका मैथिली भाषामा गाइने जोगिरा अब मिथिलाञ्चलमा सुनिन छाडेका छन् ।

होलिया (फागु गीत गाउने गायक) का स्वरमा घरभित्र लुकेर बसेकी नवयौवना मिथिलानीलाई उकुसमुकुस बनाउने र सबै सामाजिक पर्दा उघारेर बाहिर नाच्न आउँआउँ लाग्ने जोगिरा लोप हुँदै गएपछि फागु पर्वको सौन्दर्य स्वात्तै घटेको पुराना होलिया बताउँछन् ।

सामाजिक छुवाछूत, जातपात र भिन्नभिन्न धर्म संस्कृतिप्रति परहेज गर्ने पनि एक अर्कोलाई अङ्कमाल गर्दै सामाजिक सद्भाव र समानताको सन्देश दिन रमाउने परम्पराको होली पर्व मिथिला संस्कृतिको धरोहर मानिन्छ । यसको सौन्दर्यको महत्वपूर्ण अङ्ग जोगिरा लोप हुँदै गएर अब ‘डिजे’ बज्न थालेपछि मैथिली मौलिकता हराउँदै गएको नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष राजेश कर्णले चिन्ता व्यक्त गर्नुभयो ।

ख्यालठट्टा गरिने नाताबीचका नवयौवनामात्र नभई होलियाबीच नै ठट्टा गर्ने जोगिराको कटाक्ष पनि कम मनोरञ्जक छैन । मिथिलाञ्चलमा वसन्तपञ्चमीदेखि होलीगीत ९जोगिरा० सुरु भएर मिथिला माध्यमिकी परिक्रमाको सातौँ दिन महोत्तरीको भङ्गाहा नगरपालिका–९ कञ्चनवनमा यात्रीले एकापसमा रङ अबिर खेलेपछि होलीपर्व मनाउन थालिने परम्परा छ ।  त्रेतायुगमा भगवान् र सीताले यहाँ होली खेलेको धार्मिक विश्वास रहिआएको छ ।

जनकपुरधाम– १२ का सतीशलाल कर्णले भन्नुभयो, “होली गीतमा पहिले कामोत्सवको मर्म, धार्मिक र आधुनिक विशिष्टता, जीवनको उमङ्ग, ऊर्जा, संस्कृतिको प्रकाश, परम्पराको आधार, पिरति तथा उन्मुक्ति थियो तर अब उच्छृङ्खल गीत आएकाले होलीमा माधुर्य र प्रेमभाव मिसिएको गीत विरलै सुन्न पाइन्छ ।” दोहोरी गीत झँै गाइने जोगिरा र होलीका गीतका कारण तराई–मधेसका हरेक गाउँको वातावरणमा एक किसिमको रौनक छाएको हुन्थ्यो तर ती गीत भने अहिले लोप हुने अवस्थामा पुगेका छन् । भित्री ग्रामीण क्षेत्रमा कुनैकुनै गाउँ घरमा मात्र यस्तो जोगिरा सुन्न पाइन्छ । 

क्षिरेश्वरनाथ–७ हरिहरपुरका रामलाल महतोले भन्नुभयो, “होलीको पौराणिकता अब हराइसकेको छ । दिनहुँजसो हुने झैझगडा, रागद्वेषका कारण होली गीत गाउन नै छाडिएको छ । होलीको तर्क, दर्शन, लौकिकतालाई गम्भीरतापूर्वक नलिइएकाले अहिलेको होलीमा सङ्कीर्णता छाएको छ । पहिलेपहिले बूढापाकाले रात परेपछि गाउँका बीचमा रहेको चौपालमा झ्याल, मृदङ्ग, ढोल, डम्फा र तुरकी लिएर समूहगतरुपमा होली गीत जोगिरा गाउने गरेको सखुवा बजारका ६८ वर्षीय सत्यनाराण साहले बताउनुभयो । अब त्यो समय हराएर गएको छ । 

अधिकांश युवा कामका लागि खाडी मुलुक गएकाले होली गीत हराउँदै गएको बताउँदै धनुषाधाम नगरपालिका पर्वताका अमरलाल कर्णले भन्नुभयो, “अबको होली प्रेम र सद्भावको नभएर वैमनस्यता पूर्णतामा पुगेको छ । भाङको ठाउँमा रक्सी, प्रेम र सद्भावको ठाउँमा रागद्वेष देखा परेकाले अबको होलीको पौराणिकता र माधुर्य हराउँदै गएको छ ।”

धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले अति महत्वपूर्ण रहेको होलीले सबै जातजातिलाई प्रभाव पारेको भए पनि होलीको रौनकता नै हराएर गएको छ । फागुपर्व सबै जातजातिले प्रेम र सद्भावका साथ मनाउँदै आइरहेका छन् । पहिलेका होली गीतमा धार्मिक तथा सद्भावको सन्देश बढी पाइन्थ्यो । अब उच्छृङ्खल गीतका सिडी चक्का बजारमा बढी पाउन थालिएको छ । यस्तो गीतमा अश्लील शब्द बढी भएको सखुवा बजारका रामकृपाल जयसवालकोे भनाइ छ ।

मिथिलाको शहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा गाइने यस्ता होली गीतमा विशुद्धरुपमा ग्रामीण होलीको महत्व, त्यस भेगको माटाको मन्दमन्द वासना हुने भएकाले यस्ता गीतको रक्षा गर्नु आजको आवश्यकता रहेको संस्कृतिविद् तथा वरिष्ठ पत्रकार रामभरोस कापडीको भनाइ छ । पौराणिक होली गीतमा विषयवासना, प्रेमालाप, सीताराम र शिवपार्वतीमा केन्द्रित भएर जोगिरा गीत गाउने परम्परा थियो । अबको होली गीतमा पश्चिमी सभ्यता, उच्छृङ्खलता अश्लीलता जस्ता गीतले कब्जा जमाउन थालेकाले यसको माधुर्य समाप्त हुँदै गएको उहाँले बताउनुभयो । 

गाउँघरमा आजभोलि होलीका साँस्कृतिक गीतको साटो भोजपुरी र आधुनिक संस्कृतिले कब्जा जमाउन थालेको छ । वसन्तऋतुको आगमन सँगसँगै वसन्तोत्सव पर्वकारुपमा मनाइने होली पर्वका अवसरमा गाइने जोगिरा लोप हुनथालेकाले यसको संरक्षणतर्फ मिथिला क्षेत्रमा काम गर्ने सङ्घसंस्था अगाडि आउनुपर्ने अर्का संस्कृतिविद् रमापति चौधरीले बताउनुभयो । होली यस्तो हुनुपर्छ जसमा महिला तथा पुरुष निर्धक्क भएर बाहिर निस्कन सकून् । होलीलाई एउटा यस्तो आदर्श बनाउनुपर्छ कि देश र दुनियाँले होली खेलोस् त मिथिलावासी जस्तो ।

तराई–मधेस क्षेत्रमा होली पर्वमा गाइने जोगिरा गीतको संरक्षणका लागि पछिल्लो केही वर्षदेखि जनकपुरधामस्थित मिथिला नाट्य कलापरिषद् (मिनाप)ले गाउँगाउँबाट होलियालाई झिकाएर जोगिरा प्रतियोगिता गराउने गरेको छ । 

यस्तो छ होलीको पौराणिक कथा

पौराणिक कथाअनुसार सत्ययुगमा राजा हिरण्यकश्यपु ज्यादै अत्याचारी राजा भएकाले आफूलाई देवताभन्दा ठूलो हुँ भन्ने घमण्ड गर्थे । उनका छोरा प्रह्लाद भगवान् विष्णुका परमभक्त थिए । हिरण्यकश्यपुले छोरा प्रह्लादलाई विष्णु भक्तिबाट अलग गराउन होलिकासँगै आगोमा जलाउँदा होलिका डढेर भष्म भइन् भने प्रह्लादलाई केही प्रभाव परेन । सोही परम्परालाई निरन्तरता दिँदै हिन्दू समाजमा फागुण शुक्ल पूर्णिमाको रातमा होलिकाको दहन गरी हर्ष बढाइँ गर्ने चलन रहिआएको छ । (रासस, अजयकुमार साह)