५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुलबाटै गुड्न थाले गाडी



अ+ अ-

कावासोती । ट्रक ठोकिदा भाँचिएको पूर्व–पश्चिम राजमार्गको नवलपरासीको अरुणखोला पुल मर्मतपछि पुलबाटै गाडी गुड्न थालेका छन् । गत साउन २९ गते ट्रक ठोक्किँदा पुल एकको स्थानमा करीब डेढमिटर लच्किएको थियो । मर्मत सम्पन्न भएपछि पूर्णरूपमा यातायात पुलबाटै सञ्चालन गरिएको हो ।

गएको शनिबार डाइभर्सनमा सामान्य क्षति भएपछि केही समय पुलबाटै एकतर्फी यातायात सञ्चालन गरिएको थियो । पुल मर्मतको काम पूर्णरूपमा सम्पन्न भएसँगै गए रातिबाट दुईतर्फीरुपमा यातायात सञ्चालनमा आएको अरुणखोला प्रहरी चौकीका प्रहरी नायब निरीक्षक जनकबहादुर बुढाले बताउनुभयो ।

सडक डिभिजन कार्यालय बुटवलको प्राविधिक टोलीले पुल भाँचिएको १३औँ दिनमा मर्मत सम्पन्न गरी सञ्चालनमा ल्याएको हो । पुल भाँचिदा यातायात सञ्चालनमा कठिनाइ हुंदै आएको थियो । वैकल्पिक बाटोका रूपमा बनाइएको ‘डाइभर्सन’ भरपर्दो नहुंदा यात्रुले सास्ती पाएका थिए । पुल भाँचिदा बनाइएको ‘डाइभर्सन’ पानीले बगाउँदा यातायात सञ्चालनमा समस्या भएको थियो ।

सडक विभागले ‘डाइभर्सन’बाट यातायात सञ्चालनमा कठिनाइ भएपछि पुललाई छिटोभन्दा छिटो सञ्चालन गर्ने गरी काम गरको थियो । सोहीअनुसार मर्मत सम्पन्न गरिएको सडक डिभिजन कार्यालयका इञ्जिनीयर हरिप्रसाद सुवेदीले बताउनुभयो । चाडपर्वको समयसमेत भएकाले तदारुकताका साथ छोटो समयमै पुल मर्मत सम्पन्न गरिएको इञ्जिनीयर सुवेदीले बताउनुभयो । विगतका वर्षमा यहाँका पुल भाँचिदा महीनौंसम्म बन्न नसक्दा यात्रुले सास्ती झेलेका थिए ।

जिल्लामा रहेका पुलहरु प्राय ‘स्टिल ट्रस’को प्रयोग गरेर निर्माण गरिएका छन् । पुल बनाएको समेत लामो समय भएकाले सामान्यरूपमा सवारीले ठक्कर दिँदासमेत धेरै क्षति हुने गरेको छ । सडक विभागले पुलको सुरक्षाका लागि पुलको आसपासमा स्टिलको ‘डब्लु बिम’ (पुलको सुरक्षाका लागि निर्माण गरिएको स्टिलको बार) समेत बनाएको छ । तर पनि विभिन्न समयमा यहाँका पुलमा सवारीको ठक्करबाट क्षति हुदैं आएको छ ।

पुलको सुरक्षाका लागि बनाइने स्टिलको बार केही पुलमा नभएका कारण ती पुलमा समेत बार निर्माण गरिने इञ्जिनीयर सुवेदीले बताउनुभयो । पुल निर्माणको समयमा अहिलेको भारलाई मूल्याङ्कन नगरिएको र संरचनासमेत पुरानो हुँदै जाँदा पुलमा क्षति पुग्ने गरेको उहाँले बताउनुभयो ।