२१ भाद्र २०८३, आईतवार
,
Latest
बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः… बर्दियामा ५५ जनाको डिएनए संकलन साहित्यकार डा लालको निधन इन्जिनियर दम्पतीसहित छोराछोरी बेपत्ता, पर्खाइमा परिवार भोटेकोशी बाढीः शिक्षण अस्पतालमा २१ घाइतेको उपचार हुँदै दिक्तेल बजारको बेसक्याम्पमा विस्फोटक पदार्थ फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

साहित्यकार डा लालको निधन



अ+ अ-

धनुषा। मैथिली साहित्यका वरिष्ठ साहित्यकार तथा समालोचक डा रेवतीरमण लालको ८३ वर्षको उमेरमा निधन भएको छ ।

उहाँको शनिबार राति जनकपुरधाम उपमहानगरपालिका–११ स्थित आफ्नै निवासमा निधन भएको हो ।

धनुषाको साविक देवडिहा गाविस–३, खिरखिरिया गाउँमा सन् १९४३ मार्च २ मा जन्मिनुभएका डा लालले करिब छ दशक मैथिली साहित्यको उन्नयनमा सक्रिय योगदान पुर्याउनुभएको थियो । मैथिली विषयमा विद्यावारिधि गर्नुभएका उहाँ नेपाल राष्ट्र बैंकका अवकाश प्राप्त कर्मचारीसमेत हुनुहुन्थ्यो ।

साहित्यका विभिन्न विधामा कलम चलाउनुभएका डा लालले कथा, कविता, गीत, लेख, पटकथा, साक्षात्कार, यात्रावृत्तान्त र लोकसाहित्यमा योगदान दिनुभएको थियो । उहाँको पहिलो प्रकाशित मैथिली रचना ‘सरस्वती बन्दना’ गीत सन् १९६० मा प्रकाशित भएको थियो । त्यसयता उहाँ निरन्तर सिर्जना र साहित्यिक गतिविधिमा सक्रिय रहनुभयो ।

‘साक्षात्कार’, ‘माधव नहि अएला मधुपुरसँ’, ‘हमर विदेश भ्रमण’, ‘महाकवि विद्यापति’ र ‘खिस्सा पिहानी’ उहाँका चर्चित कृतिमा पर्छन् । ‘धनुषाधाम और मणिमण्डप’ उहाँको पर्यटनसम्बन्धी कृति हो । उहाँले मैथिली त्रैमासिक पत्रिका ‘नैमिकानन’ को सम्पादनसमेत गर्नुभएको थियो ।

डा लालका साहित्यिक रचनामध्ये केही विद्यालय तथा महाविद्यालयका पाठ्यक्रममा समावेश छन् । यसले उहाँको सिर्जनात्मक योगदानलाई साहित्यिक क्षेत्रभन्दा बाहिर शैक्षिक क्षेत्रमा समेत स्थापित गरेको देखिन्छ । साहित्यिक तथा सामाजिक गतिविधिमा उहाँको सक्रियता थियो । उहाँ विविधा मैथिली मञ्चका संस्थापक सचिव, मैथिली साहित्य परिषद्का सदस्य तथा मैथिली साहित्यकार सभाका सल्लाहकारका रूपमा आबद्ध रहनुभएको थियो ।

मैथिली साहित्यमा पुर्याउनुभएको योगदानको कदरस्वरूप डा लालले वैदेही प्रतिभा पुरस्कार, त्रिमूर्ति पुरस्कार, मिथिला रत्न, ज्योतिरीश्वर साहित्य सम्मान तथा नेपाल सरकारको प्रादेशिक प्रतिभा पुरस्कारलगायतका सम्मान प्राप्त गर्नुभएको थियो ।

डा लालको निधनले मैथिली साहित्यमा लामो समयदेखि सक्रिय एक अनुभवी स्रष्टा, समालोचक र साहित्यिक अभियन्ताको अभाव भएको साहित्यप्रेमीहरूले बताएका छन् ।

विशेषगरी मैथिली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा उहाँले पुर्याउनुभएको योगदानलाई साहित्यिक वृत्तले महत्त्वपूर्ण मान्दै आएको छ ।