१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

रजस्वला हुँदा अझै गोठमा सुत्न बाध्य छन् महिला

रजस्वला हुँदा अझै गोठमा सुत्न बाध्य छन् महिला
अ अ+ अ-

–प्रकाश मिश्र
घोडाघोडी । आफ्नै घर भित्र पस्दा देउता रिसाउने डरले रजस्वला तथा सुत्केरी महिला घरभन्दा निकै पर एकान्तमा बनाइएका साँघुरा छाउगोठमा सुत्न बाध्य छन् । त्यसमा पनि उनीहरूले दूध, दही र मोहीजस्ता पोषणयुक्त खानेकुरा खानबाट पनि वञ्चित छन् । प्रसूतिको समय नजिकिएपछि महिलालाई स्वास्थ्य संस्था वा स्वास्थ्य कार्यकर्तासमक्ष पुर्याउनुपर्नेमा गाईवस्तु अन्यत्र सारेर गोठतिर लैजाने अनि महिना दिनसम्म गोठमै आमा तथा नवजात शिशुलाई कैद गर्ने अमानवीय प्रचलनले २१ औँ शताब्दीको महिला अधिकारलाई चुनौती दिइरहेहको छ ।

रजस्वला तथा सुत्केरी अवस्थाका महिलाहरू पोषिलो आहार, सरसफाइ तथा पारिवारिक सामिप्यको अभावका कारण अनेक समस्यामा पर्नुका साथै ‘छाउ’ अर्थात् छुन नहुने अन्ध मानसिकताका कारण गोठको एकान्तबासमा ज्यानै गुमाउनु परेको यथार्थ यहाँ छ । तर विडम्बना, तिनीहरूको जीवनरक्षाका लागि कुनै ठोस कार्यक्रम भने देख्न र सुन्न पाइँदैन । विशेषगरी रजस्वला किशोरी, गर्भवती तथा सुत्केरी महिलाहरू यस प्रकारको जोखिममा रहेका देखिन्छन् ।

रजस्वला भएका बेला धारा छुन नहुने, घर वरपर हिँड्न नहुने, गाई गोरुलाई छुन नहुने तथा पाँच दिनसम्म गोठमा बस्नुपर्ने परम्परा पहिलेदेखि चलिआएको कारण त्यसलाई त्याग्न नसकेको महिलाहरु बताउँछन् । कैलाली घोडाघोडी नगरपालिका–९ गोदनीकी ३३ वर्षीया चम्पा भुल छाउ नबारे देउता रिसाउने बताउछन् । उनी भन्छन्, “महीनावारी बार्नैपर्छ नत्र कुल देउता रिसाउँछन्, यो हामीले पहिलेदेखि मानिआएको संस्कार हो ।

अहिले समय परिवर्तन भयो भन्दैमा छोड्न सकिदैन् ।” “छाउ हुँदा कसलाई सानो गोठमा साँघुरिएर पीडा भई बस्न मन हुन्छ र ? यो परम्परागत संस्कार हो, यसलाई मान्नै पर्छ, नत्र देउता रिसाउँछन् भन्छन् के गर्नु चलेको चलन नमानी भएन भन्नुहुन्छ घोडाघोडी–११ की आशा परियार । उनी भन्छन्, “घरको सिमानाभन्दा पर आँगनमा जानै पाइन्न, भुलेर गइहालियो भने सबैका विभिन्न प्रकारका गाली सुन्नुपर्ने हुन्छ, पानीको धारा छुन पाइन्न कति बेला ज्यादै तिर्खा लागेको हुन्छ घरमा पानी सारिदिने कोही हुँदैनन् त्यसै तिर्खाएर बस्नुपर्ने बाध्यता छ ।”

रजस्वला हुँदा धेरै पीडा भोग्नुपरेको घोडाघोडी नगरपालिका–९ कि सङ्गीता विष्टको भनाइ छ । विष्ट भन्छन्, “टाढाको छाउगोठमा सुत्नुपर्छ, नजिकै जङ्गल छ, जनावरको डर हुन्छ, मानिसको डर पनि हुन्छ, त्यसका साथै पर्याप्त ओछ्याउने बिछ्याउने कपडाको अभावमा समेत जाग्राम बसेर रात काट्नुपर्ने बाध्यता छ ।” यस्तो पीडामा कसलाई बस्न मन हुन्छ र उनी प्रश्नात्मक शैलीमा भन्छन्, “यस्तो पनि संस्कार हुन्छ ? ज्यान जोखिममा राखेर बाच्नुपर्ने ? यस्ता रुढिवादी परम्परालाई जरैदेखि लत्याउन आवश्यक छ, तर यसको लागि एकै जना बोलेर हुँदैन । एकै जना बोल्ने हो भने त समाजदेखि बहिष्कृत हुनुपर्छ ।”

“भौगोलिक अवस्थिति, सामाजिक संरचना, स्रोतसाधनको अपर्याप्तता, दक्ष जनशक्तिको अभाव, धार्मिक रुढी तथा अन्धविश्वास आदिका कारण आजसम्म पनि दुर्गम ठाउँका महिलाको अवस्था अत्यन्त कष्टकर हुनुका साथै कैयौँले अकालमा ज्यान गुमाइरहेका छन”, महिला अधिकारकर्मी सावित्रा आचार्य भन्छन्, “आजभोलि उठ्ने गरेका महिला अधिकार, महिला आरक्षण, महिला विकास, महिला सशक्तीकरण आदिजस्ता मुद्दा व्यवहारमा लागू गर्न सर्वप्रथम यस्ता प्रथामा सुधार र बन्देज लगाई यस्ता प्रथाबाट पीडित महिलाको जीवनस्तर र चेतनास्तर उठाउने काम पहिलो प्राथमिकतामा राखिनुपर्दछ ।”

यस्ता कुप्रथामा सुधार ल्याउन शिक्षा तथा जनचेतना सबैभन्दा उपयुक्त उपाय रहेको उनको भनार्इ छ । “पुरानो मान्यताअनुसार तीन दिनसम्म त नुहाउन, कपाल कोर्न र सिन्दूर टीकासमेत लगाउन मिल्दैन, धार्मिक कार्य, सामाजिक कार्य गर्न सरिक हुन मिल्दैन, मन्दिर र सो वरपरको बाटोसमेत जान नहुने मानिसलाई छुन नहुने मान्यता समाजमा चलेको छ हामीले त्यो मान्यतालाई तोडे देउता रिसाउँछन्”, गौरीगङ्गा–९ कि सम्झना केसी भन्छन्।

शिक्षा र जनचेतनाको अभाव तथा ग्रामीण समाजमा देखिएको पुरातन मूल्य—मान्यता एवम् अनेकौँ रुढी तथा अन्धविश्वासका कारण यो प्रथामा महिलाहरु रुमलिएका छन् । परम्पराका नाममा अझै पनि अनेकौँ अवैज्ञानिक विधि—व्यवहारमा बाँधिएर महिलाहरु अनगिन्ती दुःखकष्ट झेलिरहेका छन् । पुरातन सामाजिक संरचना तथा त्यसभित्रको विभेदकारी संस्कृतिका कारण विशेषगरी महिला तथा बालिकाहरू पीडित छन् भने यस्ता पुरातन मूल्य—मान्यता महिलाको जीवनरक्षामा बाधक बनिरहेका छन् ।

“यसको अन्त्यका लागि कानून मात्र पर्याप्त होइन्”, गौरीगङ्गा नगरपालिकाका उपप्रमुख अन्चला चौधरी भन्छन्, “यसको निराकरणका लागि विद्यालय शिक्षा सर्वसुलभ हुनुपर्छ । विद्यालय तथा स्वास्थ्य संस्था उपलब्ध भए पनि जनमानसमा त्यसबाट सेवा लिनुपर्छ भन्ने चेतना भएन भने सरकारी प्रयास निरर्थक बन्छ ।”

उनी भन्छन्, “शिक्षाले मात्र पनि परम्परागत मान्यता भत्काउन नसक्ने हुनाले सर्वसाधारणमा चेतनाको प्रसार आवश्यक हुन्छ । यसका लागि राज्यले प्राथमिकता निर्धारण गरी प्रशिक्षित कार्यकर्ता खटाएर पिछडा क्षेत्रमा जनचेतना प्रसार गर्नु आवश्यक छ ।”देउता रिसाउने भयका कारण समाजमा परम्परादेखि प्रचलित कुप्रथा तोड्ने आँट गर्न महिलाले सकिरहेका छैनन् । धर्मको मर्म नबुझी आफूलाई धार्मिक अगुवा ठान्नेहरूले स्थापना गरेको विभेदकारी परम्पराको मार आजसम्म पनि महिलाहरूले खेपिरहेका छन् ।

यस्ता समस्याबाट उन्मुक्तिका लागि हरेक धर्म परम्परा तथा संस्कृतिमा रहेका विकृति र संकीर्णता हटाउने अभियान सञ्चालन गर्नुपर्छ । धर्मको समयसापेक्ष परिभाषा तथा प्रचारका लागि आधुनिक तथा सुधारवादी धर्मगुरुहरू अग्रसर हुनुपर्छ । रजस्वला तथा सुत्केरी महिला घरमा बसे तथा उनीहरूले दूध, दही खाएमा देउता रिसाउने होइन ।

यदाकदा कसैकोमा कुनै अप्रिय घटना भएमा त्यो समाज मनोविज्ञान तथा संयोगमात्र हो । त्यसैले सबैले आफ्नो दायित्व निर्वाह गर्ने हो भने सुदूरका छाउगोठ स्वतः भत्कनेछन् । अन्यथा तिनले निरन्तरता पाइनै रहनेछन् ।