१२ आश्विन २०८१, शनिबार
,
Latest
सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह डुबानमा फसेका व्यक्तिहरुको उद्धार-फोटो फिचर कुलेखानी जलाशयमा पानीको सतह घट्न थाल्यो केन्द्रिय सुरक्षा समितको बैठक सिंहदरबारमा जारी सप्तकोशीमा खतराको संकेतः रातो झण्डा गाडियो, खोलिए सबै ढोका नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ, शतर्कता अपनाउनु होस्ः कार्यवाहक प्रधानमन्त्री सिंह मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा पहिराका कारण तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध मेची राजमार्गको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध प्रधानमन्त्रीको उपस्थितिमा मातृ–शिशु स्वास्थ्यमा सहकार्यसम्बन्धी सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि र पशुपालनबाट स्वदेशमै मनग्य कमाइ



अ+ अ-

–धु्रवसागर शर्मा
गलेश्वर । पाँच वर्ष साउदीको चर्को घाममा पसिना बगाउँदा पनि गाउँ फर्किदा रित्तो हात भएपछि म्याग्दीको बेनी नगरपालिका–४ वास्कुनाका तिलक गुरुङको विदेशप्रति मोह भङ्ग भयो । रु दुई लाख ऋण खोजेर १५ वर्ष अघि साउदी गएका गुरुङ पाँच वर्षसम्म काम गर्दा पनि ऋणसमेत तिर्न नसक्ने अवस्था आएपछि उल्टो ऋणको बारी बोकेर गाउँमा फर्किए ।

कमाउन गएको व्यक्ति रित्तो हात गाउँमा फर्केपछि धेरैले उनको कुरा काट्न थाले । सरसापट र ऋणसमेत गाउँमा पाउन नसक्ने अवस्था भयो । कसैले पत्याउन छोडे तर गुरुङले हिम्मत हारेनन् । आफ्नै घरजग्गा धितो राखेर सदरमुकाम बेनीको एउटा वित्तिय संस्थाबाट रु ७० हजार ऋण लिए । भैँसी किनेर दूध बेच्न थाले । १० वर्ष अघि एउटा भैँसीपालेर दूध बेच्न थालेका गुरुङ अहिले कृषि र पशुपालनबाट मालामाल बनेका छन् ।

सबै खर्च कटाएर उनको मासिक कमाइ रु दुई लाख ५० हजारभन्दा बढी छ । विसं २०६७ मा केञ्जल बहुउद्देश्यीय कृषि फार्म दर्ता गरेर व्यावसायिकरुपमा पशुपालन, कुखुरापालन र सुन्तलाखेती गरेका गुरुङ पछिल्लो दश वर्षमा जिल्लाकै अगुवा र कृषिबाट बढी आम्दानी गर्ने कृषकका रुपमा पहिचान कमाउन सफल भए ।

गुरुङको गोठमा अहिले नौवटा दुहुना भैँसी र चार वटा गाई छन् । उनले दैनिक ६० लिटर दूध बिक्री गर्दै आएको बताए। “दैनिक ६० लिटर दूध बिक्री गरेर मासिक रु एक लाख ४४ हजार कमाइ हुन्छु”, गुरुङले भने । बेनीमा प्रतिलिटिर रु ८० मा दूध बिक्री हुन्छ । त्यसैगरी गुरुङले भैँसीको अलवा आधुनिक तरिकाले कुखुरापालनसमेत गरेका छन् ।

अहिले कुखुराको फार्ममा ३० हजार कुखुरा छन् । गुरुङले भने “कुखुराबाट मासिक रु तीन लाखभन्दा बढी कमाइ हुन्छ ।”, कुखुराको दानालगायत अन्य पारिश्रमिक खर्च कटाउँदा मासिक रु एक लाखभन्दा बढी वचत हुने उनले जानकारी दिए । त्यसैगरी गुरुङले घरवरिपरिको जग्गामा झपक्कै सुन्ताला लगाएका छन् ।

गुरुङको बारिमा रहेका ५०० बढी सुन्तालाका बोटमध्ये ४०० ले फल दिन्छन भने १०० बिरुवा दुई वर्ष अघि लगाएका हुन् । सुन्तला बेचेर सिजनमा रु सात लाख कमाउने गरेका गुरुङले बताए ।गुरुङका अनुसार वार्षिक रु ४५ लाख कमाइ हुने गरे पनि खर्च कटाउँदा रु ३० लाख बचत हुने गरेको छ । उनले कृषिबाट आम्दानी मात्र गरेका छैनन्, छोराछोरीलाई इञ्जिनीयरिङसमेत पढाएका छन् ।

“एउटा छोरालाई बायो मेडिकल इञ्जिनीयरिङ पढाएको छु”, उनले भन्नुभयोे, “एउटा छोरीलाई अष्ट्रेलिया पठाएँ, बाँकीले काठमाडौँमा उच्च शिक्षा अध्ययन गरिरहेका छन् ।” मैले अब छोराछोरीको विवाह गरिदिए भने बाबाआमाको कर्तव्यबाट मुक्त हुन्छु । “रु ७० हजारको लगानीबाट मैले आज यति कमाउन सक्ने भएको छु, यसमा परिवारको ठूलो सहयोग रहेको छ”, गुरुङले भने ।

अर्काको देशमा बसेर दुःख गर्नुभन्दा आफ्नै देशमा केही गर्छु भनेर आएँ, सन्तुष्ट छु उनले भने । कृषि पेशाबाट आफू उत्साहित रहेको बताउने गुरुङले आगामी दिनमा अझै फार्मलाई व्यवस्थित गर्दै लैजाने योजना रहेको बताए । स्थानीय दूध र दहीको बजार माग धेरै भए पनि आफूले भने जति उत्पादन गर्न नसकेको उनको भनाई छ ।

नेपालका अधिकांश मानिसको जीविकोपार्जनको लागि मुख्य पेशा कृषि र पशुपालन रहँदै आएको छ तरपनि आम्दानी गर्न नसकेको बेलामा गुरुङले मासिक रु दुईलाख ५० हजारभन्दा बढी कमाइ गरिरहेका छन् । स्वास्थ्यको हिसाबले पनि स्थानीय रैथाने गाई भैँसीको दूध राम्रो मानिन्छ ।

अहिले गुरुङ म्याग्दीका कृषकको बीचमा उदाहरणीय बनेका छन् । भैँसी, कुखुरा र सुन्ताला खेतीबाट गुरुङको जीवनले नयाँ पहिचान पाएको छ । उनी उद्यमी कृषकका रुपमा जिल्लामा चिनिन्छन् ।