१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

ग्रीनल्याण्डमा हिउँ पग्लिनेक्रम तिब्र, समुद्र सतह ३ वा ४ फिट उकासिने खतरा

ग्रीनल्याण्डमा हिउँ पग्लिनेक्रम तिब्र, समुद्र सतह ३ वा ४ फिट उकासिने खतरा
अ अ+ अ-

सेथ बोरेन्स्टाइन । अमेरिकी अन्तरिक्ष विज्ञान संस्था (नासा) को सानो हवाई जहाजबाट करिब ५०० फिटमुनि ठुल्ठूला हिउँका ढिक्का लहराइरहेको दृश्य देख्न सकिन्छ । नीलो–हरियो समुद्रमा सेता हिउँका यी ढिक्का साना थोप्लाजस्ता देखिन्छन्, तर यी ढिक्का युद्धपोतकै आकारका वा केही त १५ तल्ले भवनजत्रा अग्ला छन् ।

ग्रीनल्याण्डका अन्य ग्लेसियर (हिउँनदी) झैं ठूलो कान्गरलुस्सुक क्षेत्र तिब्र गतिमा पग्लिरहेको छ । यथार्थमा, यो विशाल हिउँको पहाड यस वर्ष अहिलेसम्मकै सबैभन्दा बढी पग्लेको हो । नासाका वैज्ञानिक जोस विलिसले हिउँ पग्लाईको घटनाक्रमलाई यसवर्ष नजिकबाट नियालिहेका छन् । उनको ध्यान मुख्यतः विश्व तापमान वृद्धिले ग्रीनल्याण्डको हिउँ कसरी समाप्त हुँदैछ भन्ने रहस्य थाहा पाउनु हो ।

खासगरी, हिउँ पग्लनुमा तातो हावा वा तातो सामुद्रिक जलप्रवाहमध्ये कसको भूमिका कति छ भनी थाहा पाउने उहाँको लक्ष्य छ । यसको जवाफले पृथ्वीको भविष्य थाहा पाउन निकै ठूलो मद्दत गर्नेछ । सामान्यतया, पानीको प्रवाहले हावाको भन्दा बढी तिब्रताका साथ तातोपन ल्याउँछ । यदि पानीले बढी नोक्सानी गरेको कुरा प्रमाणित भएमा “सोचेभन्दा बढी छिटो गतिमा ग्रीनल्याण्डको हिउँ पग्लिने छ”, विलिस भन्छन् ।

यसको अर्थ समुद्रको सतह छिटोछिटो माथि उकासिन्छ र तटीय क्षेत्रमा बसोबास गर्नेहरु डुबानमा पर्ने सम्भावना बढी हुन्छ । ग्रीनल्याण्डको हिउँ सबै पग्लिए विश्वको समुद्रको सतह झण्डै २० फिट माथि उठ्छ । एक अनुमान अनुसार, यस महिनाको एकै दिन झण्डै १३ अर्ब ७० करोड टन हिउँ पग्लिएको छ ।

“यो निकै भयानक हो,” हिउँभन्दा बढी पानीले ढाकेको क्षेत्रतर्फ देखाउँदै विलिसले भने । “हाम्रासामु हिउँका पत्रहरु हराउँदै गएको यसैबाट पुष्टी हुन्छ ।” जलवायु परिवर्तनले ग्रीनल्याण्डको हिमशृङ्खलालाई दुई किसिमबाट निल्दैछ । भन्नु पर्दैन, सबैभन्दा मुख्य कुरा ग्रीनल्याण्डमाथि बहिरहेको तातो हावा नै हो । यसवर्षको गृष्मकालको तातो हावा निकै कठोर थियो । जुलाईमा युरोपमा चलेको तातो हावाले ग्रीनल्याण्डको आकाशमाथि “हेयर ड्रायर” को रुपमा काम गरेको थियो ।

अर्को भनेको समुद्रको तातो, नुनिलो पानी हो । यो न्यानो उत्तर अमेरिकी गल्फ स्ट्रिम (सामुद्रिक जलप्रवाह) ले ग्रीनल्याण्डको तटीय क्षेत्रलाई न्यानो बनाउँछ, र हिउँशृङ्खलालाई मुनिबाट कुटुकुटु काटिरहन्छ । जर्जिया विश्वविद्यालयका हिउँ वैज्ञानिक टम मोटले सन् १९९० को दशकको शुरुमा ग्रीनल्याण्डको ग्लेसियरका बारेमा अध्ययन गर्दा धेरैजसो अनुसन्धाताहरुले सामुद्रिक जलप्रवाहले ग्लेसियरलाई त्यति असर गर्ला भन्ने सोचेका थिएनन् । टम मोट अहिलेको अनुसन्धान टोलीमा भने संलग्न छैनन् ।

समुद्रले ग्रीनल्याण्ड पगाल्दैछ (ओएमजी) नाम दिइएको विलिसको यो परियोजनाले वास्तवमै जल पनि ग्रीनल्याण्ड पगाल्न उत्तिकै जिम्मेवार रहेको देखाएको छ । प्रश्न उब्जिएको छ, कति धेरै र कति चाँडो ? विलिसको टिमले समुद्रको सतहभन्दा करिब ६६० फिटमुनिको तापक्रम नाप्दैछ । प्रारम्भिक विवरणमा यो जलक्षेत्र निकै न्यानो र नुनिलो भेटिएको छ । यही भित्री जलप्रवाहले ठूलै क्षति गरिरहेको छ ।

जलक्षेत्रको भित्री भाग मापन गर्न नासाले पाँच वर्षदेखि खर्च गरिरहेको छ । यस परियोजनामा दोस्रो विश्वयुद्धका लागि बनाइएको ७७ वर्ष पुरानो डिसी–३ विमान प्रयोग गरिएको छ । विलिस, परियोजना व्यवस्थापक इयान म्याकुबिन र मेकानिक रिच गिलले विमानबाट लामालामा, सिलिन्डरजस्ता अन्वेषण उपकरणहरु जलक्षेत्रमा खसाल्छन् । यी उपकरण अति चिसो पानी छिचोल्दै भित्री भागमा पुग्छन् र विमानमा जडित सेन्सरबाट भित्री भागको अध्ययन गरिन्छ ।

क्याककुबिनले समुद्रको भित्री जलक्षेत्रको तापक्रम र नुनिलोपना आफ्नो कम्प्युटरमा रेकर्ड गर्दछन् । एउटा सिलिन्डर उपकरणका लागि करिब दुई हजार अमेरिकी डलर लाग्दछ । ग्रीनल्याण्डको पूर्वी भेगको कान्गरलुस्सुकको अध्ययन गर्दा गत वर्ष वा दुई वर्षदेखि समुद्रको भित्री जलप्रवाहमा खासै परिवर्तन आएको देखिएन । यो वास्तवमै राम्रो समाचार हुन सक्छ । तर यो एउटा मात्र अध्ययन विन्दु हो ।

विगत चार वर्षदेखि हरेक वर्ष नासाले ग्रीनल्याण्डका सबैजसो ठाउँको अध्ययन गरिरहेको छ । तर प्राप्त विवरणहरु त्यति उत्साहजनक देखिएका छैनन् । यदि सामुद्रिक जलप्रवाहले बढी भूमिका खेलेको वैज्ञानिकहरुले निष्कर्ष निकाले भने समुद्र सतह अपेक्षा गरिएभन्दा बढी छिटो उचालिने पक्का छ । किनभने जलवायु परिवर्तनबाट उत्पन्न हुने तापीय ऊर्जाको ९० प्रतिशत समुद्रमै विलिन हुन्छ, विलिसले भने ।

न्यानो पानीले हावाको भन्दा बढी प्रभाव पर्दछ, र पग्लदै गरेको हिउँलाई यस्तो पानीले छोएमा तत्कालै असर देखिन थाल्छ । सामान्यतया, समुद्रको पानी हावाको तुलनामा निकै ढिलो तातिन्छ, तर तातिएको पानी सेलाउन पनि बढी समय लाग्छ । पानीले ग्लेसियरलाई कमजोर बनाउँछ र हिउँका ढिक्काहरुलाई फुट्न मद्दत गर्दछ । यी हिउँका ढिक्काहरु अन्ततः पग्लिएर समुद्रमा मिसिन्छन् ।

“कतिपय हिउँका ढिक्काहरु त कुनै शहरजत्रा पनि छन्,” विलिसले भने । सन् २०१९ मा डेनिस जलवायु वैज्ञानिक रुथ मोटरामले ग्रीनल्याण्डका २८ वटा ग्लेसियरको अध्ययन गरेका थिए । उहाँको अध्ययनमा यी सबैजसो ग्लेसियर पग्लिरहेको देखिएको थियो । एक वा दुई वटा मात्र स्थिर देखिएका थिए ।

“एउटा मात्र ग्लेसियरमा समस्या देखिएको होइन, सबै २८ वटैमा समस्या देखिँदा सबैलाई चिन्तित बनाउनु स्वाभाविकै हो,” मोटरामले एपीलाई बताए । सन् २०१७ मा गरिएको तटीय ग्लेसियर र हिउँको अवस्थिति सम्बन्धी अध्ययनले पनि सन् १९९७ मा निकै हिउँ पग्लिएको देखाएको छ । त्यसयता निकै तिब्र गतिमा हिउँ पग्लिनेक्रम जारी रहेको छ, र विलिसको अध्ययनले पनि त्यस्तै संकेत गरेको छ ।

नासाको भूउपग्रह तस्वीरले पनि सन् २००३ देखि २०१६ को अवधिमा बर्सेनि करिब २५५ अर्ब मेट्रिक टन हिउँ पग्लिएको देखाएको छ, र हिउँ पग्लने दर निकै भयानक छ । तैपनि ग्रीनल्याण्डको सम्पूर्ण हिउँ पग्लन सयौं वर्ष लाग्नेछ, तर कति चाँडो पग्लेला भन्ने मुख्य प्रश्न हो । वैज्ञानिकहरुले अनुमान गरेभन्दा न्यानो पानीले बढी भूमिका निर्वाह गरे सन् २१०० को अन्त्यसम्ममा ग्रीनल्याण्डको हिउँले मात्र पनि समुद्रको सतह ३ वा ४ फिट माथि उकासिने छ, विलिसले भने ।

अरु वैज्ञानिकहरु, जस्तै कोलोराडो विश्वविद्यालयका टेड स्काम्बोसको भनाईमा ग्रीनल्याण्डका कारण सन् २१०० सम्ममा समुद्रको सतह १ फिटजति मात्र बढ्नेछ । तैपनि यसले निकै बढी क्षेत्रलाई नोक्सान गर्नेछ । (अनुवादः सोमनाथ लामिछाने)