२३ असार २०८३, मंगलवार
,
Latest
अर्थ मन्त्रालयले मलका लागि बजेटको अभाव नहुने आश्वासन दिएको छः कृषिमन्त्री चौधरी बजारमा देखिएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार सक्रिय छः उद्योगमन्त्री दृष्टिविहीन समुदायको आन्दोलन वार्तापछि स्थगित, माग सम्बोधनका लागि अन्तरमन्त्रालय समन्वय गर्ने सहमति मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण कर्णालीका सबै पालिका र जिल्ला सदरमुकाम जोड्ने सडक तीन वर्षभित्र ‘डबल लेन’ बनाइने युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी राष्ट्रिय सभा शुन्य समयः जनसुरक्षा, सुशासन र विकासका मुद्दामा सरकारको ध्यानाकर्षण हेटौँडा कपडा उद्योग केही महिनाभित्रै सञ्चालनमा आउँछः मन्त्री कुमारी बेरुजु उपसमिति गठनमा सहमति नजुट्दा लेखा समितिको बैठक स्थगित दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेनः मौसमविद्
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालकृष्णलाई विष खुवाउने आफ्नै कर्मचारी



अ+ अ-

काठमाडौं ।आचार्य बालकृष्णलाई उहाँनिकटकै पूर्वकर्मचारीले पेडामा विष मिसाए खुवाएको तथ्य फेला परेको छ। केही वर्षसम्म पतञ्जली योगपीठको मुख्यालयमा कार्यरत अग्रवाल थरका पूर्वकर्मचारीले कृष्ण जन्माटमीको दिन पेडामा विष खुवाएर हत्या प्रयास गरेको खुलेको हो।

कृष्ण जन्माष्टमीको दिन गुरुको हैसियतले एक पाकेट पेडा लिएर हरिद्वारस्थित निवासमा आएका ती कर्मचारीले धेरै पेडामध्ये आफ्नै हातले विष मिसाएको पेडा खान दिएको खुलेको छ। आचार्य बालकृष्णलाई हरिद्वारमा भेट गरी नेपाल फर्किनुभएका पतञ्जली योगपीठ नेपालका ट्रस्टी ई। शालिकराम सिंहले पेडामा विष खुवाउने पूर्वकर्मचारीलाई कारबाही गर्र्र्ने प्रक्रिया अघि बढिरहेको बताउनुभयो।

पेडामा विष मिसाएर खुवाएको करिब ५ मिनेटपछि छटपटिनुभएका आचार्य बालकृष्णलाई बाबा रामदेव र कर्मचारीले नजिकैको भूमानन्द अस्पतालमा भर्ना गरेका थिए। उक्त अस्पतालमा उपचार सम्भव नभएपछि ऋषिकेशस्थित एम्स अस्पतालमा भर्ना गरिएको थियो। करिब दुई दिनसम्म उपचार गरी निवास फर्किनुभएका आचार्य बालकृष्णको स्वास्थ्य अवस्था सामान्य रहेको सिंहले जानकारी दिनुभयो।

भर्ना भएपछि भारतभर आचार्यको स्वास्थ्यलाभको कामना गर्दै उच्च तहका राजनीतिक नेता उहाँको निवास आउने गरेका छन्। मन्त्रीदेखि उच्च राजनीतिक तहका नेता उहाँलाई भेट गर्न हरिद्वार पुगेका थिए।

सिंहका अनुसार अहिले उहाँलाई भेट गर्न आउने अधिकांशलाई आफैले भेट गरी आफ्नो स्वाथ्य अवस्थाबारे जानकारी दिने गर्नुभएको छ। अहिले उहाँको रेखदेख बाबा रामदेव र केही विशेष कर्मचारीले गरिरहनुभएको छ।

उहाँलाई भेट गर्न पूर्वमन्त्री उमा भारतीलगायतका भारतीय जनता पार्टीका उच्च तहका नेता, मुस्लिम र हिन्दू धर्मगुरुहरू हरिद्वार आउनुभएको थियो। बालकृष्णको पछिल्लो अवस्थाबारे भारत सरकार चिन्तित देखिएको छ। उहाँको निवासमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

भेट गर्न आउने कसैले पनि ल्याएको खानेकुरा नखान सल्लाह दिएपछि उहाँले कसैले पनि दिएको खानेकुरा नखाने गर्नुभएको छ। अहिले त भान्छामा आफू निकटका अति विश्वासिलो कर्मचारीबाहेक अन्यलाई प्रवेश गर्नसमेत कडाइ गरिएको छ।

भेट गर्न निवास पुग्ने गरेका अधिकांशलाई भेटघाट कक्षबाहेक अन्य स्थानमा प्रवेशमा रोक लगाइएको छ। उता हिन्दू रक्षा बाहिनीले हरिद्वारमा पत्रकार सम्मेलन गरी पेडामा विष मिसाएर खान दिने व्यक्तिलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्न माग गरेको छ। बाहिनीले मंगलबार गरेको पत्रकार सम्मेलनमा उहाँको हत्या प्रयास गर्नेमाथि कडा कारबाही गर्न माग गरेको छ।

पतञ्जलीका महासचिवसमेत रहेका आचार्य बालकृष्णको हत्या प्रयासको विषयमा बाहिनीले भारतको विभिन्न स्थानमा कार्यक्रम आयोजना गरिरहेको ट्रस्टी सिंहले जानकारी दिनुभयो।

करिब चार दिनसम्म हरिद्वार बसेर फर्कनुभएका ट्रस्टी सिंहले आचार्य बालकृष्णलाई भारतमा खतरा रहेको आशंका गर्नुभएको छ।
नेपाली मूलका आचार्य बालकृष्ण वर्षौंदेखि बाबा रामदेवको मुख्य सहयोगीका रूपमा काम गर्दै आउनुभएको छ।

अहिले आचार्य बस्ने कार्यालय र निवासदेखि सबै स्थानको सुरक्षा व्यवस्था कडा गरिएको छ। विश्वविख्यात फोब्र्सको रिपोर्टअनुसार विश्वका ३ सय ६५औं धनी व्यक्तिको नामले कहलिएको पतञ्जली योगपीठअन्तर्गत विश्वभरका शिविरमा दैनिक लाखौंले योग सिक्ने गरेका छन्।

भदौ १८ मा नेपाल आउँदै

हत्या प्रयासबाट जोगिनुभएका आचार्य बालकृष्ण यही सेप्टेम्बर ४ तारिख अर्थात् भदौ १८ गते नेपाल आउनुहुने भएको छ। भारत अलावा नेपालमा समेत स्वास्थ्य अवस्थाको बारेमा गम्भीर चिन्ता हुन थालेपछि उहाँनेपाल आउन लाग्नुभएको हो।

उहाँको साथमा केही सहयोगीसमेत नेपाल आउन लागेका हुन्।‘नेपाल आएपछि उहाँले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिनुहुनेछ।’ –ट्रस्टी शालिकराम सिंहले नेपाल समाचारपत्रसँग भन्नुभयो।

उहाँका अनुसार नेपालमा आयोजना गरिने केही कार्यक्रममा सहभागी हुने र योगपीठका प्रभारी, योगगुरुलाई आफ्नो धारणा सार्वजनिक गर्न नेपाल आउन लाग्नुभएको हो। हिजो बुधबारबाट नियमितरूपमा कार्यालय हाजिर हुन थाल्नुभएका आचार्यले ५ तारिखमा काठमाडौंमा हुने एक कार्यक्रममा अतिथिका रूपमा प्रवचन दिने कार्यक्रम रहेको छ।

मण्डिखाटारस्थित आश्रममा बस्ने तयारी गर्नुभएका आचार्यले बाराको एक मन्दिरको समेत उद्घाटन गर्ने कार्यक्रम तय भएका सिंहले बताउनुभयो।
‘विशेष गरी आचार्य बालकृष्णका बारेमा चिन्ता गर्ने सबै नेपालीलाई आफू स्वस्थ छु भनेर जानकारी गराउने उहाँको मुख्य उद्देश्य हो।’ –नेपाल आउने उद्देश्यबारे जानकारी गराउँदै सिंहले भन्नुभयो।

विशेष गरी बाबा रामदेव र आचार्य बालकृष्णले नेपाललाई तपोभूमिका रूपमा परिचय दिन पछिल्लो समय विभिन्न कार्यक्रम आयोजना गर्दै आइरहेका छन्।, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।