६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव

‘नेपाल भ्रमण वर्ष’ को अनावश्यक प्रचारप्रसार नगनुहोस् : मन्त्री भट्टराई

‘नेपाल भ्रमण वर्ष’ को अनावश्यक प्रचारप्रसार नगनुहोस् : मन्त्री भट्टराई
अ+ अ-

पोखरा । सरकारले ‘नेपाल भ्रमण वर्ष’ मनाउँदै सन् २०२० मा २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको छ। तर, आवश्यक पूर्वाधार र प्याकेज नहुँदा सरकारी लक्ष्यअनुसार पर्यटक नआउने व्यवसायीले गुनासो गरिरहँदा पर्यटनमन्त्री योगेश भट्टराईले भने अनावश्यक प्रचारप्रसार नगर्न व्यवसायीलाई सुझाएका छन्।

महँगो रकम खर्चने पर्यटक अभावमा सस्तो पाहुनाको भरमा घाटाको व्यापार धान्नु परेको व्यवसायीको गुनासो छ। पर्यटन मन्त्रालय सम्हालेपछि पहिलोपटक पोखरा आएका मन्त्री भट्टराईसमक्ष व्यवसायीले बजारीकरण र प्याकेज ल्याउन र पूर्वाधार बनाउने हो भने मात्र सरकारी लक्ष्य पुरा हुने बताए।

अग्रज पर्यटन व्यवसायी गणेश भट्टराईले भारतीय र चिनियाँबाट मात्र नाफाको व्यापार गर्न नसक्ने बताए। उनले युरोपियन मूलका पर्यटक पछिल्लो समय घट्दै गएकोमा चिन्ता जनाए। ‘युरोपियन मुलुकसम्म नेपाल वायुसेवाको सिधा उडान हुन सकेन। अनि युरोपियन मुलका पाहुना आउनै पाएनन्,’ उनले भने, ‘युरोपियन मुलुकमा बजारीकरण गरिएको छैन। चिनियाँ र भारतीय पाहुनाको भरमा मात्र व्यापार चलाउन कठिन छ।’

उनले नेपालमा पर्यटक भित्र्याउनका लागि सडक सञ्जाल बिस्तार जरुरी रहेको बताए। ‘लुम्बिनी–पोखरा, पोखरा–काठमाडौं सडकको अवस्था कमजोर छ,’ उनले भने, ‘त्यसबाहेक पदयात्रा क्षेत्र डामाडोल बनिसकेको छ।’ नेपाल आउने पर्यटकको जोखिम बहन गर्ने बिमासमेत नहुँदा आगमनमै असर परेको उनले बताए। अर्का व्यवसायी सूर्य भुजेलले हवाई सञ्जाल बिस्तार नहुँदा पर्यटक आगमन कमजोर रहेको बताए। ‘बजारीकरणमा पटक्कै रकम खर्च भएन। बजारीकरण नै नगरी पर्यटक आउनै सक्दैनन्,’ भुजेलले भने।

पश्चिमाञ्चल होटल संघका पूर्वअध्यक्ष भरतराज पराजुलीले एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा सुधार हुन नसकेको बताए। ‘विशिष्ट पाहुना सबै भिआईपी कक्षबाट आउजाउ गर्छन्। सर्वसाधारण आउजाउ गर्ने कक्षको अवस्था के छ भनेर कहिल्यै हेरिएन,’ पराजुलीले भने, ‘बुटिक एयरपोर्ट बनाउने भनिए पनि अहिलेसम्म विमानस्थलमा सुधार हुन सकेको छैन। यसले अन्तर्राष्ट्रिय पर्यटन बजारमा नकारात्मक सन्देश गएको छ।’

त्यस्तै, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष हरि भुजेलले पदयात्रा क्षेत्र खुम्चिँदै गएको बताए। उनका अनुसार नेपाल आउने विदेशीमध्ये करिब ७० प्रतिशत पाहुना पदयात्राका लागि आएका हुन्छन्। तर, अहिले साहसिक मानिएका पदयात्रा ध्वस्त हुँदा त्यसलाई रोक्ने प्रयास नभएको बताए।

पोखरा पर्यटन परिषद् (पिटिसी)का उपाध्यक्ष गोपी भट्टराईले अहिले हवाई र सडक सञ्जालको अवस्था दयनीय हुँदा पर्यटक भित्र्याउन नसकेको बताए। देशको समृद्धिको आधार पर्यटनलाई मानिए पनि छिटो डलर कमाइ हुने माध्यम पर्यटन नै समस्यामा रहेको उनले बताए। ‘पर्यटकको पहुँच बढाउन सकियो भने पाहुना आउँछन्। तर, अहिलेकै अवस्थामा पाहुना भित्र्याउन सहज छैन,’ उनले भने। भेटघाटको अवसर पारेर पोखरा पर्यटन व्यवसायीको संस्थाको छाता संस्था पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले मन्त्री भट्टराईसमक्ष पर्यटनसम्बन्ध १२ बुँदे सुझाव दिएका थिए।

व्यवसायीको गुनासो सुनेका मन्त्री भट्टराईले अबको १५ दिनभित्र नेपाल भ्रमण वर्षका प्याकेज घोषणा गर्ने बताए। ‘कस्तो प्याकेज ल्याउने वा पर्यटकलाई के कस्तो इन्सेन्टिभ दिने भन्ने बारेमा गृहकार्य गरिरहेका छौ,’ उनले भने, ‘पर्यटक जाने ठाउँको शुल्क घटाएर होस् वा आन्तरिक उडानको हवाई भाडा समायोजन गर्नेबारे गृहकार्य भइरहेको छ।’ सरकारले दिनुपर्ने सुविधा दिएर निजी हवाई कम्पनीसँग सहकार्य गर्ने उनले बताए।

नेपाल भ्रमण वर्ष २०२० बारे निराश हुनुनपर्ने मन्त्री भट्टराईले बताए। व्यवसायी आफैंले आफ्नो दालभात बन्द हुनेगरी पर्यटक आउँदैनन् भनेर प्रचार गर्ने गरेको उनले बताए। ‘व्यवसायी आफैंले आफैंलाई कमजोर ठानेका छन्। आफैंले आफैंलाई कमजोर नठानौं,’ उनले भने, ‘अहिले पनि वर्षमा १२–१५ लाख पाहुना आएका छन्। अब पाँच लाख बढाउने भनेका त हौं।’ केही व्यवसायीले अन्तर्वार्ता दिँदै २० लाख पर्यटक असम्भव भन्दै दिने गरेको अभिव्यक्तिप्रति मन्त्री भट्टराईले असन्तोष जनाए।

पर्यटक आगमन बढाउने गरी सुधारको काम भइरहेको उनले बताए। ‘बाटो भत्केको र धुलैधुलो भएको फोटो सामाजिक सञ्जालमा हालेर अन्तर्राष्ट्रियकरण नगरौं,’ उनले भने, ‘हाम्रो देशको दुर्दशाको व्याख्या नगरौं।’ नेपालमा भिसा शुल्क महँगो भएर पर्यटक नआएको भन्न नमिल्ने उनले बताए।

यस्तै, मन्त्री भट्टराईले आर्थिकरूपमा कमजोर हुँदै गएको नेपाल वायुसेवाको अवस्था अध्ययन गर्न बनेको समितिले दिने प्रतिवेदनअनुसार अघि बढ्ने जानकारी दिए। नेपाल एयरलाइन्स अब कम्पनीमा जाने उनले बताए। उनका अनुसार त्यो कम्पनीमा सरकारको लगानी हुनेछ, अरू वित्तीय संस्थाले पनि लगानी गर्नेछन्। त्यसमा व्यवसायीले पनि लगानी गरेर कम्पनि मोडलमा चल्नेछ।

मन्त्री भट्टराईले पोखरालाई बचाउन र जोगाउन आग्रह गरे। ‘मेरो सुझाव पोखरा बचाउनुस र जोगाउनुस् भन्ने रहेको छ,’ उनले भने, ‘तपाईहरूका लागि पोखरा सम्पत्ति हो।’ विश्वसँग सौन्दर्य, संस्कृति, प्रकृतिमा प्रतिस्पर्धा गर्ने ठाउँ पोखराई बचाउनुपर्ने उनले बताए।

व्यवसायीसँग छलफलमा जुट्नुअघि मन्त्री भट्टराईले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण पनि गरेका थिए।, समाचार नागरिक दैनिकमा प्रकाशित छ ।