मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राईले बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउने सडक तत्काल मर्मत गर्न र विस्थापित नागरिकको सुरक्षित पुनर्स्थापनाका लागि ठोस योजना ल्याउन सरकारसँग माग गर्नुभएको हो ।
बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि त्यहाँको अवस्था अत्यन्तै दर्दनाक रहेको जानकारी गराउँदै उहाँले राहत बोकेका सवारीसाधनसमेत हिलोमा फसिरहेको बताउनुभयो । पूर्वाधार मन्त्रालयअन्तर्गत निर्माण हुन लागेको वैकल्पिक सडकको कामलाई तीव्रता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
सांसद राईले भूकम्पपछि निर्माण गरिएका घरहरू स्थानीय आवश्यकता र भौगोलिक अवस्थाअनुसार नभएको पनि बताउनुभयो । प्रभावित नागरिकलाई एकमुष्ट अनुदान उपलब्ध गराएर उनीहरूलाई आफ्नो आवश्यकता र शैलीअनुसार घर निर्माण गर्न दिनुपर्ने उहाँको सुझाव थियो ।
बैठकमा सांसद राईले राजनीतिक विश्लेषक भरत दाहालको गिरफ्तारीको विषयसमेत उठाउनुभयो । अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्ने व्यक्तिलाई पक्राउ गर्नु उचित नभएको बताउँदै उहाँले सरकारमाथि दोहोरो मापदण्ड अपनाएको आरोप लगाउनुभयो ।
उहाँले देशमा बढ्दो महँगी नियन्त्रण गर्न तथा दैनिक उपभोग्य वस्तुको अभाव हटाउन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।








