काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाले आफ्नो छोराको बलिदान र न्यायको विषयलाई लिएर भइरहेको राजनीतिक टिप्पणीप्रति आपत्ति जनाउनुभएको छ ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद खतिवडाले आफू पदको लोभमा नभई सहिद परिवारको न्याय र देश सुधारका लागि संसद्मा आएको स्पष्ट पार्नुभयो । उहाँले आफूलाई ‘छोराको लाशसँग सांसद पद साटेको’ भन्दै गरिएको टिप्पणीको कडा प्रतिवाद गर्नुभयो ।
खतिवडाले आफ्नो राजनीतिक यात्रा व्यक्तिगत रहर नभई ‘जेन–जी’ आन्दोलनका क्रममा सहादत प्राप्त गरेका युवाहरूको न्यायका लागि भएको बताउनुभयो । उहाँले राजनीतिक दल र सरकारलाई संवेदनशील तथा जिम्मेवार भएर अभिव्यक्ति दिन आग्रह गर्नुभयो ।
आफूले न्याय नपाएसम्म निरन्तर खबरदारी गरिरहने बताउँदै उहाँले न्याय प्राप्त भएको दिन सांसद पदबाट राजीनामा दिन एक सेकेन्ड पनि नहिचकिचाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “मेरो काख रितिएको छ, संसार उजडिएको छ । यदि कसैले मेरो छोरालाई जिउँदो ल्याएर मेरो काखमा राखिदिन्छ भने म अहिले नै सांसद पद त्याग्न तयार छु । म कुनै माफिया बन्न वा जनतालाई उचालेर लडाउन आएकी होइन । म त एउटी सहिदकी आमा हुँ, जो आफ्नो छोरा जस्ता अरू छोराहरू नमरिउन् भनेर खबरदारी गर्न आएकी हुँ ।”
सांसद खतिवडाले आन्दोलनका क्रममा बन्दी बनाइएका आन्दोलनकारीलाई रिहा गर्न, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न तथा सहिद परिवारले चित्त बुझाउने गरी न्याय निरूपण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।








