१३ भाद्र २०८३, शनिबार
,
Latest
माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको…
तपाईं के खोज्दै हुनुहुन्छ ?

भवन बन्यो, कार्यालय खारेज



अ+ अ-

धनकुटा । नयाँ बनेको भवन रङरोगन गरेर चिटिक्क पारिएको छ । वरिपरि तारबारले घेरिएको छ । तर जिम्मा लिने निकाय नभएर अलपत्र छ । धनकुटा ४ देब्रेबासमा रहेको यो भवन दुई करोडभन्दा बढी खर्च गरेर बनाइएको हो ।

महिला विकास कार्यालयका लागि नयाँ भवन निर्माण सुरु गरिएको थियो । मुलुक संघीय संरचनामा गएसँगै कार्यालय खारेज भयो । सरकारी कार्यालयको जिल्ला संरचना रहनेरनरहने टुंगो नगरी निर्माण गरिँदा भवन अलपत्र परेको हो ।

महिला विकास निरीक्षक नीरा चापागार्इंका अनुसार भवन निर्माण दुई वर्षअघि थालिएको थियो । अन्तिम चरणमा पुगेका बेला महिला विकास कार्यालयको जिल्ला संरचना खारेज भयो । ‘कर्मचारी महिनौं बेवारिस भयौं, बल्ल स्थानीय तहमा टुंगो लागेको छ,’ उनले भनिन्, ‘कार्यालयका भौतिक सामग्री विभिन्न विद्यालय र महिला बहुउद्देश्यीय सहकारी पारिपात्लेमा वितरण गरियो ।’

महिला तथा बालबालिका विभागबाट भवन निर्माण गर्न २ करोड ६४ लाख विनियोजन गरिएको थियो । सम्झौताअनुसार गत मंसिरमा निर्माण सम्पन्न गरिए पनि कसलाई जिम्मा लगाउने भन्ने अन्योल रहेको निर्माण व्यवसायी सन्तोष राईले बताए । उनले आफूले १ करोड १० लाख रुपैयाँ पाउन बाँकी रहेको बताए । ‘रकम भुक्तानीका लागि महिला तथा बालबालिका मन्त्रालय र विभागमा कैयौं पटक धाएर थाकें,’ उनले भने, ‘न साउँ छ न ब्याज ।’

केही कार्यालयले नवनिर्मित भवन प्रयोग गर्ने मनसाय राखेका छन् । ‘पाउनुपर्ने रकम भुक्तान नहुन्जेल र जिम्मा लिने निकाय टुंगो नलागुन्जेल भवन कसैले प्रयोग गर्न हुँदैन,’ व्यवसायी राईले भने ।

महिला विकास कार्यालय खारेज भएपछि ६ जिल्लामा बनिसकेका भवन हस्तान्तरण हुन बाँकी छ । सरकारले मुलुकका ३८ जिल्लामा महिला विकास कार्यालयको नयाँ भवन निर्माण गर्न बजेट विनियोजन गरेको थियो । महिला तथा बालबालिका विभागकी निर्देशक शान्ता भट्टराईका अनुसार अधिकांश जिल्लामा अढाई करोड लागतमा भवन निर्माण गरिएका थिए ।

‘धनकुटा, इलाम, चितवन, बर्दिया, रसुवा र गुल्मीमा बनाइएका भवनको रकम ठेकेदारले भुक्तानी पाउन बाँकी छ,’ उनले भनिन् । उनका अनुसार ती जिल्लाका निर्माण व्यवसायीले करिब ७ करोड रकम भुक्तानी पाउन बाँकी छ । ‘ठेकेदारले बारम्बार ताकेता गर्छन्,’ उनले भनिन्, ‘आफूकहाँ बजेट उपलब्ध नभएको जवाफ दिनुपर्दा साह्रै खल्लो लाग्ने गर्छ ।’

महिला विकास कार्यालयले स्थानीय तहलाई सघाउ पुर्‍याउँदै आए पनि कार्यालय विस्थापित गरिएको भट्टराईले गुनासो पोखिन् । विगतमा ५० दरबन्दी रहेको विभागमा हाल १९ जना मात्र कार्यरत छन् । विभागसमेत रहने नरहने भन्ने अन्योल रहेको उनले बताए ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।