१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

नेपाल भ्रमण वर्ष सफल बनाउन व्यस्त पाँचपोखरी

नेपाल भ्रमण वर्ष सफल बनाउन व्यस्त पाँचपोखरी
अ अ+ अ-

मेलम्ची : नेपाल सरकारका १०० गन्तव्यभित्र रहेको सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिक तथा पर्यटकीय महत्व बोकेको पाँचपोखरी आवश्यक प्रचार–प्रसारको कमीले गर्दा ओझेलमा परेको छ ।

सरकारका १०० गन्तव्यभित्र परे पनि पाँचपोखरीमा अझै पनि पर्याप्त पर्यटक भित्रने गरेका छैनन् ।

नेपाल भ्रमण वर्ष २०२० नजिकिँदै गर्दा गाउँ–गाउँमा पर्यटक भित्र्याउन सबै लागिपरेका देख्न सकिन्छ ।

पाँचपोखरी आफँैमा एक सुन्दर गन्तव्य हो । समुद्री सतहबाट चार हजार २०० मिटरको उचाइमा रहेको सो पर्यटकीयस्थल स्वदेशी र विदेशी सबैको रोजाइमा पर्ने स्थान हो । अझै नेपाल भर्मण वर्ष २०२० को नेपालको घुम्नैपर्ने १०० गन्तव्यमध्ये १६औँ स्थानमा पर्न सफल भएपछि स्थानीयवासी पर्यटक भित्र्याउन आफ्नो–आफ्नो क्षमताअनुसार लागिपरेका देख्न सकिन्छ ।

सफा आँगन र गोरेटो नजिकैको करेसाबारीमा लहलह अग्र्यानिक तरकारी तथा मौसमी फलफूल, गाउँले जीवनशैली, हिमाली सौन्दर्य, सेरोफेरो नै मेरो भनेर भाका हाल्दै झरेका श्वेत झरना, निश्चल स्वच्छ र हराभरा वातावरणसँगै विभिन्न पाहुनाघरको बिछट्टै मायाले जो–कोही आफँै लोभिन सक्छन् ।

अझै पाहुनाघरको स्वागत झनै लोभलाग्दो छ । स्वागतमा पूरै नेपाली परम्परागत परिकार खुवाइन्छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले धेरै नै क्षति गरेको भए पनि विस्तारै–विस्तारै त्यहाँको जीवनस्तर पुनः पहिलेकै अवस्थामा फर्किदैछ । अझै कतिपय पाहुना घर पहिलाको भन्दा सुधारिएर निर्माण गरिएका छन् ।

अहिले गाउँ–गाउँमा घरबासले पनि पर्यटकलाई झनै सहज भएको छ । गाउँले परिवेश, पारिवारिक वातावरणमा खान, बस्न पाइने भएपछि पर्यटक झनै लोभिने गरेका छन् । हालै ‘खेलको माध्यमबाट पर्यटन प्रवद्र्धन’ भन्ने मूल नाराका साथ सो स्थानमा ट्रेल म्याराथन सम्पन्न भएको छ । हरेक वर्ष जनैपूर्णिमाको अवसर पारेर पर्यटन प्रवद्र्धनका लागि हाफट्रेल म्याराथन हुने गरेको छ ।

यस्तै यो वर्ष पनि भएको खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकले सहभागिता जनाएका थिए । सो कार्यक्रममा पूर्वकानूनमन्त्री शेरबहादुर तामाङ, प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल, पाँचपोखरी थाङ्पाल गाउँपालिकाका खेलकूद विकास समितिका अध्यक्ष टासी शेर्पालगायत स्वदेशी तथा अन्य विभिन्न देशका महिला र पुरुष धावक गरी कूल १६४ सहभागी थिए ।

सो कार्यक्रम सफल बनाउन सोही क्षेत्रको गाउँपालिका अध्यक्ष टासी लामा, पर्यटन प्रवद्र्धन प्रमुख सुवास तामाङलगायत समाजसेवी, राजनीतिज्ञ, पत्रकार साथै स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा मुख्यतयः पयर्टनलाई लक्षित गरी विभिन्न लोक संस्कृति झल्काउने लाखेनाच, झाँकी नाच, लोकभाका, तामाङसेलो र परम्परागत वेषभूषा समावेश गरिएको थियो । पाँचपोखरीमा यो वर्ष पाँच हजार तीर्थयात्रीले मेला भरेका गाउँपालिकाका अध्यक्ष टासी लामाले बताउनुभयो ।

अध्यक्ष लामाले विगतको तुलनामा अहिले धेरै नै पर्यटक पाँचपोखरी भ्रमणमा आएको बताउनुभयो । पर्यटकको सङ्ख्या अझै वृद्धि गर्न गाउँपालिकाले विभिन्न नयाँ कार्ययोजना अगाडि बढाएको बताउँदै उहाँले भर्खरै परीक्षण गरिएको प्याराग्लाइडिङको सफलताको समेत चर्चा गर्नुभयो ।

पाँचपोखरीमा गत साउन २८ गते नागीडाँडादेखि गुन्सासम्म पहिलोपटक प्याराग्लाइडिङको सफल परीक्षण गरेको थियो । यसले गर्दा अझै यो क्षेत्रमा स्थानीयवासीलगायत अन्य क्षेत्रका पर्यटक आउने धेरै सम्भावना रहेको अध्यक्ष लामाको भनाइ छ । उहाँका अनुसार पर्यटकलाई नै मध्यनजर गर्दै तीन हजार २०० मिटरको उचाइमा रहेको च्योच्योडाँडामा हाइएल्टिट्युट ट्रेनिङ सेन्टरको स्थापना पनि गर्न लागिएको छ ।

आगामी दिनमा अझै धेरै पर्यटक भित्रनेछन् अध्यक्ष लामाले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले अरु सेवासुविधा जस्तो कि घरबास, होटल व्यवस्थापनका लागि स्थानीयवासीसँग सहकार्य गर्दै भ्रमण वर्ष २०२० लाई भव्यरूपमा स्वागत गर्न लागिपरेको छाँैँ ।”

म्याराथन विजेता सुमन कुलुङ राईले पाँचपोखरीमा गत वर्षदेखि नै आफू निरन्तर म्यारथनमा सहभागी हुँदै आएको बताउनुभयो । विगतका वर्षहरुमा भन्दा धेरै सुधार भए पनि सडकको पर्याप्त सुधार भएमा अझै धेरै पर्यटक भित्र्याउन गाह्रो नभएको उहाँले बताउनुभयो ।

पर्यटकीय धार्मिकस्थल पाँचपोखरी राजधानी काठमाडाँैबाट सबैभन्दा नजिक रहेको लाक्पा दोर्जे र जुगल हिमालको काखमा रहेको छ । प्राकृतिक र धार्मिक महत्व बोकेको यस पोखरीमा प्रत्येक जनैपूर्णिमाको अघिल्लो दिन र मङ्सिर महीनाको पूर्णिमाका दिन विशेष मेला लाग्ने गर्छ । पाँचपोखरी नजिकै रहेको महादेवको मन्दिर वरिपरिको कुण्डमा नुहाइ पाँचवटा पोखरी परिक्रमा गरेमा पापमुक्त हुनुका साथै मनोकामना पूरा हुने जनविश्वास रहेको छ ।

काठमाडौंबाट मेलम्ची, तिपेनी, थाङपालधाप हुँदै भोताङसम्मको बस यात्रापछि एकदेखि डेढ दिनमा पाँचपोखरी पुग्न सकिन्छ । भ्रमणका लागि समय र फुर्सदअनुसार यसलाई लम्ब्याएर पाँच तथा सात दिन लगाएर त्यहाँको परम्परागत जीवनशैलीको आनन्द लिन सकिन्छ ।

भैरवकुण्ड, सरस्वती कुण्ड, गणेश कुण्ड, सूर्य कुण्ड र नाग कुण्ड गरी पाँचवटा कुण्डअर्थात् पोखरी रहेकाले यस स्थानको नाम पाँचपोखरी रहन गएको हो । धार्मिक महत्वका साथ यस स्थानमा जाने मानिस जनैपूर्णिमालाई लक्षित गरेर जाने गर्छन् भने प्राकृतिक सौन्दर्य निहार्न जाने प्रायः असोज कात्तिकमा जाने गर्दछन् ।

यो मौसममा हिउँ पर्ने भएकाले पाँचपोखरी आसपासको वातावरण अझै मनमोहक देखिन्छ । त्यसैले पछिल्लो समय पाँचपोखरी पदयात्रा अतिनै रमणीय भएको स्थानीयवासी बताउँछन् ।