१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथमा धार्मिक पर्यटक बढे, हाेटल बासकाे सुविधा थपियाे

हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथमा धार्मिक पर्यटक बढे, हाेटल बासकाे सुविधा थपियाे
अ अ+ अ-

मुक्तिनाथ (मुस्ताङ) : झण्डै चार दशक अघि २०३८ सालमा तनहुँको शुक्लागण्डकी नगरपालिका–९ ढोरफिर्दीकी उमादेवी भट्टराई मुक्तिनाथको दर्शनका क्रममा त्यहाँस्थित रानीपौवामा बस्नुभयो ।

“हामी दशैँको बेला पारी गएका थियौँ”, आफ्नो अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “ठाउँ ठाउँबाट आएका तीर्थयात्रीले रानीपौवा खचाखच भरिन्थ्यो ।” उक्त समयमा तीर्थयात्री अधिकांशले खाने कुराका साथै ओढ्ने ओच्छ्याउने सामग्री आफैँ लिएर जाने गरेका जानकारी दिँदै उहाँले त्यस समयमा होटेलको सुविधा नभएको सुनाउनुभयो ।

मुक्तीनाथ मन्दिरकाे मुख्य प्रवेशव्दार, तस्वीरः बासुदेव पाैडेल

चार दशक अघिसम्म तीर्थयात्राका क्रममा यस्तै पौवा र ठाँटी, भेँडीगोठ आदिमा बस्नु बाध्यता थियो । समय बदलिइसकेको छ । अहिले मुक्तिनाथको दर्शन गर्न जाने पर्यटकले आफ्नो आयस्तर एवं होटेलको सुविधाअनुसार सस्तादेखि महँगा होटेलमा बस्न पाउँछन् । रानीपौवा आफ्नै महत्व एवं ऐतिहासिकता बोकेको ठाउँ हो ।

तत्कालीन समयमा रणबहादुर शाहकी रानी सुवर्णप्रभा विसं १८६३ मा मुक्तिनाथ दर्शनका लागि पुग्नुभएको थियो । सुवर्णप्रभासँग मुक्तिनाथका स्वामी महाराजले दर्शनार्थीलाई तीर्थयात्राका क्रममा बास बस्न समस्या परेको अनुरोध गर्नुभएछ । सोही अनुरोधकै आधारमा रानी सुवर्णप्रभाले मुक्तिनाथ मन्दिर प्रवेशको मुख्यद्वार यही रानीपौवामा धर्मशाला निर्माण गरिदिनुभयो ।

तत्कालीन समयमा कुष्मा अर्मादीबाट काठ ल्याएर धर्मशाला निर्माण गरिएको मुक्तिनाथ अन्नदान क्षेत्र सन्त सेवा आश्रम, रानीपौवाका कर्मचारी हरिकृष्ण आचार्यले जानकारी दिनुभयो । त्यसै बेलादेखि रानीले बनाइदिएको धर्मशाला भएकाले यसलाई रानीपौवा भनिएको हो ।

धर्मशाला निर्माणसँगै तत्कालीन समयदेखि नै तीर्थयात्रीलाई खान तथा बास बस्न सहज भएको उहाँले बताउनुभयो । रानीपौवामा धर्मशाला निर्माणसँगै फूल, प्रसाद एवं आवश्यक अन्य समान बेच्ने क्रमबाट यो ठाउँले विस्तारै व्यावसायिक रुप लियो ।

तत्कालीन समयमा रानीपौवामा बसोबास थिएन । त्यहाँबाट केही तल पुराङ गाउँमा मानिस बस्दथे । रानीपौवा र आसपासका गोठ तथा पुराङ बस्ती रहेकामा धर्मशालामा दर्शनार्थी बस्न थालेपछि पुराङवासी विस्तारै रानीपौवातिरै उकालो लागे ।

अन्ततः उक्त धर्मशालाकै कारण रानीपौवा बजारमा परिणत भयो । पहिलाका कुरा सुन्दा र अहिलेको अवस्था हेर्दा पत्याउनै सकिन्न । धमाधम बन्दै गरेका सुविधा सम्पन्न होटेलसँगै रानीपौवा क्षेत्रकै संरचनामा ठूलो परिवर्तन आएको छ । मुक्तिनाथ मन्दिरको मुख्य प्रवेशद्वार रानीपौवाको २०० वर्षभन्दा बढीको इतिहास रहेको स्थानीय समाजसेवी एवं होटेल ग्राण्ड साम्बालाका सञ्चालक सुरज गुरुङले बताउनुभयो ।

उहाँका अनुसार झण्डै २०३२-०३३ सालसम्म यो ठाउँ सामान्य लेक नै थियो । यहाँ भेडाबाख्राका गोठ थिए । पर्यटकको आगमनलाई लक्षित गर्दै होटेल निर्माणको क्रमले गतिलिँदा हाल २५÷२६ वटा होटेल सञ्चालनमा आइसकेका उहाँले जानकारी दिनुभयो । पछिल्ला वर्षमा विदेशिएका युवा फर्केर यहीँ होटेल व्यवसाय सञ्चालन गर्न लागेका उहाँले जानकारी दिनुभयो ।

गुरुङ स्वयं पनि रोजगारीकै सन्दर्भमा पोखरा, काठमाडौँ हुँदै जापान, अष्ट्रेलिया, अमेरिकासम्म पुग्नुभयो । उहाँ अहिले रानीपौवामै लगानी गरी होटेल ग्राण्ड सम्बाला सञ्चालन गरिरनुभएको छ । पर्यटकको बढ्दो आकर्षणलाई दृष्टिगत गरी उहाँले रानीपौवामा सन् २०१५ मा उक्त होटेल खोल्नुभएको हो । उक्त होटल त्यहाँका सुविधा सम्पन्नमध्येमा पर्दछ ।

अघिल्लो वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणका क्रममा नेपाली एवं भारतीय उच्च पदस्थ अधिकारी उहाँको होटेलमा बसेका थिए । हाल रानीपौवामा विभिन्न सुविधा सम्पन्न होटेल बन्ने क्रममा छन् भने यहाँ तीन तारे होटेलको निर्माण कार्य बढाइएको छ ।

पछिल्ला वर्ष बेनी–जोमसोमबाट मुक्तिनाथसम्मको बाटो स्तरोन्नति हुँदै गएपछि पर्यटक आगमनमा आएको उत्साहजनक वृद्धिले यस क्षेत्रमा होटेल व्यवसायको लगानीमा आकर्षण बढेको हो । मुक्तिनाथ मन्दिरको दर्शन र भ्रमणमा आउने भक्तजन, आन्तरिक तथा बाह्य पर्यटकसँगै त्यही क्रममा होटलको संख्या र सुविधा बढ्दै गएको हो ।

मुक्तिनाथको रानीपौवादेखि झारकोटसम्म होटेल खोल्ने क्रम बढिरहेको छ । उहाँले पक्की घरमा २५ कोठा भएको होटल सञ्चालन गर्न रु तीनदेखि चार करोडसम्म लगानी हुने गरेको बताउनुभयो । हाल रहेका होटेलमा एक रातमा हजार जनासम्म विदेशी पर्यटक राख्न सकिने अवस्था छ भने दुई हजार जनासम्म राख्न सकिन्छ ।

पछिल्ला पाँच छ वर्षयता होटेल बन्ने क्रमले गति लिएको उहाँको भनाइ छ । यहाँका होटलका कोठाबाटै हिमाल र मनोरम भूवनोट एक साथ अवलोकन गर्न सकिन्छ । पाहुनाको रोजाइअनुसार राष्ट्रिय, अन्तर्राष्ट्रियदेखि स्थानीय खानाका परिकारका स्वाद यहीँ चाख्न पाइन्छ । सडकको पहुँच र यातायातको सुविधा भएपछि पछिल्ला वर्षमा हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथमा धार्मिक पर्यटकको आगमन बढिरहेको यहाँका व्यवसायी बताउँछन् ।

होटेल पूर्वाधारको विकासका साथै बेनी–जोमसोम–मुक्तिनाथ सडक सञ्चालनले नेपाली र भारतीय तीर्थालुको बा¥हैमास आवागमन हुन थालेको मुक्तिनाथका पुजारी कृष्णप्रसाद सुवेदीले बताउनुभयो ।

अघिल्लो वर्ष भारतीय प्रधानमन्त्री मोदीको मुक्तिनाथ दर्शन भ्रमणले भारतीय पर्यटकको आगमन बढाएको उहाँले जानकारी दिनुभयो । पर्यटकको बढ्दो आगमनसँगै युवा होटेल व्यवसायमा लगानी गर्न इच्छुक बन्दै गएका विगतमा अष्ट्रेलिया बसी हाल रानीपौवामा होटेल सञ्चालन गर्दै आएका बबमार्लो होटेलका सञ्चालक कर्म छिरिङ गुरुङले बताउनुभयो । मुक्तिनाथलाई हिन्दू तथा बौद्ध धर्मावलम्बीको आस्थाको सङ्गमस्थल मानिन्छ । मुक्तिनाथलाई भगवान् विष्णुले तपस्या गरेको पुण्यभूमिका रुपमा लिइन्छ ।

तपस्याका क्रममा भगवान्को शरीरबाट आएको पसिनाबाट पानीको मूल फुटेको र सोही पानीको १०८ धारा यहाँ रहेको किंवदन्ति छ । यहाँका १०८ धारामा स्नान र मुक्तिनाथको दर्शन गर्नाले पुण्य मिल्ने धार्मिक विश्वास छ । रानीपौवामा होटल तथा रिर्सोटमा लगानी गर्न चाहनेको सङ्ख्या बढिरहेको उल्लेख गर्दै वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले यसलाई कसरी व्यवस्थित गर्ने र कस्तो नीति बनाउने विषयमा सरोकारवालासँग छलफल एवम् अन्तरक्रिया भइरहेको बताउनुभयो ।

पर्यटकको बढ्दो आगमनसँगै उनीहरूलाई गरिने व्यवहार आदिले महत्वपूर्ण स्थान राख्ने भएकाले उक्त क्षेत्रका होटेल व्यवसायीलाई आतिथ्यता एवं सत्कार सम्बन्धमा तालिम दिने लक्ष्य राखिएको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले बताउनुभयो ।

शारीरिकरुपमा अशक्त दर्शनार्थीलाई लक्षित गरी बोर्डको पोखरा कार्यालयले रानीपौवादेखि मुक्तिनाथ मन्दिरसम्म अपाङ्गमैत्री पदमार्ग बनाउन यसै आर्थिक वर्षका लागि बजेट प्रस्ताव गरेको छ ।

बोर्डले मुक्तिनाथबाट तिलिचो जाने पदमार्गको यसै आवमा सम्भाव्यता अध्ययनको तयारीसमेत गरिरहेको उहाँले बताउनुभयो ।