काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजनप्रति चिन्ता व्यक्त गर्दै सहमति, सहकार्य र एकताको माध्यमबाट अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।
कांग्रेसका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै सार्वजनिक गर्नुभएको पत्रमा डा. कोइरालाले मुलुकको भविष्य र अस्तित्वप्रति चिन्ता सिर्जना भएको भन्दै राजनीतिक नेतृत्वले समझदारीपूर्वक सहमति र सहकार्यका साथ अघि बढ्नुपर्ने बताउनुभएको हो ।
उहाँले नेपाली कांग्रेसको गौरवशाली इतिहास र संस्थापक नेताहरूले स्थापित गरेको निष्ठा, आदर्श तथा नैतिक शक्तिलाई स्मरण गर्दै पार्टी अहिले विभाजित र कमजोर अवस्थामा पुगेको उल्लेख गर्नुभएको छ । कांग्रेसको आसन्न दुई महाधिवेशनले राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा आघात पुग्न सक्ने भन्दै उहाँले त्यसलाई रोक्न मध्यमार्गी र विवेकपूर्ण समझदारीको बाटो खोज्नुपर्ने धारणा राख्नुभएको छ ।
‘म कांग्रेस विभाजनबाट रोमाञ्चित हुनै सक्दिनँ,’ उहाँले पत्रमा भन्नुभएको छ, ‘म को ठीक, को बेठीक भनेर वकालत कसरी गर्न सक्छु ? कांग्रेस हुँ भन्ने तर आफ्नै साथीभाइमाथि असुरक्षा, अपमान र घृणा पैदा गरेर निर्माण गरिने कांग्रेसको महलमाथि म बस्न सक्दिनँ ।’
उहाँले पार्टीभित्र कोही हार्ने र कोही जित्ने अवस्थालाई कांग्रेसको विजयका रूपमा उत्सव मनाउन नसकिने पनि बताउनुभएको छ । यस्तो संस्कार कांग्रेसको संस्कृति र परम्पराभन्दा भिन्न रहेको उहाँको भनाइ छ ।
डा. कोइरालाले पछिल्लो समय रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा भएको विपत्तिप्रति कांग्रेस संवेदनशील हुनुपर्ने बताउनुभएको छ । प्राकृतिक प्रकोपका कारण अभाव, वञ्चना र जनधनको क्षति व्यहोरेका नागरिकप्रति पार्टीले मानवीय संवेदनाका साथ काम गर्नुपर्ने उहाँको धारणा छ ।
‘नेपाली जनता रोइरहेका छन्, सर्वसाधारणहरू चाडपर्वको मुखमा परिवारका सदस्य र आफन्त गुमाएर चेतनाशून्य भएर बसेका छन्,’ उहाँले भन्नुभएको छ, ‘उनीहरूको दर्द र पीडा हामीले बुझ्न सकिरहेका छैनौं । हामी के गर्दैछौं ?’
कानुन र विधानका धाराहरूका कारण मानवीय संवेदनालाई ओझेलमा पार्न नहुने भन्दै उहाँले कांग्रेसले आफ्नो राष्ट्रिय दायित्वबाट विमुख हुन नहुने बताउनुभएको छ । पार्टी एकताबद्ध भएर अघि बढेमात्रै राष्ट्र निर्माणमा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने उहाँको भनाइ छ ।
विश्व राजनीतिमा भइरहेको परिवर्तनको प्रभाव नेपालमा समेत परिरहेको सन्दर्भमा उहाँले कांग्रेसका संस्थापक नेता बीपी कोइरालालाई स्मरण गर्दै पार्टी एकताबद्ध हुनुपर्नेमा जोड दिनुभएको छ ।
‘मध्यमार्ग कठिन मार्ग हो, तर यही मार्ग सत्यको बाटो हो,’ उहाँले भन्नुभएको छ, ‘यही मार्ग कांग्रेसको मार्ग हो र यही मार्ग कांग्रेसको जीवन दर्शन हो ।’
डा. कोइरालाले आफू कसैप्रति आरोप–प्रत्यारोप गर्ने पक्षमा नरहेको स्पष्ट पार्दै कांग्रेसको सफलता सबैको एकताबद्ध प्रयासबाट मात्रै सम्भव हुने बताउनुभएको छ । कांग्रेसजनको विवेकमाथि आफूलाई विश्वास रहेको उल्लेख गर्दै उहाँले पार्टी एकताका लागि गाउँ–टोलदेखि केन्द्र र विदेशमा रहेका कांग्रेसका कार्यकर्तालाई समेत अभियानमा जुट्न आग्रह गर्नुभएको छ ।
‘हामी उठ्छौं, जुट्छौं र जित्छौं,’ उहाँले पत्रमा भन्नुभएको छ । पार्टी एकता र राष्ट्र निर्माणको अभियानलाई अलग–अलग रूपमा बुझ्न नसकिने भन्दै उहाँले कांग्रेस एकताका लागि आफू निरन्तर संवाद र प्रयासमा रहने बताउनुभएको छ ।









