काठमाडाैँ । काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अब चार वटा इजलासबाट मुद्दाको सुनुवाइ हुने भएको छ ।
उक्त अदालतमा हाल तीन वटा इजलास रहेकामा जिल्लामा मुद्दाको चापलाई आधार मान्दै नयाँ थप एक इजलास कक्षको निर्माण भइरहेको श्रेस्तेदार उपसचिव सञ्जित गौतमले जानकारी दिनुभयो ।
हरेक वर्ष करिब तीन हजार ७०० थान मुद्दा हेर्नुपर्ने अवस्था रहेकाले कामको चाप कम गर्न, समयमा नै मुद्दा फछ्र्याेट गरी न्यायको अनुभूति गराउन तथा भौगोलिक विकटतालगायत कारण जिल्लामा न्यायाधीश अपुग भएपछि सर्वोच्च अदालतले इजलास थप्न अनुमति दिएको थियो ।
श्रेस्तेदार गौतमका अनुसार यही सातादेखि नयाँ इजलास सञ्चालनमा आउनेछ । थप इजलासका लागि आवश्यक जनशक्ति तयार गरिएको जनाइएको छ ।सर्वोच्च अदालत प्रशासनले उक्त इजलासमा काठमाडौँ जिल्ला अदालतमा कार्यरत न्यायाधीश दीपक घिमिरेलाई सरुवा गरेको छ ।
जिल्ला अदालतमा चालु आवका लागि अघिल्लो आवबाट जिम्मेवारी सरेका एक हजार ५८६ थान मुद्दा कायम छन् । इजलास र न्यायाधीशको सङ्ख्या थप भएसँगै जिल्ला अदालतबाट हुने कार्यसम्पादन छिटो र छरितो हुने विश्वास गरिएको छ ।









