१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

१४९ यात्रु लिएर जापान ओर्लियो नेपाली जहाज

१४९ यात्रु लिएर जापान ओर्लियो नेपाली जहाज
अ अ+ अ-

–सिबी अधिकारी
ओसाका । चालिस हजार फिट भन्दामाथि उचाइको आकासमा चन्द्र र सूर्य ध्वजासहितको विमान एसियाकै विकसित मुलुक जापानको भूमिमा अवतरण गर्दा नेपाली मन उमङ्गले तरङ्गित भयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको नेपाल वायुसेवा निगमको ए–३३०–२०० वाइड बडी जहाज साढे छ घण्टाको उडानपछि जापानको ओसाकास्थित कान्साई इन्टरनेशनल एयरपोर्टमा अवतरण गर्दा गडगडाहट ताली बज्यो ।

जम्मा १४९ यात्रु लिएर जापान ओर्लिएको नेपाली जहाजले विमानस्थलमा छुट्टै आकर्षण पैदा गर्यो । जापानी मात्र नभई अन्य मुलुकका यात्रुहरुलाई पनि केहीबेर ध्यानआकृष्ट गरायो । विमानस्थलमा काठमाडौँ–ओसाका जहाज सिधा उडानको औपचारिक शुभारम्भ कार्यक्रममा जापानस्थित नेपाली राजदूत प्रतिभा राणालगायतका पाहुनाले दुई देशबीचको सम्बन्धलाई नेपाली जहाजले थप उचाइमा पु¥याउन सफल भएको बताए ।

यसअघि काठमाडौँमा वाइड बडी जहाजको जापान उडान शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले निगमको उडानले नेपाली उड्डयन इतिहासमा क्रान्तिकारी फड्को मारेको बताए ।

उनले निगमको ओसाका उडानले नजिकिएको नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउन तथा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । नेपाली जहाजले गुणात्मक फड्को मारेकोमा नेपाल मात्र नभई विश्वभर छरिएका नेपाली समुदायलाई खुसीको सञ्चार गराएको उल्लेख गर्दै मन्त्री भट्टराईले यस प्रयत्नमा भूमिका निर्वाह गर्ने निगम व्यवस्थापन तथा नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाली राजदूतावासलाई धन्यवाद ज्ञापन गरे ।

मन्त्री भट्टराईले भने, ‘३८ हजार देखि ४० हजार फिट उचाइमाथि नेपालको झण्डा फहराउँदा दुनियाले देख्नेछ, नेपाली राष्ट्रिय झण्डा देशको गौरव, प्रतिष्ठा इज्जत बोकेर जहाज जापान गन्तव्य जाँदैछ, यस कार्यलाई सार्थक बनाउने जहाजका चालकदलका सदस्यलाई शुभकामना दिन्छु आफ्नो क्षमता र कला कौशल यहाँहरुले प्रस्तुत गर्नुहुनेछ, यात्रुको आदर सत्कारमा कर्मचारीले कुनै कसुर बाँकी राख्नुहुनेछैन ।’

निगमका अध्यक्ष मदन खरेलले अनेकौँ चुनौतीलाई चिर्दै जापान उडान गर्ने अवस्थामा पुग्नु आफैँमा सफलताको विषय भन्दै व्यवसायिक उडानलाई निरन्तरतासँगै जापानकै नारितालगायतका अन्य गन्तव्यमा उडान विस्तारको कामलाई तीव्रताका साथ अघि बढाइने बताए ।

‘लामो सङ्घर्षपछि अहिलेको सफलतामा पुगेका छौँ, आगामी दिनमा अझ बढी चुनौती छन् तिनको समाधान भनेको जहाजलाई नियमित उडान, निश्चित समयमा उडाएर विश्वास जित्ने अथवा सुरक्षित उडान गर्दै धेरैभन्दा धेरै यात्रुलाई आकर्षणका साथ सेवा दिएर नाफा कमाउने परीक्षा पनि हो । निगमको सक्षम टीमले आफ्नो जिम्मेवारी र क्षमतालाई पूर्णरूपमा कार्यान्वयन गर्ने हो भने सफलता सन्निकट छ’, उनले भने ।

निगमका क्याप्टेनद्वय एमएम डङ्गोल र श्रवण रिजालको नेतृत्वमा १० सदस्यीय चालकदलका सदस्यले २७४ सिट क्षमताको ‘मकालु‘ नामकरण गरिएको वाइड बडी जहाज जापानमा सफलताका साथ अवतरण गराएको हो ।

कन्साई विमानस्थलमा जहाज अवतरणपछि प्रफुल्लित मुद्रामा देखिनुभएका कप्तान रिजालले अन्तर्राष्ट्रिय मापदण्डको विमानस्थलमा विमान अवतरण गराउनु कुनै असहज नभएको र यसले नेपाली विमानचालक संसारका प्रतिष्ठित चालकभन्दा कम छैनन् नेपालीले पनि आकास यात्रामा विश्वलाई प्रतिस्पर्धा गर्न सक्छन् भन्ने दरिलो सन्देश प्रस्तुत गरेको उल्लेख गरे ।

नेपाली समयअनुसार भदौ १२ गते राति दुई बजेर ३८ मिनेटमा उडेको जहाज बिहान नौ बजेर ३ मिनेट अर्थात जापानको स्थानीय समय अनुसार मध्यान्ह १२ बजेर ३० मिनेटमा अवतरण भएको थियो । प्रतिकूल मौसमका कारण पनि जहाजलाई चालकले कुशलतापूर्वक अवतरण गराएका थिए । बाक्लो कुहिरी मण्डल बादलभित्र छिर्दा जहाज निकै हल्लिएको थियो । नेपालदेखि जापान उडानसम्मै मौसमको अनुकूलता देखिएन । तर पनि नेपाली पाइलटले अदम्य साहसका साथ जहाजलाई सफलताका साथ गन्तव्यमा पु¥याए ।

मौसमले साथ दिने हो भने काठमाडौँ ओसाका उडान रुट प्राविधिक हिसाबले कुनै कठिनाइ नहुने कप्तान रिजालको भनाइ छ । उनका अनुसार ३९ हजारदेखि ४१ हजार फिट उचाइमा वाइड बडी उडाइएको थियो । जहाज काडमाडौँ इण्डियन एक्सप्रेस हुदैँ बङ्गलादेश पुगेर पुनः म्यानमा, चीन, दक्षिण कोरिया हुँदै जापान पुगेको थियो ।

झण्डै १२ वर्षको अन्तरालपछि निगमले जापानको ओसाका सिधा उडान शुरु गरेको हो । यसअघि अक्टोबर ३० सन् १९९४ निगमले ओसाका उडान शुरु गरेको थियो । सो बेलाको उडान काठमाडौँ र चीनको साङ्घाई हुँदै जापानको ओसाका थियो । अप्रिल १२ सन् २००७ मा जहाज अभाव भएको भन्दै निगमले ओसाका उडान बन्द गरेको थियो ।

निगमका उडान सञ्चालन निर्देशक क्याप्टेन दिपुराज ज्वारचनले ११ महिनाको अथक प्रयासपछि ओसाका उडानलाई निर्धारित समयमै उडान गर्न सफल भएको बताए । उनका अनुसार शुरुमा सातामा तीन दिन र पछि क्रमशः बढाउँदै लगिनेछ । सन् २०२० जनवरी १ देखि जापानकै नारिता इन्टरनेशनल एयरपोर्टमा उडान सञ्चालन गर्ने तयारी भएको र बजार हिस्साका हिसाबले गन्तव्य व्यवस्थापन गरिने बताए ।

नयाँ गन्तव्यमा उडान गर्दा शुरुमा समस्या हुने भएपनि उडान निरन्तरता भए भविष्यमा राम्रो हुने निगमको अपेक्षा छ । निगमले शुरुमा भारतको मुम्बई र थाइल्याण्डको बैंकक उडान गर्दा निगमलाई बजार हिस्सा ओगट्न झण्डै एकवर्ष लागेको थियो ।

निगमका वाणिज्य निर्देशक टङ्कनिधि दाहालले सेप्टेम्बर महीनाभरि यात्रुको अभाव हुने र त्यसपछिका उडान राम्रो हुने उल्लेख गरे । चीनको बेइजिङ, साङ्घाई, बङ्गलादेश, म्यानमा, भियतनाम र श्रीलङ्का उडानका लागि बजार अध्ययन भइरहेको उनको भनाइ छ ।

निगमले साताको तीन दिन बिहीबार, शनिबार र मङ्गलबार ओसाकाको नियमित उडान गर्नेछ । हाललाई निगमले प्रवद्र्धनात्मक भाडादर दुईतर्फी रु ७२ हजार ८०० र एकतर्फी रु ३७ हजार निर्धारण गरेको छ । नेपाल जापानको सिधा उडानलाई थप व्यावसायिक प्रवद्र्धन गर्न सेप्टेम्बर महीनाभर प्रत्येक उडानमा यात्रुहरुबीच गोलाप्रथा गराइनेछ र एक जनालाई उपहारस्वरूप एक निःशुल्क नेपाल जापान उडानको टिकट प्रदान गरिने निगमको विज्ञप्तिमार्फत जनाइएको छ ।

जापान सिधा उडान भएपछि पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ । कम्तीमा पनि वार्षिक ४० हजार पर्यटक भित्र्याउने निगमले जनाएको छ । नेपाल पर्यटन बोर्डका अनुसार जापानबाट सन् २०१८ मा २९ हजार ८१७ पर्यटक नेपाल आएका छन् । सन् २०१७ मा २७ हजार ३२६ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

जापानपछि चीन, साउदी अरब र दक्षिण कोरियामा उडानका लागि पहल भइरहेको निगमले जनाएको छ । ती मुलुकमा आगामी जनवरीदेखि उडान गर्ने गरी आवश्यक प्रक्रिया अघि बढाइएको छ ।

पर्यटनराज्यमन्त्री धनबहादुर बुढा, सांसद, पर्यटन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारी, बैंकर, पर्यटन व्यवसायी, सरकारी सञ्चारमाध्यमका प्रतिनिधिलगायतको टोली ओसाका उडानमा गएको थियो ।

ओसाकामा नेपाली समुदायबीच निगमको उडान तथा भ्रमण वर्ष अभियानबारे प्रस्तुती गरिएको थियो । जापानका लागि नेपाली राजदूत राणा, जापानमा विभिन्न व्यवसायमा आबद्ध नेपाली व्यवसायी, जापानी पाहुनालगायतको उपस्थिति थियो । सो अवसरमा नेपाली सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।