१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

डेङ्गु रोग स्वास्थ्य मन्त्रालयले मात्र नियन्त्रण गर्न सक्दैन: राज्यमन्त्री डा. यादव

डेङ्गु रोग स्वास्थ्य मन्त्रालयले मात्र नियन्त्रण गर्न सक्दैन: राज्यमन्त्री डा. यादव
अ अ+ अ-

काठमाडौँ । पछिल्लो समय देशका ४५ भन्दा बढी जिल्लामा देखापरेको डेङ्गु रोग नियन्त्रण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो एकल प्रयासले मात्र सम्भव नहुने जनाएको छ । अघिल्लो आवमा तीन हजार ८३४ जनामा देखिएको सो रोगको सङ्क्रमण चालू आवको एक महीना १२ दिनमा एक हजार ५३७ जनामा प्रमाणित भएको छ ।

एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सो रोग सङ्क्रमण हुने गर्दछ । दश हजारमध्ये एक हजारमा मात्र रोगको लक्षण देखापर्दछ । पछिल्लो समय देशका अधिकाशं ठूला शहरमा सो रोग देखापरिसकेको छ । सबैभन्दा स्वच्छ र सफा मानिने पोखरा लेखनाथ महानगरपालिमा मात्र अहिलेसम्म ३१५ जना सङ्क्रमित बिरामी भेटिएका छन् ।

प्रतिनिधिसभा, शिक्षा र स्वास्थ्य समितिको आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले भने, “मन्त्रालयको एकल प्रयासले मात्र डेङ्गु नियन्त्रण सम्भव छैन, अन्य मन्त्रालय, सरोकार निकाय तथा आम जनताको साथ र सहयोग आवश्यक पर्छ । अन्य निकायको साथ र सहयोग मन्त्रालयले नपाउने हो भने डेङ्गु सङ्क्रमण झन् भयावह हुन सक्छ ।”

उनले ‘नयाँ भवन निर्माण कार्य तीव्र अवस्थामा रहेको छ, यो कार्य कसले रोक्छ ?’ भन्ने प्रश्न गर्दै निर्माण कार्यस्थलमा पानी जम्ने गरेका छ, पानी जमेको स्थानमा लामखुट्टेको लार्भा बसेको हुन्छ, भने । राज्यमन्त्री डा. यादवले तराईबाट पहाड र हिमाल उक्लिदै गरेका लामखुट्टेलाई मन्त्रालयले मात्र रोक्न नसक्ने चर्चा गर्दै मन्त्रालयले कर्मचारी र बजेट अभावले प्रभावकारी कार्य सम्पादन गर्न नसकेको गुनासोसमेत गरे।

उनले भने, “छिटो छिटो सचिव परिवर्तन भइरहन्छ, सचिव त परिवर्तन भयो भयो, सहसचिव पनि परिवर्तन हुन थाल्यो, खै काम कसरी सम्पादन गर्नु ?” मन्त्रालयको हालै मात्र सचिव पदमा सरुवा भई जानुभएका खगराज बरालले डेङ्गु नियन्त्रणमा सामूहिक प्रयासको खाँचो औँल्याउँदै स्थानीयस्तरमा ‘लामखुट्टे खोज र नष्ट गर’ भन्ने कार्यक्रमलाई प्रभावकारी बनाउन जरुरी रहेको छ भने ।

मन्त्रालयका सहसचिव दीपेन्द्ररमण सिंहले लामखुट्टे नियन्त्रण कार्य घरघरबाट शुरु गर्नुपर्ने भन्दै डेङ्गुको लार्भा देखिने घरलाई दण्डसजायको दायराभित्र ल्याउने खालको कानूनी संयन्त्र आवश्यक रहेकामा जोड दिए । मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. विवेककुमार लाल र विज्ञ डा घनश्याम पोखरेलले पछिल्लो समय हावाजस्तै डेङ्गु फैलिएको चर्चा गर्दै रोग नियन्त्रण गर्न आर्थिक अभाव रहेको बताएका थिए ।

महाशाखाका अनुसार सातै प्रदेशमा करीब रु ८७ लाख ९० हजारको दरले रकम विनियोजन गरेको छ । विगत तीन वर्षमा डेङ्गु देखिएका स्थानका आधारमा महाशाखाले नयाँ सम्भावित स्थानमा रोग नियन्त्रणका कार्यक्रम बनाउँछ । महाशाखाले अनुमान लगाएभन्दा फरक स्थानमा रोग देखिँदा नियन्त्रण गर्न आर्थिक स्रोतको अभाव रहेको महाशाखाले जनाएको छ । गत वर्ष ८५ स्थानीय तहमा सो रोग देखापरेको थियो । तर सुनसरीमा फैलिएको सो रोगको पूर्वानुमान मन्त्रालयले गरेकै थिएन ।

जनचेतना कार्यक्रममा प्राथमिकता दिन सुझाव

बैठकमा समितिका सदस्य मानबहादुर विश्वकर्माले डेङ्गु नियन्त्रण गर्न मन्त्रालय गम्भीर बन्न नसकेको भन्दै नियन्त्रण गर्न पहिलो प्राथमिकता दिन सुझाव दिए । समिति सदस्य जीवनराम श्रेष्ठले डेङ्गुको सङ्क्रमितलाई ‘स्क्रिनिङ’ गरी छुट्टै स्थानमा राख्न र बजेटको अभाव हुन दिनुहुँदैन भने । अर्का सदस्यद्वय उमेश श्रेष्ठ र हितबहादुर तामाङले विद्यालयका पाठ्यक्रममा डेङ्गु रोग हुन नदिने उपायका बारेमा समावेश गर्न सुझाव दिए ।

समिति सदस्यद्वय चित्रलेखा यादव र अञ्जना विशङ्खेले डेङ्गु नियन्त्रण गर्न जनचेतनाका कार्यक्रम अभियानका रूपमा सञ्चालन गनुपर्ने बताए । समितिका सदस्य गजेन्द्र महतले अविकसित स्थानमा डेङ्गुको लामखुट्टे हुँदैन भनेर कार्यक्रम नै नबनाउने प्रवृत्तिका कारण डेङ्गु फैलिएको हो भने ।

समितिका सभापति जयपुरी घर्तीले डेङ्गु नियन्त्रण गर्न अल्पकालीन तथा दीर्घकालीन योजना बनाई तत्काल कार्यान्वयनमा ल्याउन मन्त्रालयलाई निर्देश गरे ।