१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपचुनाव: सत्तारूढ नेकपादेखि विवेकशीलसम्मलाई पुनः दल दर्ता गर्न आह्वान



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले उपचुनावका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आउँदो मंसिर १४ गते हुने पालिका, प्रदेश र प्रतिनिधिसभाको उपचुनावका लागि भदौभरमा दल दर्ता गर्न आह्वान गरेको हो ।

निर्वाचन आयोगका अनुसार २०७४ सालको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह निर्वाचनमा आयोगमा दर्ता भएका दलले उपनिर्वाचनको प्रयोजनका लागि पुनः दल दर्ता गर्नु पर्दैन ।

ती चुनावमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग दल र अलग चुनाव चिह्नसहित लडेकाले उपनिर्वाचन प्रयोजनका लागि पुनः दल दर्ता गनुपर्ने भएको हो । तत्कालीन एमाले र माओवादी केन्द्र निर्वाचनपछि एकीकृत भएर नेकपा बनेको थियो ।

नेकपा एकीकरणसँगै निर्वाचन आयोगमा दल दर्ता भए पनि चुनावी प्रयोजनका लागि पुनः दर्ता हुनुपर्ने नेकपा निर्वाचन विभागका उपप्रमुख खिमलाल देवकोटाले बताए ।नेकपाको चुनाव चिह्न भने सूर्य नै हुने बताइएको छ ।

त्यस्तै, तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी मिलेर बनेको समाजवादी पार्टी नेपालले पनि पुनः दल दर्ता गर्नुपर्नेछ । ०७४ को निर्वाचनपछि यी दल एकीकृत बनेकाले पुनः दल दर्ता गर्नुपर्ने भएको हो ।यसबीचमा एकीकरण भएका राप्रपा संयुक्तले पनि पुनः दल दर्ता गराउनुपर्नेछ । त्यस्तै यसबीचमा बिभाजन भएका तत्कालीन साझा पार्टी र विवेकशील पार्टीले पनि उपनिर्वाचन प्रयोजनका लागि पुनः दल दर्ता गर्नुपर्नेछ ।

अरु इच्छुक दलले दलको विधान, घोषणापत्र, चुनाव चिन्हको नमुना, दल दर्ताका लागि केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि, लेखापरीक्षण प्रतिवेदनसहित तोकिएको समयभित्र दल दर्ता गर्न आयोगले भनेको छ ।

विभिन्न कारणले खाली भएका प्रतिनिधिसभाको एक, प्रदेशसभा साँसदका तीन, उपमहानगरपालिकाको मेयरको एक र गाउँपालिका अध्यक्ष तीन उपाध्यक्ष एक र पालिकाहरुका वडाध्यक्ष ४१ जनाका लागि चुनाव हुँदैछ ।