४ पुष २०८२, शुक्रबार
,
Latest
जेनजी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘म्याच फिक्सिङ’ गर्ने खेलाडीलाई तीनवर्ष कैद गर्ने तयारी



अ+ अ-

काठमाडौं । सरकारले खेलमा मिलेमतो (म्याचफिक्सिङ) गर्ने खेलाडी र खेलाडीलाई सहयोग गर्ने व्यक्तिलाई कारवाहीको दायरामा ल्याउने गरी नयाँ विधेयक संसदमा प्रस्तुत गरेको छ ।मिलेमतो भएको प्रमाणित भएमा तीनवर्ष कैद र रू तीस हजारसम्म जरिवानाका साथै रकमसमेत लेनदेन गरेको भए सो रकम पनि जफत गरिने विधेयकमा उल्लेख छ ।

युवा तथा खेलकुद मन्त्रालयले ल्याएको “खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक”मा सो प्रावधान राखिएको हो । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिमा हाल सो विधेयक छलफलका क्रममा छ । विधेयकमाथि १२ सांसदले आ–आफ्नो संशोधन प्रस्ताव प्रस्तुत गरेका छन् ।

“नेपाल भित्र, नेपालको प्रतिनिधित्व गरी विदेशी मुलुकमा कुनै खेलाडीसँग प्रतिस्पर्धा गर्दा कुनै खेलसँग सम्वद्ध खेलाडी वा पदाधिकारीले त्यस्तो खेलको प्रतिस्पर्धा गर्दा आउने स्वाभाविक परिणाम प्रतिकूल हुने गरी कुनै खेलाडी वा खेलाडीको समूहसँग मिलेमतो गर्न वा कसैको प्रलोभनमा पर्न वा कुनै बाजी गरी जिताउने वा हराउने गरी त्यस्तो खेल खेल्न वा खेलाउने कार्य गर्न हुँदैन ।” उक्त विधेयकमा उल्लेख छ । मिलोमतोका लागि उक्साउने वा मद्दत गर्ने व्यक्तिलाई समेत सो कारवाहीको दायरामा ल्याउन सकिने विधेयकमा व्यवस्था छ । हाल सो विधेयक राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा आइपुगेको छ ।

विधेयकको सो प्रावधानमा सांसद विमला विश्वकर्मा र आशाकुमारी विकले संशोधन प्रस्ताव प्रस्तुत गर्दै खेलमा मिलेमतो गर्नेलाई रू पाँचलाखसम्म जरीवाना र हदैसम्मको कारवाही गर्नुपर्ने प्रावधान राख्नुपर्ने माग गर्नुभएको छ । सांसद विमला विश्वकर्मा भन्नुहुन्छ “खेलाडी उत्पादन गर्न राज्यको लगानी धेरै हुन्छ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद प्रतियोगितमा भाग लिने खेलाडीले मिलेमतो गर्न पाइन्न । ”विधेयकमाथि संशोधन राख्नुहुने सांसद दीव्यमणि राजभण्डारी नेपालको खेलप्रतिष्ठालाई उँचो बनाउन राजनीतिक प्रभावबाट मुक्त राख्नुपर्ने, खेलकुद परिषद्को विकल्पमा प्राधिकरण र सदस्यसचिवको सट्टामा कार्यकारी निर्देशकको प्रावधान राख्न आवश्यक रहेको बताए ।

संशोधनकर्ता सांसद् जीवनराम श्रेष्ठ खेलकुद परिषद्को काममा व्यापक सुधार गरी खेलकुदको पुनसंरचना गर्नुपर्ने आवश्यकता औल्याउनुहुन्छ । विधेयकमा राष्ट्रिय, प्रदेश र स्थानीय स्तरका खेल सङ्घ गठन गर्न सक्ने रहे पनि एक खेलका लागि एक भन्दा वढी सङ्घ गठन गर्न नसकिने , एउटै व्यक्ति लगातार दुई कार्यकाल भन्दा वढी अवधिका लागि खेल सङ्घको अध्यक्ष, महासचिव वा सचिव पदमा निर्वाचित वा मनोनित हुन नसक्ने, खेलकुद परिषद्का बहालवाला कर्मचारी , प्रशिक्षक पनि खेलसंघमा आवद्ध हुन नपाइनेजस्ता प्रावधान पनि विधेयकमा छ ।