४ पुष २०८२, शुक्रबार
,
Latest
जेनजी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपतिमा व्यवस्थित तीज, २ बजेसम्म चार लाख भक्तजन



अ+ अ-

काठमाडौँ । पशुपतिनाथ मन्दिरमा यस वर्ष दर्शनार्थीले सहज रुपमा दर्शन गर्न सक्ने गरी व्यवस्थित गरिएको पाइएको छ । आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको थियो । बिहान १५ मिनेटमै मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गर्न सकिन्थ्यो भने १० बजेपछि आधा घण्टासम्ममा दर्शन गर्न सकिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले बताए ।

मूल मन्दिर प्रवेश गर्न पशुपति क्षेत्र जाने स्थानमा चार ठाउँबाट लाम लाग्ने व्यवस्था गरिएको छ । उत्तरतिर गुह्येश्वरी र दक्षिण एयरपोर्ट तिलगङ्गा क्षेत्रमा मूल मन्दिर प्रवेश गर्ने लाम लामो देखिन्छ । पश्चिम जयवागेश्वरीबाट छिर्ने लाम भने सहज रहेकाले भक्तजनलाई त्यताबाट पस्न उहाँले आग्रह गरे । यस वर्षदेखि पूर्वतर्फको मूल ढोका पनि तीजका भक्तजनलाई प्रवेश गर्न वैकल्पिक रुपमा खुला गरिएकाले चाँडो दर्शन गरेर फर्कन सकिएको भक्तपुरको साँगाबाट आउनुभएकी रश्मिला ढुङ्गानाले बताए ।

विगत वर्षभन्दा यस वर्ष लामबाट मन्दिर प्रवेश गरी दर्शन गर्न सहज भएको उनको प्रतिक्रिया थियो । दिउँसो २ बजेसम्म करीब चार लाख भक्तजनले पशुपतिनाथको मूल मन्दिरभित्र प्रवेश गरी दर्शन गरेको सदस्यसचिव ढकालले राससलाई जानकारी दिए । तीजको दिन आज सोमबार पनि परेकाले भक्तजनको बढी भीड लागेको हो । भक्तजनको स्वास्थ्यलाई ध्यान दिएर मूल मन्दिर परिसरमै तीन स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

निःशुल्क पानी वितरण गर्ने संस्था पनि पशुपति क्षेत्रमा खटिएका छन् । यस वर्ष उल्लेख्य रुपमा महिला प्रहरी पशुपति क्षेत्रमा खटाइएको छ । तीस प्रतिशत महिला प्रहरी खटाइएको महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख प्रदीप सिंहले बताउनुभयो । भक्तजनको सुरक्षाका लागि चार हजारभन्दा बढी सुरक्षाकर्मी पशुपति क्षेत्रमा परिचालन गरिएको छ । मन्दिर दर्शन गरेका भक्तजन हंसमण्डप, वनकाली, गौशाला, मित्रपार्कलगायत स्थानमा भक्ति सङ्गीतसहित गीत एवम् नाचगान गरेर बसेका छन् ।

अपराह्न ४ बजेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिर गई पूजा एवम् दर्शन गर्नुहुने कार्यक्रम रहेको कोषले जनाएको छ । यसैगरी पेप्सीकोलास्थित नागेश्वर मन्दिरमा पनि बिहानैदेखि महिला भक्तजनको भीड लागेको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाशजङ्ग रायमाझीका अनुसार नागको मणिलगायत बहुमूल्य वस्तु मूर्तिको गर्भगृहमा रहेकाले यहाँ भक्तजनको लाम लाग्ने गरेको छ ।

उपत्यकाका वसन्तपुरस्थित महादेव मन्दिर, गोकर्णेश्वर, डोलेश्वर, सन्तानेश्वरलगायत देशभरका शिवालयमा महिला भक्तजनको उल्लेख्य भीड छ । दिनभर व्रत बसेका महिलाले बेलुकी पूजा लगाउने वा मङ्गलबार बिहान गौदान र पूर्णपात्र गरी हरितालिका तीज व्रत उद्यापन गर्छन् ।

तीजको व्रत गरेमा पारिवारिक सुख, शान्ति एवम् मनोकामना पूरा हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले पानीसमेत नपिएर भाद्र शुक्ल तृतीयाका दिन व्रत बस्दा महादेव स्वामी पाएको चर्चा पौराणिक धार्मिक ग्रन्थमा उल्लेख छ ।