६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुविधा भएकै ठाउँमा मात्र स्वास्थ्य सेवा



अ+ अ-

जाजरकोट । भौगोलिक रूपमा जाजरकोट सानो भए पनि पहाडी भू–बनोटका कारण यहाँका बासिन्दालाई सहजरूपमा स्वास्थ्य सेवा पाउन कठिन भएको छ । जिल्लालाई सात स्थानीय तहमा विभाजन गरे पनि जाजरकोटवासीको स्वास्थ्य सेवामा पहुँच भने अति न्यून छ । जिल्लामा ५० शय्याको एक जिल्ला अस्पताल, तीन प्राथमिक स्वास्थ्य केन्द्र र ३१ स्वास्थ्य चौकी छन् ।

त्यस्तै एक आँखा अस्पताल, एक जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र दुई आयुर्वेद औषधालय भए पनि ती सबै जनताको पहुँचभन्दा पनि सुविधासम्पन्न ठाउँमा मात्र केन्द्रित छन् । कुशे गाउँपालिकामा पाँच स्वास्थ्य संस्था भए पनि त्यहाँ दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नभएको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए ।

उक्त गाउँपालिकामा पायक पर्ने ठाउँमा स्वास्थ्य संस्था नभएको भन्दै नयाँ चार ठाउँमा स्वास्थ्य संस्था निर्माणका लागि बोलपत्र आह्वान गरेर स्वास्थ्यकर्मीको नियुक्ति गर्न लागिएको उहाँले जानकारी दिए । उक्त गाउँपालिकामा एमबीबीएस गरेका चिकित्सकको दरबन्दी भएका स्वास्थ्य संस्था छैन भने सडक सञ्जालले जोडिए पनि अझैसम्म एम्बुलेन्स खरिद गरिएको छैन । जुनिचाँदे गाउँपालिकाको गर्खाकोटमा लामो समयदेखि एमबीबीएस चिकित्सको दरबन्दी भए पनि रिक्त हुँदै आएको छ ।

जिल्लाको सबैभन्दा दुर्गम र यातायातको सहज पहुँच नभएको सो गाउँपालिका हो । उक्त गाउँपालिकामा तीन स्वास्थ्य चौकी, सात सामुदायिक एकाइ, एक प्राथमिक उपचार केन्द्र रहेको प्रशासकीय अधिकृत सर्वदल शाहीले बताए । नलगाड नगरपालिकाको दल्लीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सक सञ्जयकुमार यादव तीन महिनादेखि बिदामा रहेका कारण दैनिक उपचारमा समस्या भएको छ ।

नगरपालिकामा आठ स्वास्थ्य संस्था रहेकामा सात नयाँ स्वास्थ्य संस्था थप्न लागिएको नगरपालिकाका प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिए । उक्त नगरपालिकामा एम्बुलेन्स खरिद गर्न बोलपत्र आह्वान गरिए पनि कसैले पनि फारम नभरेकाले उक्त शीर्षकको रकम फ्रिज भएको उनको भनाइ थियो । बारेकोट गाउँपालिकामा एउटा पनि स्वास्थ्यकर्मी नभएकाले एक करारमा नियुक्ति गरिएका नवीन साहनीको भरमा लिम्सास्थित प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन हुँदै आएको छ ।

औषधि खरिद नगरिएका कारण औषधिको समस्या रहेको बारेकोटका अधिकांश स्वास्थ्य संस्थाले जनाएका छन् । अघिल्लो वर्ष बारेकोट गाउँपालिकामा स्थानीय तह र एक एनजीओको सहयोगमा एक सुत्केरीको उद्धार गरिएको थियो । अन्य स्थानीय तहमा यस्ता खालका घटना नरहेको पाइएको छ ।

सुविधा सम्पन्न स्वास्थ्य संस्था तथा उपकरणको अभाबमा चिकित्सकले छामेको भरमा जिल्लावासीले उपचार गर्नुपरे पनि सुधार हुन सकेको छैन् । जिल्लाका कुनै पनि स्वास्थ्य संस्थाले औषधि खरिद गरेका छैनन् भने जिल्ला अस्पतालमा पनि औषधि अभाव हुन लागेको फार्मेसी विभागले जनाएको छ ।