१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डोरियन आँधीबाट बहमासमा पाँचको मृत्यु



अ+ अ-

पोर्टसेन्ट लुसी । संयुक्तराज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रविन्दुमा पारेर आएको डोरियन नामको आँधीका कारण पाँच जनाको मृत्यु भएको छ । समुद्रको छाल र भिषण वर्षाका कारण बहमासको जनजीवन अस्तव्यस्त भएको छ । बहमासका प्रधानमन्त्री हुबर्ट मिन्निसले सोमबार बहमास द्वीपका जनताका लागि यो आँधी “इतिहासकै दुःखान्त” को संज्ञा दिनुभयो ।

द्वीपबाट उद्धार गरिएका हजारौं व्यक्ति अमेरिकी पूर्वी तटीय इलाकामा आइपुगेका छन् ।बहमासमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री मिन्निसले भने– रोयल बहमास प्रहरीले अबाकोबाट पाँच जनाको शव बरामद गरेको छ । मौसमविदहरुले डोरियन आँधीलाई आइतबार पाँचौं श्रेणी (क्याटेगोरी फाइभ) मा राखेका थिए । राष्ट्रिय आँधीसम्बन्धी केन्द्र (एनएचसी) का अनुसार मंगलबारका लागि यो आँधी केही मत्थर भएर तेस्रो श्रेणीमा पुग्नेछ ।

अमेरिकी प्रक्षेपणकर्ताहरुका अनुसार आँधीले बहमासमा मंगलबार पनि क्षति गर्न सक्नेछ । ग्रान्ड बहमाकी निवासी एक महिला केन्ड्रा विलियम्सले एएफपीलाई भने – यहाँ जताततै पानी छ । हामी घरको छानामा बसेका छौं । कसैले हामीलाई उद्धार गर्न सक्ला रु कृपया सहयोग गर्नु न है । म, मेरा छ जना नातिनातिना र मेरो छोरा सबै छतमा छौं ।

अमेरिकाको फ्लोरिडामा पनि डोरियन आँधीको प्रभाव देखिँदैछ । यहाँ भारी वर्षा र तिब्र वेगको हावा चल्ने प्रक्षेपण गरिएको छ । मायामीस्थित एनएचसीका अनुसार मंगलबार यहाँ टोर्नाडो (भिषण आँधी) को सम्भावना पनि छ । फ्लोरिडामा १२१ वटा अस्थायी शिविरमा नौ हजार ५०० भन्दा बढी मानिसले शरण लिएका छन् । दुई बालबच्चा र आमासहित शिविरमा आइपुगेकी ३० वर्षीया स्टेफानी पासिक्सले भने– म यहाँ हिजो आइपुगें ।

आपतकालीन स्थितिको घोषणा गरेका कारण हामी यहाँ आइपुगेका हौं । “मेरो बुबा घरमा बिरालोको हेरचाहमै हुनुहुन्छ, तर हामी भाग्यौं । उहाँ त कहिले पनि घर छाड्नु हुन्न । उहाँलाई शिविरमा बस्न मन लाग्दैन,” पासिक्सले भने । मौसम पूर्वानुमान विभागका अनुसार यो आँधीले अमेरिकी पूर्वी तटीय राज्यहरु फ्लोरिडा सहित जर्जिया र दक्षिण क्यारोलिना राज्यमा प्रभाव पार्नेछ ।

यी राज्यका आँधी प्रभावित इलाकाका मानिसका लागि अस्थायी शिविरको व्यवस्था गरिएको छ । एक अनुमान अनुसार आँधीबाट झण्डै १० लाख मानिस प्रभावित हुनेछन् । उत्तर क्यारोलिना र भर्जिनिया राज्यले पनि आपतकालीन स्थितिको घोषणा गरेका छन् ।