काठमाडौं । स्वास्थ्य बीमा बोर्डले भोटेकोशी बाढीबाट अति प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा स्वास्थ्य बीमा सेवा सहज बनाउन महत्वपूर्ण निर्णय गरेको छ।
बोर्डको भदौ २२ गते बसेको निर्णयअनुसार नेपाल सरकारले तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका ती तीन जिल्लाका स्वास्थ्य बीमा सेवा प्रदायक स्वास्थ्य संस्थामा स्वास्थ्य बीमाअन्तर्गत लाग्ने सहभुक्तानी (को–पेमेन्ट) र क्यापिङ हटाइएको हो।
बोर्डका अनुसार तोकिएको समयावधिसम्म ती जिल्लाका बिमितले स्वास्थ्य बीमा सेवा लिँदा सहभुक्तानी र क्यापिङको व्यवस्था लागू हुने छैन। यस निर्णयले बाढी प्रभावित नागरिकलाई उपचार सेवा लिन सहज हुने अपेक्षा गरिएको छ।
त्यस्तै, बाढी प्रभावित क्षेत्रका बिमितसँग स्वास्थ्य बीमा परिचयपत्र नभएको अवस्थामा पनि स्वास्थ्य सेवा नरोकिने व्यवस्था गरिएको छ।
सेवा प्रदायक स्वास्थ्य संस्थालाई उपलब्ध गराइएको आईएमआईएस–युजर प्रणालीमार्फत स्वास्थ्य बीमा नम्बर यकिन गरी बिमितलाई स्वास्थ्य बीमा सेवा उपलब्ध गराउन बोर्डले निर्णय गरेको छ।
भदौ १० गते रसुवा जिल्लाको ल्हेन्दे खोलाबाट आएको अप्रत्याशित बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति पुगेपछि सरकारले यी जिल्लालाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो।
स्वास्थ्य बीमा बोर्डका वरिष्ठ मेडिकल सुपरिटेण्डेण्ट तथा प्रवक्ता डा. पवनकुमार साहले सम्बन्धित सबैलाई बोर्डको निर्णयअनुसार सेवा प्रवाह गर्न जानकारी गराएका छन्।









