काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीबाट ट्रक तथा कन्टेनर यातायात क्षेत्रमा भएको क्षतिको वास्तविक अवस्था बुझ्न यातायात क्षेत्रका प्रतिनिधिहरूको टोली आज (भदौ १६ गते) रसुवाको धुन्चेतर्फ जाँदैछ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बाँनिया, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अरनिको रुट ट्रक इकाई कमिटीका अध्यक्ष दावा शेर्पा तथा नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रा.लि.का अध्यक्ष अर्जुन सापकोटासहितको टोली काठमाडौंँबाट रसुवातर्फ प्रस्थान गर्न लागेको हो।
भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ट्रक तथा कन्टेनर यातायात क्षेत्रमा ठूलो भौतिक क्षति पुगेको छ भने चालक तथा मजदुरतर्फ समेत मानवीय क्षति भएको जानकारी आएको छ।
बाढीबाट भएको क्षतिको यकिन विवरण अझै स्पष्ट हुन नसकेकाले टोलीले प्रभावित क्षेत्रमा पुगेर स्थलगत रूपमा तथ्यांक संकलन गर्ने जनाएको छ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बाँनियाले भदौ १० गतेको बाढीबाट ट्रक तथा कन्टेनर क्षेत्रमा ठूलो क्षति भएको बताउँदै वास्तविक अवस्था बुझ्न आफूहरू प्रभावित क्षेत्रमा जान लागेको बताउनुभयो।
उहाँले भन्नुभयो, “भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीले ट्रक तथा कन्टेनर यातायात क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। सवारीसाधनमा भएको क्षतिसँगै मानवीय क्षतिसमेत भएको जानकारी आएको छ। त्यसको वास्तविक अवस्था बुझ्न र सही तथ्यांक संकलन गर्न हामी प्रभावित क्षेत्रमै पुग्दैछौं।”
टोलीले रसुवाको धुन्चेसहित प्रभावित क्षेत्रमा पुगेर ट्रक तथा कन्टेनर व्यवसायी, चालक तथा मजदुरको अवस्था, सवारीसाधनमा भएको क्षति तथा अन्य भौतिक क्षतिको विवरण संकलन गर्नेछ।
संकलित तथ्यांकका आधारमा प्रभावित व्यवसायी तथा श्रमिकका लागि राहत, सहयोग र पुनर्स्थापनाका लागि सम्बन्धित निकायसँग आवश्यक पहल गरिने बताइएको छ।









