काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्निर्माणका लागि उद्योग मन्त्री गौरीकुमारी यादवले साउदी अरब सरकारसँग मानवीय सहयोगको अपिल गर्नुभएको छ।
नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मदसँग भएको शिष्टाचार भेटवार्ताका क्रममा मन्त्री यादवले रसुवामा आएको भीषण बाढीबाट भएको ठूलो जनधनको क्षतिबारे जानकारी गराउँदै प्रभावित क्षेत्रका नागरिकलाई तत्काल राहत तथा पुनर्स्थापनाका लागि सहयोग आवश्यक रहेको बताउनुभएको हो।

मन्त्री यादवले विपद्का कारण प्रभावित परिवारको उद्धार, राहत वितरण तथा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा नेपाल सरकार जुटिरहेको जानकारी गराउँदै यस कठिन परिस्थितिमा साउदी सरकारबाट मानवीय सहयोगको अपेक्षा गरिएको बताउनुभयो।
भेटका क्रममा बाढीबाट प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने राहत सामग्री, उद्धार तथा पुनर्निर्माणका प्रयासमा सहयोग गर्न साउदी सरकारसँग आग्रह गरिएको जनाइएको छ।
रसुवामा आएको बाढीले मानव बस्ती, सडक, पुललगायतका भौतिक संरचनामा ठूलो क्षति पुर्याएपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी छ। सरकारले विपद्पछिको पुनर्स्थापना र पुनर्निर्माणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग जुटाउने प्रयाससमेत अघि बढाएको छ।




