काठमाडौं । रसुवामा आएको आकस्मिक बाढीपछि खोज, उद्धार तथा राहत कार्यमा परिचालन हुने हेलिकप्टरमा इन्धन भर्न नुवाकोटको त्रिशूलीमा नेपाल आयल निगमबाट तत्काल हवाई इन्धनसहितको ट्यांकर परिचालन गरिएको छ।
उद्धार तथा राहतका लागि हेलिकप्टरमार्फत हुने हवाई उद्धारलाई सहज बनाउन काठमाडौंमा रहेको निगमको हवाई इन्धनसहितको ट्यांकर त्रिशूलीतर्फ पठाइएको हो।
बाढी प्रभावित रसुवा, नुवाकोटलगायतका क्षेत्रमा खोज तथा उद्धार कार्य तीव्र पार्न हेलिकप्टर परिचालन भइरहेका बेला बीचमै इन्धन अभाव नहोस् भन्ने उद्देश्यले त्रिशूलीमै हवाई इन्धन उपलब्ध गराउने व्यवस्था मिलाइएको हो।
यस व्यवस्थाले विपद् प्रभावित क्षेत्रमा निरन्तर उद्धार तथा राहत सामग्री पुर्याउन परिचालित हेलिकप्टरलाई आवश्यकताअनुसार इन्धन भर्न सहज हुने अपेक्षा गरिएको छ।








