काठमाडौं । रसुवामा गएको भीषण बाढीका कारण आज बस्ने प्रतिनिधिसभाको बैठक संक्षिप्त बनाउने तयारी गरिएको छ। बाढीबाट उत्पन्न विपद्को अवस्थालाई ध्यानमा राख्दै पूर्वनिर्धारित कार्यसूची हटाएर आकस्मिक समय मात्रै राख्ने विषयमा छलफल भइरहेको छ।
बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरलगायतका कार्यक्रम तय गरिएको थियो।
तर, रसुवामा बाढीबाट भएको क्षतिलाई मध्यनजर गर्दै प्रश्नोत्तर कार्यक्रम स्थगित गर्ने तथा अन्य निर्धारित कार्यसूची अघि नबढाउने विषयमा छलफल भइरहेको संघीय संसद् सचिवालयले जनाएको छ।
बैठकलाई संक्षिप्त बनाएर बाढीबाट उत्पन्न परिस्थितिबारे आकस्मिक समयमा सांसदहरूलाई धारणा राख्ने अवसर दिने गरी तयारी भइरहेको बताइएको छ।
बैठकको कार्यसूचीमा आवश्यक हेरफेर गरी औपचारिक निर्णय भने हुन बाँकी रहेको छ।








