विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। सोमबार बसेको प्रदेशसभा बैठकमा भएको मतदानमा कार्कीको पक्षमा ५७ मत परेको हो।
मतदानमा २२ जना सांसदले भने मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिई विपक्षमा मतदान गरेका छन्। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका सांसदहरूले मुख्यमन्त्रीको पक्षमा मतदान गरेका थिए भने नेपाली कांग्रेसका सांसद विपक्षमा उभिएका थिए।
९३ सदस्यीय कोशी प्रदेशसभामा एक सदस्यले राजीनामा दिएकाले हाल ९२ सदस्य छन्। सोमबारको बैठकमा भने ८३ जना सांसद उपस्थित थिए।
प्रदेशसभामा नेकपा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ सांसद छन्। यस्तै, राप्रपाका पाँच सांसद छन्, जसमा सभामुखसमेत छन्। राप्रपाका सांसदहरू मतदानमा तटस्थ बसे।
जनता समाजवादी पार्टीकी एकमात्र सांसद निर्मला लिम्बु भने सोमबारको बैठकमा अनुपस्थित रहिन्।
विश्वासको मतसँगै मुख्यमन्त्री कार्की नेतृत्वको प्रदेश सरकारलाई तत्कालका लागि सरकार सञ्चालनका लागि आवश्यक राजनीतिक समर्थन प्राप्त भएको छ।









