काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपकुलपति, रजिष्ट्रार र डिनसहितको टोलीले विश्वविद्यालयअन्तर्गतका चार आङ्गिक क्याम्पसको स्थलगत निरीक्षण गरेको छ।
विश्वविद्यालयका उपकुलपति प्राडा ऋषिराम कट्टेलका अनुसार टोलीले कलेज अफ नेचुरल रिसोर्स म्यानेजमेन्ट सिन्धुली, कटारी, पाख्रिबास र बर्दिबास क्याम्पसको आकस्मिक निरीक्षण गरेको हो।
चार क्याम्पसमध्ये कटारी क्याम्पसमा वन स्नातक तहको अध्ययन–अध्यापन हुँदै आएको छ भने सिन्धुली, पाख्रिबास र बर्दिबास क्याम्पसमा कृषि स्नातक तहको अध्ययन–अध्यापन हुँदै आएको छ।
निरीक्षणका क्रममा विद्यार्थी, प्राध्यापक, कर्मचारी तथा क्याम्पस प्रमुखसँग छुट्टाछुट्टै छलफल गरिएको उपकुलपति कट्टेलले जानकारी दिए। छलफलमा क्याम्पसको भौतिक पूर्वाधार, शिक्षाको गुणस्तर, विद्यार्थी भर्ना, सुशासन, पारदर्शिता र जवाफदेहितालगायतका विषयमा सुझाव लिइएको उनले बताए।
“ती क्याम्पसका समस्या र आवश्यकताका विषयमा छलफल गरी सुझाव लिने तथा कतिपय समस्या तत्कालै समाधान हुने गरी आवश्यक निर्देशन दिइएको छ,” उपकुलपति कट्टेलले भने।
निरीक्षण टोलीमा उपकुलपति कट्टेलसँगै रजिष्ट्रार प्राडा सुबिर सिंह, कृषि सङ्कायका डिन प्राडा सुन्दर तिवारी र वन सङ्कायका डिन प्राडा गान्दिप काफ्ले सहभागी थिए।
टोलीले नयाँ विद्यार्थी भर्नाका लागि आवश्यक प्रचार–प्रसारलाई प्रभावकारी बनाउनसमेत क्याम्पस प्रशासनलाई आग्रह गरेको छ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा कृषि, वन, पशु चिकित्सा विज्ञान तथा पशुपालन र मत्स्य विज्ञान विषयमा स्नातक तथा सोभन्दा माथिल्लो तहको अध्ययन–अध्यापन हुँदै आएको छ।









