७ भाद्र २०८३, आईतवार
,
Latest
पार्टीले बनाएको विधि, निर्देशिका, नियमावलीको अक्षरशः पालना हुन्छ, आफ्नो अस्तित्वमाथि प्रश्न उठ्न दिन्नँः लामिछाने चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला आज संस्थाहरु डराएका छन्, हाम्रा क्रियाकलापबाट मुलुकको लोकतन्त्र कमजोर नबनोस्ः सभापति लामिछाने बदलिँदो परिस्थितिअनुसार एमाले रूपान्तरण हुनुपर्छः उपाध्यक्ष गुरुङ भारतका केएस भरतले काठमाडौँबाट एनपिएल खेल्ने जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल पार्टी कार्यकर्तालाई रविको निर्देशन–पुराना दलहरुसँग ३५ वर्षको हिसाव माग्ने काम बन्द गर्नू, अगामी ३५ वर्षको… जनसरोकारका मुद्दा संसदमा प्रभावकारी रूपमा उठाउन कार्यकर्ता सुसूचित हुनुपर्छः गगन थापा सरकार संसदप्रति उत्तरदायी भएन, बदलाको राजनीतिले सुशासन आउँदैनः निधी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध



अ+ अ-

काठमाडौँ। लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा मृत्यु हुनेको सङ्ख्या बढिरहेकाले यसको जोखिमप्रति सतर्क र सुरक्षित रहन परिवार कल्याण महाशाखाले सबैमा अनुरोध गरेको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको पछिल्लो प्रतिवेदनअनुसार देशका २५ जिल्लाका ५९ स्थानीय तहमा ८० जना प्रयोगशालामा पुष्टि भएका जापानिज इन्सेफलाइटिसका बिरामी देखिएका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै महाशाखाले पुष्टि भएका बिरामीमध्ये ८६ प्रतिशतले जापानिज इन्सेफलाइटिस रोगविरुद्धको ‘जेइ खोप’ नलगाएका जनाएको छ  । यसैगरी, हालसम्म सङ्क्रमितमध्ये २१ जनाको मृत्यु भइसकेको छ । मृतक सबैले जेइ खोप नलगाएका पाइएको छ ।

जेइका ‘केस’ (बिरामीको अवस्था) हालसम्म सबैभन्दा बढी झापामा १०, कैलाली र मोरङमा सात/सात, सप्तरी र कञ्चनपुरमा छ/छ तथा चितवन, सुनसरी र नवलपरासीपूर्वमा पाँच/पाँच रहेका छन् । मुख्यतः तराई तथा भित्री मधेसका जिल्लामा केन्द्रित भए पनि इलाम, काभ्रेपलाञ्चोक, काठमाडौँ, सिन्धुली, सुर्खेतलगायत पहाडी जिल्लामा जेइ पुष्टि भएको प्रतिवेदनले जनाएको छ ।

जापानिज इन्सेफलाइटिस मुख्यतः सङ्क्रमित क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्दछ । धेरै बिरामी धानखेत तथा सुँगुरपालन गरिने क्षेत्रमा बसोबास गर्नेमा यसको सङ्क्रमण देखिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । सङ्क्रमित जनावर जस्तै सुँगुर, बङ्गुर, हाँसलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा मानिसमा भाइरस सर्न सक्छ । जेइको सङ्क्रमण भएका प्रत्येक तीन जनामध्ये एक जनाको मृत्यु हुने र एक जना दीर्घकालीन अपाङ्गता वा स्नायुसम्बन्धी समस्यासहित बाँच्नुपर्ने तथ्याङ्क छ ।

साथै उच्च ज्वरो, टाउको दुख्ने, बेहोस हुने, झट्का आउने वा चेतनामा परिवर्तनजस्ता लक्षण देखिएमा घरेलु उपचारमा समय खेर नफाली उपचारका लागि तत्काल नजिकैको स्वास्थ्य संस्था लैजानसमेत महाशाखाले अनुरोध गरेको छ । पछिल्लो तथ्याङ्कअनुसार ८० जनामा पुष्टि भएकामध्ये ५१ अर्थात् ६४ प्रतिशत १५ वर्षभन्दा माथिका छन् । जेइका कारण भएका मृत्युमा ५० वर्षभन्दा माथिका व्यक्तिको हिस्सा ८१ प्रतिशत रहेको छ । यस वर्ष हालसम्म पुष्टि भएका ८० बिरामीमा पुरुष ४३ र महिला ३७ जना छन् ।

जापानिज इन्सेफलाइटिसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्ने भन्दै रोगबाट सुरक्षित हुने यो प्रभावकारी उपचार भएको विभागको भनाइ छ । यो रोगबाट सुरक्षित हुन जेइ खोप लगाउनुका साथै लामखुट्टेको टोकाइबाट बच्नुपर्ने विभागले जनाएको छ ।

सरकारले जेइ खोप १२ महिनाको उमेरका बालबालिकालाई लगाउने गर्दछ । यदि छुटेको भएमा पाँच वर्षको उमेरसम्मका बालबालिकालाई जेइ खोप लगाइन्छ ।

परिवार कल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले यो रोगबाट बच्न खोप अनिवार्य रहेको बताउँदै छुटेकालाई थीघ्र खोप लगाउन आग्रह गर्नुभयो ।  रासस