काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित गर्न सत्ता केन्द्रित राजनीतिभन्दा माथि उठेर आन्दोलन र सङ्घर्षमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
राजधानीमा आयोजित ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले सरकार निर्माण र परिवर्तनमा मात्रै केन्द्रित हुँदा कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको टिप्पणी गर्नुभयो ।
उहाँले कम्युनिस्ट शक्तिहरूबीचको सहकार्यको उद्देश्य सरकारमा पुग्नु मात्रै नभई नयाँ आन्दोलनको आधार निर्माण गर्नु हुनुपर्ने बताउनुभयो । उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदाय तथा श्रमजीवी जनताको मुद्दामा आधारित सङ्घर्षमार्फत मात्रै वास्तविक रूपान्तरण सम्भव हुने उहाँको भनाइ थियो ।
अध्यक्ष दाहालले विगतमा माओवादी आन्दोलनमा सहभागी शक्तिहरूबीचको ऐतिहासिक सम्बन्ध र बलिदानलाई स्मरण गर्दै अन्य वामपन्थी दलसँगको सहकार्य र एकताको अनुभवबाट शिक्षा लिनुपर्नेमा जोड दिनुभयो । विशेषगरी नेकपा (एमाले) लगायतका दलसँग विगतमा भएको सहकार्य र एकताबाट सिक्दै विगतका कमजोरी दोहोरिन नदिने गरी रणनीतिक रूपमा अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।
‘सहकार्यको उद्देश्य सरकारमा जानु मात्र होइन, आन्दोलनलाई बलियो बनाउनु पनि हो,’ दाहालले भन्नुभयो, ‘सरकारमा जाने र छोड्ने कुरामा मात्र केन्द्रित हुँदा कम्युनिस्ट आन्दोलन आज रक्षात्मक अवस्थामा पुगेको छ ।’
उहाँले उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदाय र श्रमजीवी जनताको आन्दोलन तथा वर्गसङ्घर्षमा सहकार्य गर्दै रूपान्तरणको आधार तयार गर्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष दाहालले विगतमा एउटै मोर्चामा लडेको अनुभव रहेको उल्लेख गर्दै त्यसबाट शिक्षा लिएर कम्युनिस्ट आन्दोलनलाई नयाँ ढङ्गले अघि बढाउनुपर्ने बताउनुभयो । विगतका कमजोरी नदोहोरिने गरी रणनीतिक रूपमा अघि बढ्न सबै राजनीतिक दलका प्रतिनिधिलाई उहाँले आह्वान गर्नुभयो ।
दाहालले सबै वामपन्थी शक्तिलाई सहकार्यको नयाँ यात्रामा सहभागी हुन र कम्युनिस्ट आन्दोलनलाई नयाँ गति दिन विशेष अपिलसमेत गर्नुभयो ।










