२८ भाद्र २०८३, आईतवार
,
Latest
सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी ‘पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन’ वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस अनुशासन समितिले भन्यो– पार्टी र नेतृत्वको गरिमामा आँच पुर्‍याउने जो कोहीको पनि छानबिन हुन्छ



अ+ अ-

काठमाडौँ।  नेपाली काँग्रेसको केन्द्रिय अनुशासन समितिले पार्टीको विधान र पद्धति विपरित गतिविधि गर्ने नेता तथा कार्यकर्तामाथि कारबाही गर्ने चेतावनी दिएको छ ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको समितिको बैठकका क्रममा संयोजक तारामान गुरुङले पार्टीको मर्यादा र विधि मिच्ने जो कोहीलाई विधानबमोजिम कारबाहीको दायरामा ल्याइने बताउनुभएको हो ।

संयोजक गुरुङकाअनुसार गत आम निर्वाचनका क्रममा पार्टीभित्र भएका अनुशासन उल्लंघन र अन्तर्घातका सम्बन्धमा विभिन्न जिल्लाहरूबाट ७ सय ५४ वटा उजुरी प्राप्त भएका छन् । समितिले हाल ती उजुरीहरूको गम्भीरतापूर्वक छानबिन गरिरहेको र धेरैजसो उजुरीहरू किनारा लाग्ने प्रक्रियामा रहेको उहाँले जानकारी दिनुभयो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै संयोजक गुरुङले पार्टीको १५ औँ महाधिवेशनको प्रक्रिया शुरु हुनुअघि नै सबै उजुरीहरूको फैसला गरिसक्ने समितिको लक्ष्य रहेको बताउनु भयो । समितिले हालैका केही गतिविधिहरूमाथि पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विशेषगरी, डा. शशांक कोईरालाको संयोजकतामा भएको भनिएको एक भेला र त्यहाँ पूर्वसभापति शेरबहादुर देउवालाई ‘सभापति’को नेमप्लेट राखेर गरिएको स्वागतका विषयमा समितिले प्रश्न उठाएको छ । संयोजक गुरुङले गगन थापा नेतृत्वको कार्यसमिति आधिकारिक रहेको अवस्थामा नक्कली लेटरप्याडको प्रयोग र मर्यादा विपरितका कार्यहरू स्वीकार्य नहुने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘वडा अधिवेशनभन्दा पहिले नै अनुशासनका सबै विषयहरू टुंगो लगाएर पार्टीलाई शुद्धीकरण गर्ने पक्षमा हामी छौँ । हाम्रो निर्णय आम कार्यकर्ता र जनताले समेत न्यायोचित ठान्ने खालको हुनेछ । निःवर्तमान सभापतिलाई वर्तमान सभापतिकै हैसियतमा नेमप्लेट राखेर प्रश्तुत गरिनु र नक्कली लेटरप्याड प्रयोग गरिनु विधानसम्मत छैन ।

त्यस्ता भेलामा भएका गतिविधि, नेताहरूले प्रयोग गरेका शब्द र उपस्थितिको पूर्ण अभिलेख हामीले संकलन गरिरहेका छौँ । पार्टी र नेतृत्वको गरिमामा आँच पु¥याउने जो कोहीको पनि छानबिन हुनेछ ।’

अनुशासन समितिले आफूलाई विशेष महाधिवेशन, निर्वाचन आयोग र सर्वोच्च अदालतबाट समेत आधिकारिकता प्राप्त भएको दाबी गर्दै विधानको धारा १७ (२) बमोजिम काम गरिरहेको जनाएको छ ।

पार्टी हितका लागि गरिने भेला र सम्मेलनमा बन्देज नभए पनि पार्टीकै विरुद्धमा हुने गतिविधिमाथि भने कडा निगरानी राखिने समितिले स्पष्ट पारेको छ । –न्युज एजेन्सी नेपाल