२८ भाद्र २०८३, आईतवार
,
Latest
सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी ‘पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन’ वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक सम्पन्न



अ+ अ-

दाङ।  लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को १५औँ बैठक आज सम्पन्न भएको छ ।

लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले रोल्पामा मनसुनजन्य विपद्बाट जनधनको ठूलो क्षति भएकाले प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विपद् प्रभावित क्षेत्रमा खानेपानी, सडक पूर्वाधार तथा सिँचाइका समस्या समाधान गर्न सम्बन्धित मन्त्रालय र मातहतका निकायलाई सक्रिय रूपमा परिचालन गर्न निर्देशन दिनुभयो । उहाँले प्रदेश सरकारले गर्नुपर्ने काममा कुनै कमी हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

रोल्पामा विपद् भएपछि तत्काल खोज तथा उद्धारमा सक्रियताका साथ काम गरिएको भन्दै मुख्यमन्त्री आचार्यले सुरक्षा निकायका साथै जनप्रतिनिधि, राजनीतिक दलका नेता, कार्यकर्ता, समाजिक अभियानकर्तालगायत सबैलाई धन्यवाद दिनुभयो ।

उहाँले मनसुन अझै नसकिएकाले भदौको अन्तिमसम्म ठूलो वर्षा हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर सबै सरकारी निकायलाई पूर्वतयारी अवस्थामा बस्न निर्देशन दिनुभयो । सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी र प्रतिकार्य योजना प्रभावकारी बनाउन पनि उहाँले निर्देशन दिनुभयो ।

रोल्पामा यस वर्षको मनसुनजन्य विपद्का घटनाबाट, थवाङ गाउँपालिकामा  १२ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता र दुई जना घाइते भएका छन् । सुनछहरी गाउँपालिकामा छ जनाको मृत्यु भएको छ । लुङ्ग्री र परिवर्तन गाउँपालिकामा एक-एक जनाको मृत्यु भएको तथ्याङक प्राप्त भएको आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयका सचिव भरतमणि पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार चार स्थानीय तहका ११ परिवार विपद्बाट विस्थापित भएका छन् ।

यसैबीच, आजको बैठकले रोल्पामा सडक र पुल मर्मतका लागि रु ५० लाख रकम निकासा गर्ने निर्णय गरेको छ । रोल्पाको थबाङ गाउँपालिका-५ स्थित उवा खोलामाथिको पुलको एकातर्फी विङवाल (पुलको दुवै छेउमा बनाइने पर्खाल) बाढीले बगाएको, सडकमा ठूलो खाल्डो परेर सडक आवागमन अवरुद्ध भएकाले  पुल र सडकको तत्काल मर्मत तथा संरक्षणका लागि रु ५० लाख निकासा गर्ने निर्णय भएको मन्त्रालयका सचिव पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार सुलिचौर-थबाङ सडकका विभिन्न भागसमेत क्षतिग्रस्त भएकाले तत्काल मर्मत तथा सुरक्षा आवश्यक रहेकाले सडक पूर्वाधार विकास कार्यालय, रोल्पामार्फत उक्त रकम खर्च गरिनेछ ।

बैठकले सुस्तापश्चिमको सुस्ता गाउँपालिका-५ स्थित नारायणी नदीपारिको सुस्ता क्षेत्रमा नदी कटान रोक्न तथा बाढीको जोखिम न्यूनीकरणका लागि रु २५ लाख निकासा गर्ने निर्णय गरेको छ । प्रदेश विपद् व्यवस्थापन कोषबाट जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नवलपरासी-९ बर्दघाट (सुस्तापश्चिम) मार्फत उक्त रकम खर्च गरिनेछ ।

आज प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकमा प्रस्तुत विवरणअनुसार लुम्बिनी प्रदेशमा गत जेठ १८ गतेदेखि भदौ ३ गतेसम्म मनसुनजन्य विपद्का ९१ वटा घटना भएका छन् । ती घटनामा ८५ को मृत्यु, १३ घाइते र दुई जना बेपत्ता भएका मन्त्रालयका सचिव पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार सबैभन्दा बढी पानीमा डुबेर ५८ जनाको मृत्यु भएको छ भने पहिरोमा परेर २०, बाढीका कारण चार र चट्याङमा परेर तीन जनाको मृत्यु भएको छ । रासस