२८ भाद्र २०८३, आईतवार
,
Latest
सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी ‘पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन’ वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव
तपाईं के खोज्दै हुनुहुन्छ ?

बढ्दो सहरीकरणका बीच पर्यटकको रोजाइमा विराट पोखरी



अ+ अ-

झापा। बढ्दो सहरीकरण र व्यस्त जीवनशैलीका बीच शान्त वातावरणको खोजी गर्नेहरूको रोजाइ बन्दै गएको छ झापाको बिर्तामोड नगरपालिका–३ स्थित ऐतिहासिक तथा धार्मिकस्थल विराट पोखरी ।

बिर्तामोड बजारबाट करिब चार किलोमिटर दक्षिणमा रहेको यो पोखरी क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटक, विद्यार्थी तथा धार्मिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ । शनिबार र सार्वजनिक बिदाका दिन यहाँ घुम्न आउनेको उल्लेखनीय भीड लाग्ने गरेको स्थानीय बताउँछन् ।

स्थानीय सोमनाथ अधिकारीका अनुसार फुर्सदको समय बिताउनमात्र होइन, परिवारसहित घुम्न र प्राकृतिक वातावरणको आनन्द लिन पनि आगन्तुक विराट पोखरी पुग्ने गरेका छन् । “शनिबार र आइतबार त पोखरी परिसर भरिभराउ हुन्छ । स्थानीयदेखि बाहिरी जिल्लाका आगन्तुकसम्म यहाँ शान्त वातावरण खोज्दै आउँछन्”, अधिकारीले भन्नुभयो ।

अधिकारीका अनुसार बिर्तामोडस्थित मेची आँखा अस्पतालमा उपचारका लागि भारतका सिक्किम, आसामलगायत क्षेत्रबाट आउने बिरामी र उनीहरूका आफन्त पनि उपचारको फुर्सदमा विराट पोखरी घुम्न पुग्ने गरेका छन् । यसले धार्मिक र प्राकृतिक पर्यटनसँगै स्वास्थ्य पर्यटनलाई समेत जोड्ने सम्भावना देखिएको छ ।

पोखरी संरक्षण समिति ‘विराट सरोवर विकास समिति’का अध्यक्ष इन्द्र प्रसाईँका अनुसार बिर्तामोडको बढ्दो जनघनत्व र सहरी विस्तारले मानिसलाई हरियाली र शान्त वातावरणको आवश्यकता झन् बढाएको छ । उहाँले भन्नुभयो, “सहरको कोलाहलबाट केही घण्टा टाढा बसेर मन शान्त बनाउने ठाउँका रूपमा उक्त क्षेत्र स्थापित हुँदै गएको छ । यहाँ आएपछि मानिस तनावमुक्त भएको अनुभूति गर्छन् ।”

उहाँका अनुसार पोखरी परिसरमा बालबालिकाका लागि खेल संरचना, विद्यालयका शैक्षिक भ्रमण, विभिन्न सङ्घसंस्थाका अवलोकन कार्यक्रम तथा जल सफारी (बोटिङ) सञ्चालन भइरहेका छन् । “यसको प्रचारप्रसार र संरक्षण गर्नु सबैको साझा दायित्व छ”, उहाँले जोड दिनुभयो ।

विराट पोखरी केवल प्राकृतिक सौन्दर्यको स्थलमात्र होइन, पौराणिक इतिहाससँग जोडिएको सांस्कृतिक धरोहर पनि हो । स्थानीय जनविश्वासअनुसार महाभारतकालमा राजा विराटले आफ्ना गाईवस्तुलाई पानी खुवाउन यो पोखरी खन्न लगाएका थिए । यही क्षेत्रमा पाण्डवले अज्ञातबास बिताएको मान्यता पनि रहँदै आएको छ ।

पोखरी परिसरमा रहेको प्राचीन ग्रामकाली थान र शिवालय मन्दिरका कारण धार्मिक महत्व पनि उत्तिकै बलियो छ । प्रत्येक वर्ष बालाचतुर्दशीमा सतबीज छर्न र पूजाआजा गर्न हजारौँ भक्तजन यहाँ पुग्ने गर्छन् ।

विसं २०५१ देखि विराट सरोवर विकास समितिले संरक्षणको काम गर्दै आए पनि पर्याप्त बजेट र दीर्घकालीन गुरुयोजनाको अभावले अपेक्षित विकास हुन नसकेको अध्यक्ष प्रसाईँ बताउनुहुन्छ । उहाँका अनुसार आगामी दिनमा ऐतिहासिक, पुरातात्विक र जैविक महत्व बोकेको यस सम्पदाको भौतिक विकास, संरक्षण र प्रवर्द्धनका लागि समितिले गुरुयोजना बनाएर काम गरिरहेको छ । रासस