तनहुँ। तनहुँमा खानेपानीको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएका विभिन्न कार्यक्रममार्फत पछिल्लो एक वर्षमा तीन हजार ५४६ नयाँ धारा जडान गरिएको छ ।
आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेश सरकारको कार्यक्रम तथा सङ्घीय सरकारका विभिन्न अनुदान कार्यक्रममार्फत नयाँ धारा जडान, खानेपानी प्रशोधन तथा आधारभूत खानेपानी सुविधा विस्तार गरिएको हो ।
जिल्लास्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इन्जिनियर अनिल सुवेदीका अनुसार आव २०८२/८३ मा गण्डकी प्रदेश सरकारको कार्यक्रमअन्तर्गत तीन हजार २२७ घरमा नयाँ धारा जडान गरिएको छ । यसैगरी, सङ्घीय सरकारको विशेष अनुदान कार्यक्रममार्फत ३१९ घरमा नयाँ धारा जडान गरिएको उहाँले जानकारी दिनुभयो ।
सुवेदीका अनुसार प्रदेश सरकारमार्फत ५५५ घरमा खानेपानी प्रशोधनसम्बन्धी काम गरिएको छ । प्रदेश सरकारको कार्यक्रमअन्तर्गत हालसम्म तनहुँका २० हजार ८६७ घरमा धारा जडान भइसकेको जनाउँदै उहाँले एक लाख चार हजार ८५७ घरमा आधारभूत खानेपानी सुविधा पुगेको बताउनुभयो । प्रदेश सरकारको कार्यक्रमबाट हालसम्म तीन हजार ४२९ घरमा खानेपानी प्रशोधनसम्बन्धी काम भएको छ ।
इन्जिनियर सुवेदीका अनुसार सङ्घीय सरकारको ससर्त अनुदान कार्यक्रममार्फत पनि तनहुँमा खानेपानीको पहुँच विस्तार गरिएको छ । यस कार्यक्रमअन्तर्गत हालसम्म २९ हजार ९५९ घरमा आधारभूत खानेपानी सुविधा पुगेको छ । त्यसैगरी, पाँच हजार ६३१ घरमा ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत खानेपानीको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।
खानेपानीको गुणस्तर सुधार तथा शुद्ध पानी उपलब्ध गराउने उद्देश्यले एक हजार २७८ घरमा खानेपानी प्रशोधनसम्बन्धी काम गरिएको सुवेदीको भनाइ छ । ‘एक घर, एक धारा’ कार्यक्रमले सामूहिक तथा सार्वजनिक धारामा निर्भर परिवारलाई आफ्नै घरमा नियमित खानेपानीको पहुँच पुर्याउन सहयोग गर्नाका साथै सरसफाइ र स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पारेको उहाँले बताउनुभयो ।
सङ्घीय सरकारको विशेष अनुदान कार्यक्रमबाट जिल्लामा खानेपानीका विभिन्न आयोजना सञ्चालन भएका छन् । यस कार्यक्रमअन्तर्गत हालसम्म १४ हजार ८९० घरमा आधारभूत खानेपानी सुविधा पुगेको इन्जिनियर सुवेदीले जानकारी दिनुभयो ।
त्यस्तै, तीन हजार ५६१ घरमा एक घर, एक धाराकार्यक्रम कार्यान्वयन भएको छ । छ सय ६३ घरमा खानेपानी प्रशोधनसम्बन्धी पूर्वाधार निर्माण तथा व्यवस्था गरिएको कार्यालयले जनाएको छ । विशेषगरी खानेपानीको सहज पहुँच नपुगेका तथा भौगोलिक रूपमा विकट क्षेत्रका बस्तीलाई लक्षित गरी यस्ता आयोजना सञ्चालन हुँदै आएका छन् । नयाँ खानेपानी आयोजना निर्माणसँगै पुराना आयोजनाको सुधार र विस्तारलाई समेत प्राथमिकता दिइएको कार्यालयले जनाएको छ ।
तनहुँमा खानेपानी विस्तारका लागि प्रदेश सरकारका साथै सङ्घीय सरकारका ससर्त तथा विशेष अनुदान कार्यक्रम सञ्चालन हुँदै आएका छन् । यस्ता कार्यक्रममार्फत नयाँ आयोजना निर्माण, पुराना आयोजनाको विस्तार, धारा जडान तथा प्रशोधन केन्द्र निर्माण प्रक्रिया अघि बढाइएको छ ।
कार्यालयका अनुसार खानेपानी सेवा विस्तारका क्रममा स्थानीय तहसँग समन्वय गर्दै आइएको छ । स्थानीय आवश्यकता, खानेपानीको स्रोत, उपभोक्ताको सङ्ख्या तथा भौगोलिक अवस्थाका आधारमा आयोजना छनोट तथा कार्यान्वयन गर्ने गरिएको सुवेदीले बताउनुभयो ।
कार्यालयले नयाँ खानेपानी आयोजनाको माग, सर्वेक्षण, डिजाइन, लगत तयार, आयोजना निर्माण तथा कार्यान्वयन, आवश्यक सामग्री निकासा, प्राविधिक सहयोग, अनुगमन, निरीक्षण, मूल्याङ्कन तथा भुक्तानीलगायत काम गर्दै आएको छ । रासस











