४ भाद्र २०८३, बिहीबार
,
Latest
राप्रपा विवादकै बीच किरण थापा मगरले लिए मुख्यमन्त्रीको शपथ बागमतीको मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्त जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज ‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ शिक्षक–कर्मचारीको पारिश्रमिक वृद्धिः चार अर्ब ६८ करोड चाहिने सार्वजनिक सेवा प्रसारण संस्थालाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण र पदबहाली गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न सक्दैन : गगन थापा संविधान संशोधनमा दुईतिहाइ बहुमत मात्र पर्याप्त हुँदैन : रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट कार्यान्वयन र कानूनी सुधारमा सरकारको सक्रियता, चालु आ.व.भित्र एक खर्ब राजश्व संकलन



अ+ अ-

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार बजेट कार्यान्वयनसँगै अर्थतन्त्रको संरचनागत सुधारलाई उच्च प्राथमिकताका साथ अघि बढाइरहेको बताउनुभएको छ ।

बिहीबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले लगानीमैत्री वातावरण निर्माणका लागि विभिन्न कानुन संशोधन तथा खारेजीको प्रक्रिया अघि बढिसकेको जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा करिब २७ वटा ऐन निर्माण तथा संशोधन गर्ने लक्ष्य राखिएको छ भने असान्दर्भिक १५ वटा ऐन खारेज गर्ने तयारी भइरहेको छ ।

अन्तर्राष्ट्रिय वित्तीय संस्थामा नियुक्त हुने पदाधिकारीको योग्यता निर्धारण गर्दा मापदण्डलाई थप फराकिलो र वस्तुगत बनाउनुपर्नेमा अर्थमन्त्री वाग्लेले जोड दिनुभयो । विश्व बैंक र एसियाली विकास बैंकसँगै खाद्य तथा कृषि संगठन (एफएओ) लगायतका अन्तर्राष्ट्रिय संस्थामा आर्थिक तथा वित्तीय क्षेत्रमा कार्यकारी भूमिका निर्वाह गरेका विज्ञलाई समेत अवसर दिन सकिने उहाँको भनाइ छ ।

‘लब्धप्रतिष्ठित’ जस्ता अमूर्त शब्दावली प्रयोग गर्दा राजनीतिक स्वार्थअनुकूल व्याख्या हुन सक्ने भन्दै उहाँले नियुक्तिका लागि स्पष्ट, मापनयोग्य र वस्तुगत मापदण्ड आवश्यक रहेको बताउनुभयो । औपचारिक पीएचडी नभए पनि लामो अनुभव र विशेषज्ञता हासिल गरेका व्यक्तिलाई समेत समेट्न सकिने गरी कानुनी व्यवस्था लचिलो बनाउनुपर्ने उहाँको धारणा थियो ।

बजेट कार्यान्वयनका विषयमा प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौता भइसकेको जानकारी दिँदै अर्थमन्त्री वाग्लेले बजेटमा समावेश करिब ४ सय २१ वटा कार्यक्रम तथा गतिविधि कार्यान्वयनका लागि अर्थ मन्त्रालयले सम्बन्धित मन्त्रालयसँग समन्वय र सहजीकरण गरिरहेको बताउनुभयो ।

उहाँले निजी लगानी र पूर्वाधार विकासलाई सहज बनाउन नयाँ कानुनी व्यवस्था ल्याउने काम भइरहेको जानकारी दिनुभयो । डिजिटल अर्थतन्त्र तथा आधुनिक वित्तीय प्रणालीलाई प्रवर्द्धन गर्न ‘पियर–टु–पियर’ लेण्डिङलाई कानुनी मान्यता दिने तयारी भइरहेको उहाँले बताउनुभयो ।

त्यस्तै, पूर्वाधार क्षेत्रमा निजी वित्त परिचालनका लागि ‘अल्टरनेटिभ डेभलपमेन्ट फाइनान्स’ सम्बन्धी कानुन कार्यान्वयनमा ल्याउने तयारी भइरहेको र आवश्यक संरचनागत नियुक्ति शीघ्र गरिने उहाँको भनाइ छ ।

राजस्व संकलनमा उत्साहजनक प्रगति भइरहेको दाबी गर्दै अर्थमन्त्री वाग्लेले आर्थिक वर्ष सुरु भएयता एक खर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन भइसकेको जानकारी दिनुभयो । यद्यपि, चालु आर्थिक वर्षका लागि राखिएको १ हजार ५ सय ८० अर्ब रुपैयाँको राजस्व लक्ष्य पूरा गर्न आगामी महिनामा संकलनको गति अझ बढाउनुपर्ने उहाँले स्वीकार गर्नुभयो ।

गत आर्थिक वर्षमा वास्तविक राजस्व संकलन करिब १ हजार २ सय ४९ अर्ब रुपैयाँ रहेको उल्लेख गर्दै उहाँले यस वर्षको लक्ष्य महत्वाकांक्षी रहेको बताउनुभयो । राजस्व लक्ष्य पूरा गर्न चुहावट नियन्त्रण, करको दायरा विस्तार, संस्थागत सुदृढीकरण र अर्थतन्त्रको औपचारिकीकरणमा सरकारले विशेष जोड दिएको उहाँले बताउनुभयो ।

अर्थतन्त्रलाई औपचारिक बनाउन सरकारले अघि सारेको ‘लटरी स्किम’ अर्थात् बिजक जारी गर्ने प्रोत्साहन कार्यक्रमले राजस्व अभिवृद्धि र चुहावट नियन्त्रणमा सहयोग पुग्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

राजस्व संकलन र भन्सार व्यवस्थापनलाई प्रभावकारी बनाउन अर्थ समितिले उपसमिति गठन गरी अनुगमन तथा निगरानी बढाउनुपर्नेमा समेत अर्थमन्त्री वाग्लेले जोड दिनुभयो । मन्त्रालयलाई आवश्यक निर्देशन र मार्गदर्शन उपलब्ध गराउन समितिसँग उहाँले आग्रह गर्नुभयो ।

विगतका वर्षमा बजेट कार्यान्वयनमा देखिएको ढिलासुस्ती र आर्थिक वर्षको अन्तिममा हुने हतारो अन्त्य गर्न सरकार सचेत रहेको बताउँदै उहाँले बजेट कार्यान्वयनलाई समयमै प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।