४ भाद्र २०८३, बिहीबार
,
Latest
सार्वजनिक सेवा प्रसारण संस्थालाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण र पदबहाली गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न सक्दैन : गगन थापा संविधान संशोधनमा दुईतिहाइ बहुमत मात्र पर्याप्त हुँदैन : रवि लामिछाने अख्तियारको त्रासले कर्मचारीतन्त्रमा ‘डिसिजन प्यारालाइसिस’ : मन्त्री गौतम बजेट कार्यान्वयन र कानूनी सुधारमा सरकारको सक्रियता, चालु आ.व.भित्र एक खर्ब राजश्व संकलन राप्रपाले गर्‍यो बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई पार्टीबाट निष्काशन हिमालयन उद्धार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गर्ने नेप्से परिसूचक सात अङ्कले बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीको विकासका लागि साझा प्रतिबद्धता आवश्यक : प्रदेश प्रमुख जोशी



अ+ अ-

सुर्खेत । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको विकास र समृद्धिका लागि सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको बताउनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतले बिहीबार वीरेन्द्रनगरमा आयोजना गरेको ‘प्रदेश स्थापना तथा सहिद दिवस २०८३’ को मूल समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख जोशीले सबैको साझा सोच, प्रयास र प्रतिबद्धताबाट मात्रै कर्णालीको समृद्धि सम्भव हुने बताउनुभयो ।

उहाँले कर्णालीको उन्नतिका लागि प्रदेश सरकारले सुशासन, जवाफदेहिता र पारदर्शितालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । भ्रष्टाचाररहित र शून्य सहनशीलताको प्रदेश निर्माणका लागि सरकारले आफ्नो क्षमता प्रदर्शन गर्नुपर्ने उहाँको भनाइ थियो ।

“भ्रष्टाचाररहित र शून्य सहनशीलताको प्रदेश निर्माणका लागि सरकारले आफ्नो सक्षमता देखाउनुपर्दछ,” प्रदेश प्रमुख जोशीले भन्नुभयो, “कर्णाली प्रदेशको विकास, समृद्धि र उन्नतिका लागि सबै दल जिम्मेवार हुनुपर्छ ।”

मनसुनजन्य विपद्को जोखिम अझै कायमै रहेको उल्लेख गर्दै उहाँले विपद् प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि सर्वपक्षीय संयन्त्र निर्माण गरी जाजरकोटका पीडितको घरदैलोमा पुग्न सरकारलाई आग्रह गर्नुभयो । सरकार जनताको साथमा रहेको अनुभूति दिलाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।

प्रचुर सम्भावना बोकेको कर्णालीलाई गरिबीको दृष्टिकोणबाट मात्रै हेर्नु कमजोरी भएको प्रदेश प्रमुख जोशीले बताउनुभयो । दैलेखमा रहेको ग्यासको सम्भावनाले मुलुककै विकास र समृद्धिमा दीर्घकालीन योगदान पुर्‍याउन सक्ने उल्लेख गर्दै उहाँले त्यससँग सम्बन्धित महत्वपूर्ण आयोजना दुई वर्षदेखि रोकिएको विषय दुःखद् भएको टिप्पणी गर्नुभयो ।

मुख्यमन्त्री मङ्गलबहादुर शाहीले कर्णालीका जनताको त्याग, समर्पण र बलिदानबाट स्थापित प्रदेशको विकासले सिङ्गो मुलुकको रूपान्तरणमा योगदान पुर्‍याउने बताउनुभयो । कर्णाली प्रदेश स्थापनाका क्रममा जीवन उत्सर्ग गर्ने सहिदप्रति सम्मान व्यक्त गर्दै उहाँले मुलुक सङ्घीयतामा प्रवेश गर्दा कर्णालीले आफ्नै बलबर्कतमा पहिचान र अस्तित्व कायम गरेको दाबी गर्नुभयो ।

प्रदेशसभाका सभामुख नन्दा गुरुङले नेपालको संविधान, सङ्घीयता र समावेशिताले कर्णालीजस्ता उत्पीडित तथा उपेक्षित भूगोल र क्षेत्रलाई न्याय गरेको बताउनुभयो । कर्णालीका जनताले जीवन बलिदान दिएर स्थापना गरेको प्रदेशको विकास तथा नागरिकको जीवनस्तर उकास्न सङ्घ सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो ।

निवर्तमान मुख्यमन्त्री यामलाल कँडेलले मुलुकको सबैभन्दा ठूलो भूगोल ओगटेको कर्णालीको विकास र समृद्धिबिना मुलुकको समृद्धि सम्भव नहुने बताउनुभयो । कर्णालीको विकासका लागि प्रदेश सरकार, राजनीतिक दल, सरोकारवाला निकाय तथा सङ्घ सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो ।

कर्णालीमा उपलब्ध स्रोत तथा साधनको भरपुर उपयोग गर्ने सामर्थ्य सरकारले विकास गर्नुपर्नेमा जोड दिँदै उहाँले प्रदेशको आर्थिक तथा सामाजिक रूपान्तरणका लागि दीर्घकालीन योजनासहित अघि बढ्नुपर्ने बताउनुभयो ।

समारोहमा सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले स्वागत मन्तव्य व्यक्त गर्दै सहिदले देखाएको मार्गलाई आत्मसात् गर्दै प्रदेश सरकार अघि बढ्ने बताउनुभयो ।

कार्यक्रममा आर्थिक मामिलामन्त्री टेकराज पछाई, जलस्रोतमन्त्री कलबहादुर हमाल, प्रदेशसभा सदस्य, न्यायाधीश, प्रदेश सरकारका प्रमुख सचिव, सुरक्षा निकायका प्रमुख, सहिद परिवार, कर्मचारी तथा सञ्चारकर्मी र कलाकर्मीको सहभागिता रहेको थियो ।