२ भाद्र २०८३, मंगलवार
,
Latest
मकवानपुरमा स्कारपियो दुर्घटना : न्यायाधीश डाँगीसहित चार जनालाई काठमाडौं लगियो सबै सरकारी कर्मचारीलाई १५/१५ दिनमै तलब निकासा गर्न महालेखाको परिपत्र इलामकाे माईखोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयलाई आवतजावत सहज ई–कमर्स व्यवसाय सञ्चालन गर्ने सबै व्यवसायी अनिवार्य सूचीकृत हुनुपर्ने इण्डोनेसियामा शक्तिशाली भूकम्पः मृतकको संख्या ५४ पुग्यो भारतको बिहारस्थित मन्दिरमा भागदौडः ७ जनाको मृत्यु जुरिखेतमा ‘स्कारपियो’ दुर्घटनामा छ जना घाइते काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी-पुनजीर्वित कार्यक्रम’ सञ्चालन होर्मुज जलडमरूमध्यमा नयाँ समुन्द्री मार्गका लागि इरान र ओमानबीच सहमति फिलिपिन्समा भीषण वर्षा र बाढीको प्रकोपः मनिलासहित १२ प्रान्तमा विद्यालय र सरकारी कार्यालय बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेवाग्राहीको घुइँचो व्यवस्थापन गर्न ‘स्मार्ट टोकन’ प्रणाली



अ+ अ-

तनहुँ। जिल्ला प्रशासन कार्यालय तनहुँले सेवाग्राहीको घुइँचो व्यवस्थापन तथा सेवा प्रवाहलाई थप सहज र व्यवस्थित बनाउन स्क्रिनसहितको नयाँ टोकन प्रणाली सञ्चालनमा ल्याएको छ ।

कार्यालयले सोमबारदेखि नयाँ प्रणालीमार्फत राष्ट्रिय परिचयपत्र, राहदानी, नागरिकता तथा नागरिकताको प्रतिलिपिलगायतका सेवा प्रवाह सुरु गरेको हो ।

नयाँ टोकन प्रणाली लागू भएसँगै सेवा लिन आउने सेवाग्राहीले घण्टौँसम्म कार्यालयको लाइनमा बसेर आफ्नो पालो कुर्नुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ ।

सेवाग्राहीले टोकन लिएपछि आफ्नो पालो नआएसम्म कार्यालय परिसरमै लामो समय बसिरहनु नपर्ने गरी प्रणाली विकास गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले नयाँ प्रणालीको मुख्य उद्देश्य सेवाग्राहीलाई सहज रूपमा सेवा उपलब्ध गराउनुका साथै कार्यालयमा हुने भीडभाड व्यवस्थापन गर्नु भएको बताउनुभयो ।

“सेवा लिन आउने सेवाग्राहीले टोकन लिएपछि आफ्नो पालो नआएसम्म घण्टौँ कार्यालयमै बसेर कुर्नुपर्ने अवस्था नहोस् भनेर नयाँ प्रणाली सञ्चालनमा ल्याएका हौँ,” उहाँले भन्नुभयो, “टोकन लिएपछि ‘क्युआर कोड स्क्यान’ गरेर मोबाइलबाटै आफ्नो पालोको अवस्था हेर्न सकिने व्यवस्था गरिएको छ ।”

नयाँ टोकनमा क्युआर कोड राखिएको छ । सेवाग्राहीले टोकनमा रहेको क्युआर कोड आफ्नो मोबाइलबाट स्क्यान गरेपछि आफ्नो टोकन नम्बरको अवस्था हेर्न सक्नेछन् ।

मोबाइलबाटै आफ्नो टोकन नम्बरभन्दा अगाडि कति जनाको पालो गइसकेको छ, अहिले कुन नम्बरमा सेवा दिइँदैछ र आफ्नो पालो नजिक आइपुगेको छ कि छैन भन्ने जानकारी लिन सकिने व्यवस्था गरिएको छ ।

यसले सेवाग्राहीलाई आफ्नो पालोको अवस्थाबारे जानकारी लिन पटक–पटक सेवा कक्षमा पुग्नुपर्ने अवस्थासमेत हटाउने कार्यालयको अपेक्षा छ । प्रजिअ तिवारीका अनुसार सेवाग्राहीले टोकन लिएपछि आफ्नो पालोअनुसार समय व्यवस्थापन गर्न सक्नेछन् । नजिकै घर भएका सेवाग्राही आवश्यक परे घरमै गएर बस्न सक्नेछन् भने बजार वा अन्य क्षेत्रमा रहेका सेवाग्राहीले समेत मोबाइलबाट आफ्नो पालो हेर्दै अन्य काम गर्न सक्नेछन्।

“कसैको घर नजिकै छ भने टोकन लिएर घरमै बसेर आफ्नो पालो हेर्न सक्नुहुन्छ । बजारतिर जानुपर्ने भए पनि आफ्नो मोबाइलबाट टोकनको अवस्था हेर्न सकिने भएकाले खाजा खान वा अन्य काम गर्न जान सकिन्छ,” तिवारीले भन्नुभयो ।

जिल्ला प्रशासन कार्यालयले हाल राष्ट्रिय परिचयपत्र, राहदानी, नागरिकता र नागरिकताको प्रतिलिपि सेवामा टोकन प्रणाली लागू गरेको छ । यी सेवाका लागि दैनिक ठूलो सङ्ख्यामा सेवाग्राही कार्यालयमा आउने भएकाले सेवा लिन आउने नागरिकको भीड व्यवस्थापन गर्न टोकन प्रणाली प्रभावकारी हुने कार्यालयको विश्वास छ ।

यसअघि आफ्नो पालो कुर्न सेवाग्राही सेवा कक्ष तथा कार्यालय परिसरमा लामो समयसम्म बस्नुपर्ने अवस्था थियो । नयाँ व्यवस्थाले टोकन लिएर आफ्नो पालोको अवस्था मोबाइलबाट हेर्न सकिने भएकाले सेवाग्राहीको समय बचत हुनुका साथै कार्यालयमा हुने भीडभाड पनि घट्ने कार्यालयको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाहलाई थप सहज, पारदर्शी र प्रविधिमैत्री बनाउने क्रममा टोकन प्रणाली सञ्चालनमा ल्याएको जनाएको छ ।
रासस