१ भाद्र २०८३, सोमबार
,
Latest
मानव बेचबिखन नियन्त्रणका लागि तीन तहकै सरकारलाई सक्रिय बनाउनुपर्छः सांसदहरु राधिका हमालको नयाँ तीज गीत ‘जिन्दगी मालामालै छ’ सार्वजनिक मनसुनको बाँकी अवधिमा विपद्को जोखिम उच्च : प्राधिकरण नेप्से परिसूचक सामान्य अङ्कले घट्यो काठमाडौँ उपत्यकामा तार व्यवस्थापनमा प्रगति, फिनिसिङ र ट्यागिङ अझै चुनौती प्रधानमन्त्री शाहसँग मुख्यमन्त्री पाण्डेको भेटवार्ता, गण्डकीका विभिन्न विषयमा ध्यानाकर्षण देश विदेश डाक्टर पठाउँदै जुम्ला लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत, पक्षमा ४५ सांसद प्रतिनिधिसभाः दुई सांसदले उठाउनुभएको प्रश्नको जवाफ दिन सभामुखद्वारा सरकारलाई निर्देशन चितवनमा बङ्गलादेशी फोटो पत्रकार टोलीलाई स्वागत
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ उपत्यकामा तार व्यवस्थापनमा प्रगति, फिनिसिङ र ट्यागिङ अझै चुनौती



अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकाका प्रमुख शहरी क्षेत्रमा सडक किनारका पोलमा अव्यवस्थित रूपमा गुजुल्टिएका, चुँडिएका तथा प्रयोगविहीन तार व्यवस्थापन गर्ने अभियानले गति लिए पनि काम अझै पूर्ण हुन सकेको छैन ।

नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो अनुगमन प्रतिवेदनअनुसार अधिकांश प्राथमिकता प्राप्त रुटमा तार बन्डलिङको काम सम्पन्न भएको छ । तर, खुला तार हटाउने, केबल लूप व्यवस्थित गर्ने, सेवा प्रदायकको पहिचान खुल्ने ट्याग राख्ने तथा अन्तिम फिनिसिङ गर्ने काममा भने कमजोरी देखिएको छ ।

अव्यवस्थित तारका कारण शहरी सौन्दर्यमा असर पर्नुका साथै आगलागी, दुर्घटना र सडक सुरक्षामा समेत जोखिम बढेको भन्दै सरकारले तार व्यवस्थापन अभियान अघि बढाएको हो । पहिलो चरणमा त्रिपुरेश्वर–कलंकी–कालीमाटी, जडीबुटी–पेप्सीकोला, त्रिपुरेश्वर–जमल–लाजिम्पाट, सामाखुसी–टाउन प्लानिङ–गोंगबु, कीर्तिपुर तथा पुरानो बानेश्वर–चाबहिल–गौशाला क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।

अभियानलाई प्रभावकारी बनाउन प्राधिकरणले जेठ २९ गते विशेष उपसमिति गठन गरेको थियो । उपसमितिमा नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण, काठमाडौँ महानगरपालिका, महानगरीय ट्राफिक प्रहरी कार्यालय, इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान), नेपाल टेलिकम र एनसेल आजियाटाका प्रतिनिधि सहभागी छन् ।

प्राधिकरणले सेवा प्रदायकलाई आफ्ना तारमा पहिचान खुल्ने ट्याग अनिवार्य रूपमा राख्न निर्देशन दिँदै प्रयोगविहीन तार हटाउने र बाँकी तारमा ट्याग लगाउने कामका लागि विभिन्न समयसीमा तोकेको थियो । प्रारम्भिक चरणमा अपेक्षित प्रगति नभएपछि प्रत्येक रुटका लागि ‘लिड अपरेटर’ र फोकल पर्सन तोकेर नियमित अनुगमन सुरु गरिएको थियो ।

त्यसक्रममा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा असार ३१ र साउन १५ गते उच्चस्तरीय समीक्षा बैठकसमेत बसेको थियो । बैठकपछि सेवा प्रदायकबीच जिम्मेवारी पुनः बाँडफाँट गरी परिमार्जित कार्ययोजना लागू गरिएको थियो ।

प्राधिकरणका अनुसार जडीबुटी क्षेत्रमा तार बन्डलिङको काम सम्पन्न भए पनि अन्तिम फिनिसिङ कमजोर देखिएको छ । सेवा प्रदायकको पहिचान खुल्ने ट्याग निकै कम स्थानमा राखिएको छ भने विभिन्न ठाउँमा ‘केबल लूप’ समेत देखिएका छन् ।

बानेश्वर क्षेत्रमा भने तार व्यवस्थापनको अवस्था तुलनात्मक रूपमा सन्तोषजनक रहेको प्राधिकरणले जनाएको छ । अधिकांश खुला तथा लत्रिएका तार हटाइए पनि केही स्थानमा ट्याग छुटेका वा च्यातिएका छन् ।

सामाखुसी क्षेत्रमा बन्डलिङ गरिए पनि तारको दृश्य अझै पूर्ण रूपमा व्यवस्थित देखिएको छैन । ट्यागिङमा एकरूपता नदेखिनुका साथै लूप व्यवस्थापन र अन्तिम फिनिसिङमा सुधार आवश्यक रहेको अनुगमनले देखाएको छ । त्यस्तै, लाजिम्पाट–त्रिपुरेश्वर रुटमा अधिकांश तार बन्डलिङ भए पनि केही खुला तार बाँकी छन् भने सबै क्षेत्रमा ट्यागिङ पूरा भएको छैन ।

त्रिपुरेश्वर–कलंकी रुटमा भने तुलनात्मक रूपमा राम्रो प्रगति भएको छ । अधिकांश क्षेत्रमा बन्डलिङ सम्पन्न हुनुका साथै ट्यागिङसमेत अन्य रुटको तुलनामा व्यवस्थित रहेको प्राधिकरणले जनाएको छ । यद्यपि, केही स्थानमा बन्डलभन्दा बाहिर खुला तार अझै बाँकी छन् । कीर्तिपुर क्षेत्रमा पनि अधिकांश तार बन्डलिङ गरिए पनि खुला तार र सीमित ट्यागिङका कारण काम पूर्ण हुन सकेको छैन ।

प्राधिकरणको अनुगमनमा सबै रुटमा देखिएको साझा समस्या ‘केबल लूप’ रहेको छ । सेवा विस्तार वा मर्मतका लागि अतिरिक्त केबल राखिए पनि त्यसलाई व्यवस्थित नगर्दा बन्डलिङपछि पनि पोलको दृश्य अव्यवस्थित देखिने गरेको छ । प्राधिकरणले लूप राख्ने तथा व्यवस्थापन गर्ने स्पष्ट मापदण्ड आवश्यक रहेको जनाएको छ ।

त्यस्तै, ट्यागिङलाई पनि तार व्यवस्थापन अभियानको प्रमुख कमजोरीका रूपमा औंल्याइएको छ । सबै तारमा सेवा प्रदायकको पहिचान खुल्ने ट्याग नहुँदा भविष्यमा बिग्रिएका वा प्रयोगविहीन तारको स्वामित्व पहिचान गर्न कठिन हुने प्राधिकरणको भनाइ छ ।

प्राधिकरणले अब तार बन्डलिङलाई मात्र प्रगतिको आधार नमान्ने जनाएको छ । प्रत्येक रुटको अन्तिम निरीक्षण गरी खुला तार हटाउने, केबल लूप व्यवस्थित गर्ने, सबै तारमा ट्यागिङ पूरा गर्ने र फिनिसिङ सुधार्नुपर्नेमा जोड दिइएको छ ।

दीर्घकालीन रूपमा समस्या दोहोरिन नदिन साझा पूर्वाधार तथा भूमिगत युटिलिटी डक्टको व्यवस्था गर्नुपर्ने प्राधिकरणको सुझाव छ । नयाँ तार थपिँदै जाने तर पुराना तथा प्रयोगविहीन तार समयमै नहटाउने प्रवृत्ति अन्त्य गर्दै नियमित अनुगमन, स्पष्ट जिम्मेवारी र दीर्घकालीन व्यवस्थापन प्रणाली विकास गर्नुपर्ने आवश्यकता देखिएको छ ।