३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

देश विदेश डाक्टर पठाउँदै जुम्ला

देश विदेश डाक्टर पठाउँदै जुम्ला
अ+ अ-

कर्णाली, १ भदौः कर्णाली भन्ने बित्तिकै धेरैको दिमागमा विकट, अभाव, गरिबी, भोकमरी, अशिक्षा र रोगले ग्रसित क्षेत्र भन्ने मात्र आउँछ । कठिन, असहज र दुःख भोग्ने थलोको रुपमा बुझाउँछ । आज पनि कर्णालीप्रति हेर्ने अधिकांशको नजर सकारात्मक देखिदैन । त्यसमा अझ माथिल्लो कर्णाली भनेपछि धेरैले नाक खुम्च्याउने गर्दछन् । यद्यपि, कर्णालीको विगत अपेक्षा गरेभन्दा बढी फेरिएको छ ।

विगतमा जिल्ला अस्पताल हुँदा एकजना डाक्टर हुन्थे, जो धेरै समय जुम्लामा बस्दैनथे । स्नातक तहको सिकारु एक जना डाक्टर पाउँदा पनि जुम्लाले हिमाली जिल्लामा आफूलाई भाग्यमानी ठान्थ्यो । त्यही सिकारु डाक्टर पाउन तड्पिने जुम्लाले भने अहिले १० जनाभन्दा बढी विशेषज्ञ डाक्टर उत्पादन गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पठाइसकेको छ । एउटा डाक्टर पाउन केन्द्रलाई गुहार्दा थाक्ने जुम्लाले विशेषज्ञ डाक्टर उत्पादन गरेको छ भन्ने कुराको विश्वास धेरैलाई नलाग्न सक्दछ ।

स्वास्थ्य क्षेत्रमा जुम्लाले गरेको अभूतपूर्व सफलता पश्चिम नेपालको एउटा कोसेढुङ्गा नै सावित हुन्छ । पछिल्लो समय यसले देश तथा विदेश सेवा दिने डाक्टरहरु उत्पादन गरिसकेको छ तर यहाँ डाक्टरी पढाई होला भनेर यस अघि कोही कसैले सोचेकै थिएन किनकी यसलाई विकट भूगोल, पूर्वाधारविहीन क्षेत्र, अशिक्षा, स्रोतको अभाव, गरिबी र चेतना तथा आर्थिक दृष्टिले कमजोर ठानिन्थ्यो ।

जिल्ला अस्पतालबाट स्तरोन्नति भई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका रुपमा स्थापना भएपछि भने यहाँको स्वास्थ्य अवस्थामा धेरै परिवर्तन भएको छ । प्रतिष्ठानले उपचार सेवा मात्र दिएको छैन, यसले विश्वविद्यालयस्तरको चिकित्सा विषयमा अध्ययन अध्यापनका साथै अनुसन्धानको कार्यलाई त्यत्तिकै अगाडि बढाएको छ । २०७७ सालमा चिकित्सा क्षेत्रमा स्नातकोत्तर तहको पहिलो ब्याचको पढाई सुरु हुँदा डा.रहिस कोजु र प्रशंसा ताम्राकार (जिपइएम) मुन्ना केशरी र बेदकुमार चौधरी (पेडियाट्रिसियन) र ललितसिंह धामी (एनेस्थेसिया) गरी पाँच विशेषज्ञ डाक्टर उपाधि हाँसिल गरे । त्यसैगरी प्रतिष्ठानले दोस्रो ब्याचमा दुई जिपीइएम, एक पेडियाट्रिसियन, एक अर्थोपेडिक र एक एनेस्थेसिया गरी पाँच र तेस्रो ब्याचमा चार गरी १४ जना विशेषज्ञ डाक्टर उत्पादन गरेको प्रतिष्ठानका उपकुलपति प्राडा.सूर्यमान मेन्याङ्म्बोले जानकारी दिनुभयो ।

उहाँका अनुसार दोस्रो ब्याचमा पास आउट हुनुभएका पेडियाट्रिसियन डा.अकिना सैंजु अष्ट्रेलियामा चिकित्सकीय सेवा दिइहरनुभको छ । त्यस्तै, पेडियाट्रिक, जिपीइएम, अर्थोपेडिक, एनेस्थेसिया, सर्जरी र गाईनोक्लोजिष्ट विषयमा चौथो ब्याचमा चार, पाँचौ ब्याचमा नौ र छैटौं ब्याचमा दश गरी २३ विशेषज्ञ डाक्टरका लागि हाल उक्त प्रतिष्ठानमा अध्ययन भइरहेको उहाँले बताउनुभयो ।

एमबिबिएस पहिलो ब्याच ‘पास आउट’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले पहिलो ब्याचका एमबिबिएस डाक्टर उत्पादन गरेको छ । प्रतिष्ठानको २०८३ असार ६ गते शुक्रबार प्रकाशित नतिजा अनुसार १८ विद्यार्थी अन्तिम नतिजामा उत्तीर्ण भए । प्रतिष्ठानमा अध्ययनरत पहिलो ब्याचका २० मध्ये १८ विद्यार्थी एमबिबिएस उत्तीर्ण गर्न सफल भएको बताइएको छ ।

एमबिबिएस पहिलो ब्याच पुरा गर्नुभएकी सिराहकी नुरजाह खातुनले सुर्खेत भनेर बुझेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला रहेछ भन्ने त्यहाँ पुगेपछि मात्र थाहा पाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘हिमाली भूमि जुम्लाबाट डाक्टर बन्ने अवसर पाउँदा धेरै खुसी लागेको छ । तराईको मान्छे हिमाली जिल्ला जुम्लामा बसेर अध्ययन गर्नु सजिलो थिएन । सुरुमा गाह्रो भयो । अहिले त जुम्ला साँच्चिकैको सुन्दर लाग्छ जसले हामीलाई डाक्टर बन्ने सुवर्ण अवसर प्रदान ग¥यो ।’’

रुपन्देही बुटबलका समीरराज जोशीले पनि एमबिबिएस अध्ययन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाटै पुरा गर्नुभएको छ । प्रतिष्ठानको पहिलो व्याचका जोशीले भन्नुभयो,‘‘ कर्णाली आएर अध्ययन गर्न पाउनु हाम्रा लागि ऐतिहासिक अवसर हो । पूर्वाधार र सडकको अझै अभाव भएकाले राज्यले प्राथमिकता दियो भने जुम्ला भविश्यमा स्वास्थ्य पर्यटनको ‘हब’ नै बन्नसक्छ ।’’

नुरजाह र समीर जस्तै एमबिबिएस पहिलो ब्याचको अध्ययन सम्पन्न गर्नुभएका बैैतडीका हेमलता चन्दले इच्छाशक्तिका अगाडि विकटता र समस्या गौण बन्दारहेछन् भन्ने कुरा प्रतिष्ठानमा पढ्दै गर्दा बोध भएको बताउनुभयो । आफ्नो एमबिबिएस पढ्ने सपना पुरा भएकोप्रति खुसी व्यक्त गर्दै चन्दले भन्नुभयो, ‘‘सुरुमा जुम्ला प्रवेश गर्दा कतै आफूले देखेको सपना तुहिने हो कि भन्ने त्रास थियो । विस्तारै दोस्रो, तेस्रो ब्याच थपिँदै गयो । सङ्कायको पनि साथ सहयोग अति राम्रो तरिकाले पाइयो । साँच्चै भन्नुपर्दा जुम्ला हाम्रो ‘करियर’को जग बनेको छ ।’’

प्रतिष्ठानका उपकुलपति प्राडा मेन्याङ्म्बोका अनुसार पहिलो ब्याचमा १८ जना उत्पादन हुनु कर्णाली र राज्यका लागि खुसीको सन्देश भएको बताउनुभयो । उहाँले हिमाली क्षेत्रको जुम्लामा स्थापित प्रतिष्ठानले देश तथा विदेशलाई डाक्टर जनशक्ति दिन सुरु गर्नु ऐतिहासिक उपलब्धि भएको जनाउनुभयो । उहाँका अनुसार कर्णालीमा उत्पादन भएका एमबिबिएस डाक्टरहरुले केही महिना जुम्लामा व्यावहारिक अभ्यास (इन्टर्नशीप) गर्नेछन् । एक वर्षको इन्टर्नशीपपछि नेपाल मेडिकल काउन्सिलको परीक्षा दिएर सफल भएपछि आधिकारिक डाक्टर बनेर चिकित्सकीय सेवामा लाग्ने उहाँले बताउनुभयो । प्रतिष्ठानका अनुसार अहिले जुम्लामा डाक्टरी पढ्न भारतीय नागरिक पनि आउन थालेका छन् ।

प्रतिष्ठानमा एमबिबिएस अध्यापनरत सहायक प्राध्यापक लोकजन सिंहले कर्णाली प्रतिष्ठानमा अब छैटौं ब्याच चलिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो ब्याचमा २० जना, दोस्रो र तेस्रो ३०÷३० जना, चौथो, पाचौ र छैटौं ब्याजमा ५०/५० जनाका दरले गरी २३० जना एमबिबिएस डाक्टर अध्ययन गरिरहेका छन् । २०७८ मंसिर २६ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले जुम्लामा एमबिबिएस कक्षाको औपचारिक उद्घाटन गर्नुभएको थियो । उतिबेलादेखि आजसम्म प्रतिष्ठानले निरन्तर छैटो ब्याचसम्म पढाई गरिरहेको छ । प्रतिष्ठानका उपकुलपति मेन्याङ्म्बोले आगामी वर्षमा एमबिबिएसको थप कोटाका लागि सरकारसँग माग गरिने बताउनुभयो ।

प्रतिष्ठानले एमबिबिएस डाक्टर उत्पादन गर्न थालेपछि यहाँका नागरिक तथा सरोकारवालाहरुले पनि खुसी व्यक्त गरेका छन् । कर्णाली स्वास्थ्य स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका संस्थापक तथा पहलकर्ता संविधानसभा सदस्य नरेश भण्डारीले हिजो सामान्य स्वास्थ्यकर्मी नपाउने जुम्लाले एउटा अत्यासलाग्दो कालखण्ड पार गरेर आज विशेषज्ञ डाक्टर उत्पादन गरी देश तथा विदेश निर्यात गर्ने सक्षमता राख्ने विषय चानचुने नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘संसारमा असम्भव भन्ने कुनै चिज छैन । इच्छाशक्तिका अगाडि जस्तासुकै चुनौतीका पहाडहरु मैदानमा परिणत हुन सक्छन् । नेपालको सन्दर्भमा मानव विकास सूचाङ्क बदल्न पछिल्लो समयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको ठूलो योगदान रहेको छ । यद्यपि यो संरचना निर्माण हुने र यसले मुलुकलाई नै चिकित्सकीय सेवा दिने जनशक्ति उत्पादन गर्ला भन्ने कुरा सम्भव ठानिएको थिएन, जुन आज सम्भव भएको छ ।”

नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले स्वास्थ्य क्षेत्रको विकासमा मात्र नभई कर्णालीको आर्थिक तथा सामाजिक रुपान्तरणमा प्रतिष्ठानको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । ‘‘हिजो उपचारका लागि लाखौं खर्च गर्नुपथ्र्यो । आज यहीँ उपचार सम्भव भएको छ । उतिबेला एक जना मेडिकल अधिकृतका लागि सरकारसँग हारगुहार गर्नुपर्ने बाध्यता भोगेको जुम्लाले आज आफै विशेषज्ञ डाक्टर उत्पादन गरेको छ’’, उहाँले भन्नुभयो, प्रतिष्ठानमा स्कुल अफ मेडिसिन, स्कुल अफ नर्सिङ र स्कुल अफ पब्लिक हेल्थ तीन वटा विधामा अध्ययन हुने गर्दछ । स्कुल अफ मेडिसिनमा एमबिबिएस र बि–फर्मा इन क्लिनिकल फार्मेसी पढाई भइरहेको छ । नर्सिङमा मिडवाफ्री स्नातक र बिएन समेत अध्ययन भइरहेको छ । यसैगरी स्नातकोत्तर तहका विभिन्न विषय पढाई भइरहेको छ ।

भारतीय आठ विद्यार्थी एमबिबिएस अध्ययन गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा डाक्टर पढ्न छिमेकी देश भारतबाट पनि आठ विद्यार्थी अध्ययन गरिरहेका छन् । एमबिबिएस चौथो ब्याचमा उत्तराखण्ड, मध्यप्रदेश र जम्मु काश्मीरबाट एक÷एक जना अध्ययन गरिरहेका छन् । त्यस्तै, छैटौं ब्याचमा पाँच भारतीय विद्यार्थीहरु एमबिबिएस डाक्टर अध्ययन गरिरहेका छन् । ब्याचलर इन क्लिनिकल फार्मेसीको पहिलो ब्याज ११ जना पास आउट भइसकेका छन् । दोस्रो, तेस्रो, चौथो, पाँचौं र छैटौं ब्याजमा क्रमश १७, १७, १६, १४, १४ गरी ७८ जना विद्यार्थी अध्ययन गरिरहेका छन् । त्यस्तै, ब्याचलर अफ मिडवाईफेरी साइन्समा पहिलो, दोस्रो, तेस्रो र चौथो ब्याजका ६, ९ ७, ८ गरी ३० जना विद्यार्थी पास अउट भएका छन् भने पाँचौमा पाँच र छैटौंमा एक जना विद्यार्थी अध्ययनरत रहेको जनाइएको छ ।

ब्याचलर अफ नर्सिङ साइन्समा पहिलो ब्याजमा सात र दोस्रो ब्याजमा १५ जना पास आउट भएका छन् । तेस्रो, चौथो, पाँचौ र छैटौं ब्याजमा क्रमशः १२, १४, १३, १३ गरी ५२ जना अध्ययनरत छन् । बीएस्सी नर्सिङमा पहिलो, दोस्रो र तेस्रो ब्याजमा क्रमशः २०, १९, २० गरी ५९ जना अध्ययन गरिरहेका छन् ।

स्कुल अफ पब्लिक हेल्थको स्नातकोत्तर तहको पहिलो ब्याचमा पाँच जना पास आउट र दोस्रो र तेस्रो ब्याजमा पाँच÷पाँच जना अध्ययनरत छन् । स्नातक तहको पहिलो, दोस्रो, तेस्रो र चौथो ब्याचमा क्रमशः २०, १८, ८, ११ गरी ५७ जना पास आउट भएका छन् भने पाँचौ, छैटौं, सातौं र आठौं ब्याचमा १३, १४, १५, १५ गरी ५७ जना अध्ययनरत छन् ।

स्कूल अफ फार्मेसीअन्तरगत स्नातकोत्तर तहको पहिलो ब्याचमा दुई जना पास आउट र दोस्रो ब्याचमा एक जना अध्ययनरत छन् । ब्याचलर इन क्लिनिकल फार्मेसीको पहिलो ब्याचमा ११ जना पास आउट भएका छन् । दोस्रो, तेस्रो, चौथो, पाँचौ, छैटौं ब्याचमा क्रमश १७, १७, १६, १४, १४ गरी ७८ जना विद्यार्थी अध्ययन गरिरहेको प्रतिष्ठानले जनाएको छ । शुरबहादुर सिंह/रासस