३१ श्रावण २०८३, आईतवार
,
Latest
जाजरकोट पहिरोः मृत्यु हुनेकाे सङ्ख्या ४ पुग्याे मुस्ताङ प्रदेश अस्पतालको एम्बुलेन्स आफैँ बिरामी भदौमा अधिकांश वाणिज्य बैंकको निक्षेप ब्याजदर स्थिर, पाँच बैंकले घटाए इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी इन्डोनेसियाको भूकम्पमा जनधनको क्षतिप्रति परराष्ट्रमन्त्री खनालद्वारा दुःख व्यक्त जाजरकोेट पहिरोः तीन जनाको मृत्यु, दुई जना बेपत्ता बालेनप्रति ओलीको कटाक्ष– मादल बजाउन नजान्नेलाई मादल दिँदा राम्रो संगीत निस्कँदैन बिजुली उत्पादन बढ्यो, अब बजार कहाँ छ ? स्थानीय बजारमा सुनचाँदीको मूल्य बढ्यो शिक्षा ऐन निर्माणअघि सातै प्रदेशमा ‘शिक्षा संवाद’
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिजुली उत्पादन बढ्यो, अब बजार कहाँ छ ?



अ+ अ-

काठमाडाैँ । कुनै समय नेपालमा विद्युत अभाव राष्ट्रिय संकट थियो । अहिले परिस्थिति उल्टिएको छ । नेपाल करिव १ हजार ६ सय ९० मेगावाटसम्म विद्युत आपूर्ति गर्न सक्ने अवस्थामा पुगेको छ । करिव २ हजार २ सय मेगावाट स्थापित (जडित) क्षमता पुगिसकेको छ । नेपाल विद्युत प्राधिकरणसँग करिव ७ हजार मेगावाटको विद्युत खरिद सम्झौता भइसकेको छ भने ३ देखि ४ हजार मेगावाट निर्माणाधीन छन् र थप ठूलो परिमाणका आयोजना पीपीए तथा उत्पादन प्रक्रियाका विभिन्न चरणमा छन् ।

यससँगै नेपालको ऊर्जा क्षेत्रको आधारभुत प्रश्न बदलिएको छ । अब समस्या बिजुली उत्पादन गर्न सकिन्छ कि सकिँदैन भन्ने होइन । उत्पादित बिजुली कसरी व्यवस्थापन गर्ने, कहाँ बेच्ने, कसरी प्रसारण गर्ने र त्यसबाट मुलुकले कति आर्थिक मूल्य सिर्जना गर्ने भन्ने हो । विशेषगरी वर्षा याममा उत्पादन र मागबीचको अन्तर अझ बढ्ने भएकाले यो प्रश्न थप गम्भीर हुँदै गएको छ । नेपाल विद्युत प्राधिकरणका का.मु. कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठकाअनुसार उत्पादन क्षमता बढ्दै जाँदा प्रणाली क्रमशः सरप्लसतर्फ जाँदैछ ।

करिव ७ हजार मेगावाटको पीपीए भइसकेको र निर्माण तथा पीपीएको प्रक्रियामा रहेका आयोजनामा निजी क्षेत्र र सर्वसाधारणको ठूलो लगानी जोडिएको छ । त्यसैले अब बजार निर्माण गर्नु निजी क्षेत्रलाई सुविधा दिने विषय मात्र होइन, लगानी सुरक्षाको प्रश्न पनि हो ।

यसको अर्थ नेपालको ऊर्जा नीति अब उत्पादन थप्ने योजनाभन्दा धेरै ठूलो विषय बनेको छ । उत्पादन, प्रसारण, वितरण र व्यापारका भुमिकालाई स्पष्ट गर्दै प्रतिष्पर्धी विद्युत बजार निर्माण गर्नुपर्ने अवस्था आएको छ ।

विद्युत व्यापारका लागि नयाँ कानून नै पर्खिरहनुपर्छ भन्ने छैन

विद्युत नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले नेपालको ऊर्जा क्षेत्रमा भइरहेको परिवर्तनको कानूनी र बजार संरचनासँग जोडिएको अर्को पक्ष प्रश्तुत गरेका छन् । उहाँकाअनुसार विद्युत व्यापार अघि बढाउन नयाँ विद्युत विधेयक पारित नभएसम्म सबै प्रक्रिया रोकिराख्नुपर्ने अवस्था छैन । विद्यमान विद्युत ऐन, २०४९ को दफा २१ र २२ ले विद्युत व्यापारको आधार खोलिसकेका छन् ।

विद्युत नियमन आयोग ऐनले पनि उत्पादन, प्रशारण, वितरण र व्यापार चारै क्षेत्रमा नियमन गर्ने जिम्मेवारी आयोगलाई दिएको छ । त्यसैले अहिले उपलब्ध कानूनी संरचनाभित्रैबाट विद्युत व्यापारको प्रारम्भिक बाटो खोल्न सकिने उहाँको तर्क छ ।

यसको आधारभुत परिवर्तन विद्युतलाई हेर्ने दृष्टिकोणमै छ । धितालका शब्दमा, “विद्युत एउटा व्यापारिक कमोडिटी हो ।” विद्युतलाई कमोडिटीका रूपमा स्वीकार गरेपछि त्यससँग बजार, मूल्य, प्रतिष्पर्धा, व्यापारिक जोखिम, खरिदकर्ता, विक्रीकर्ता र बजार पहुँचका प्रश्न स्वतः जोडिन्छन् ।

प्रशारण र वितरण भने प्राकृतिक एकाधिकारको प्रकृतिका पूर्वाधार हुन् । एउटै क्षेत्रमा धेरै कम्पनीले समानान्तर प्रशारण संरचना बनाउनु आर्थिक रूपमा उचित हुँदैन । तर यसको अर्थ विद्यमान प्रसारण संरचनामा एकाधिकार कायम राखेर अरूलाई पहुँच नदिने पनि होइन । योग्य उत्पादक र उपभोक्तालाई भेदभावरहित पहुँच दिनुपर्ने हुन्छ । यहीँबाट ओपन एक्सेस नेपालको विद्युत बजार सुधारको महत्वपूर्ण आधार बन्छ ।

ओपन एक्सेसको नियम बनेपछि कार्यान्वयनको परीक्षा

विद्युत नियमन आयोगले ओपन एक्सेससम्बन्धी निर्देशिका स्वीकृत गरिसकेको छ । अब चुनौती त्यसलाई व्यवहारमा उतार्ने हो । ग्रिड पहुँच, कनेक्सन, ऊर्जा लेखाङ्कन, मिटरिङ, बिलिङ, सेटलमेन्ट, विवाद समाधान र सम्बन्धित पक्षबीचको सम्झौताको ढाँचा स्पष्ट हुनुपर्छ । ग्रिडमा उपलब्ध ट्रान्सफर क्षमता, कुनै स्थानमा इन्जेक्ट गरिएको विद्युत अर्को स्थानमा निकाल्न सकिने अवस्था, कन्जेसन र ऊर्जा लेखाङ्कनजस्ता प्राविधिक विषय पनि यसमा जोडिन्छन् ।

अध्यक्ष धितालको जोड नियम बनाउनुमा मात्र होइन, कार्यान्वयन गर्न सकिने नियम बनाउनुमा छ । “डकुमेण्ट त ल्याउँला, त्यो भोलि इम्प्लिमेन्ट हुन सकेन भने फेरि गाह्रो हुन्छ,” उहाँ भन्नुहुन्छ ।  त्यसैले नियम बनाउँदा सम्बन्धित सबै पक्षको सहभागिता र त्यसप्रतिको संस्थागत ‘बाइण्डिङ्ग’ आवश्यक हुने उहाँको धारणा छ । आयोगले आवश्यक उपकरण तथा कार्यविधि तयार गरेर ओपन एक्सेस कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाइरहेको छ ।

ओपन एक्सेस प्रभावकारी भए उत्पादन गर्ने कम्पनीले आफ्नो बिजुली आफ्नै ग्राहकसम्म पु¥याउन विद्यमान प्रशारण प्रणाली प्रयोग गर्नसक्छ । यसले प्राधिकरणमाथिको एकल व्यापारिक निर्भरता घटाउन र उत्पादक तथा उपभोक्ताबीच नयाँ व्यापारिक सम्बन्ध विकास गर्न सक्छ ।

समस्या बिजुलीको परिमाण होइन, बजारको क्षमता

उत्पादन बढ्दै गएको अवस्थामा अब सबैभन्दा कठिन प्रश्न बजारको हो । धितालकाअनुसार प्रणालीमा विक्रीयोग्य विद्युतको परिमाण बढ्दै गएको छ र तत्काल व्यवस्थापन गर्नुपर्ने ऊर्जाको मात्रा पनि ठूलो हुँदैछ । त्यसको एउटा उपाय री–ट्रेडिङ हुनसक्छ । प्राधिकरणले उत्पादन गरेको वा पीपीए गरेको सम्पूर्ण बिजुली आफैँले अन्तिम बजार खोजिरहनुपर्ने अवस्थाबाट बाहिर निस्केर छुट्टाछुट्टै ट्रेडिङ कम्पनीले उत्पादकबाट विद्युत किन्ने र अर्को बजारमा बेच्ने संरचना विकास गर्न सकिन्छ ।

नेपाल पावर ट्रेडिङ कम्पनी सञ्चालनमा आइसकेको छ र भारतमा विद्युत निर्यातको प्रक्रिया अघि बढिरहेको छ । यही संरचनाबाट निजी क्षेत्रलाई पनि विद्युत व्यापारमा प्रवेश गराउने सम्भावना खुल्छ । धितालले विद्यमान कानूनी व्यवस्थाभित्रै निजी क्षेत्रलाई निश्चित परिमाणमा विद्युत् व्यापारको अवसर दिन सकिने बताएका छन् ।

उनको प्रश्ताव स्पष्ट छ, ‘भएको संरचनालाई एक्टिभेट गरौँ । त्यससँग प्राइभेट सेक्टर पनि आओस् र प्यारलल्ली प्राइभेट सेक्टरलाई पनि लाइसेन्सको रेजिममा ल्याऊँ ।’

तर व्यापारमा प्रतिष्पर्धा ल्याउन लाइसेन्स मात्र पर्याप्त हुँदैन । समान बजार पहुँच, पारदर्शी शुल्क, व्यापारिक सम्झौता र नियामकीय पूर्वानुमानयोग्यता पनि आवश्यक हुन्छ ।

बजार बदलिँदा संस्थाको चरित्र पनि बदलिनुपर्छ

ऊर्जाविज्ञ विवेकराज कँडेलले नेपालका उर्जा संवद्ध संस्थाको पुनःसंरचन नगरी कम गर्न कठिन हुने बताउनु भयो । नेपालका ऊर्जा संस्थाहरू त्यस्तो समयमा निर्माण भएका हुन्, जब ऊर्जा मूलतः विकास र सामाजिक सेवाको साधन भएको तर्क गर्नुभयो । विद्युत उत्पादनको उद्देश्य विद्युतीकरण बढाउनु, पहुँच विस्तार गर्नु र अभाव हटाउनु थियो । अहिले ऊर्जा आफैं रणनीतिक सम्पत्तिमा बदलिँदैछ । त्यसैले ऊर्जा क्षेत्रलाई केवल इन्जिनियरिङको दृष्टिले हेरेर पुग्दैन । विद्युत व्यापार आफैं बजार र व्यवसायको विषय हो । कँडेल भन्नुहुन्छ, “आज हामी ट्रेडिङको कुरा गर्दा दिस इज नो लङ्गर एन इन्जिनियरिङ टास्क ।”

यसको अर्थ संस्थाभित्रको विशेषज्ञता पनि बदलिनुपर्छ । विद्युत प्रणालीका लागि इन्जिनियर चाहिन्छ, तर बजारका लागि प्राइस एनालिस्ट, मार्केट एनालिस्ट र अन्तर्राष्ट्रिय विद्युत व्यापार बुझ्ने जनशक्ति पनि आवश्यक हुन्छ । विद्युतलाई कमोडिटीका रूपमा हेर्ने हो भने बजार बुझ्ने संस्थागत क्षमता विकास नगरी प्रतिष्पर्धी बजार बनाउन सकिँदैन ।

विज्ञ कँडेलको अर्को चिन्ता नियमन र बजारको पूर्वानुमानयोग्यतासँग जोडिएको छ । “रेगुलेटरी प्रेडिक्टेबल, मार्केट प्रेडिक्टेबल भएन भने … एउटा भेरी सब–अप्टिमल मार्केट रिजल्ट हुन्छ,” उहाँले भन्नुभयो । जलविद्युत दीर्घकालीन लगानी भएकाले लगानीकर्ताले बजार, नियम, ग्रिड पहुँच र मूल्यको भविष्य अनुमान गर्न सक्नुपर्छ । नियम बारम्बार बदलिने, ग्रिड पहुँच अनिश्चित हुने वा बजार संरचना स्थिर नहुने अवस्था रहे लगानीको जोखिम र लागत बढ्छ ।

१६ हजार मेगावाटको लगानीलाई कसरी सुरक्षित गर्ने ?

उत्पादन विस्तारको अर्को पाटो लगानी सुरक्षा हो । करिव ७ हजार मेगावाटको पीपीए भइसकेको र थप ठूलो परिमाणका आयोजना निर्माण तथा पीपीएको प्रक्रियामा रहेको अवस्थामा त्यसमा निजी क्षेत्र र सर्वसाधारणको ठूलो पुँजी जोडिएको छ । त्यसैले विद्युत बजार विस्तार अब लगानी आकर्षित गर्ने नीतिको स्वाभाविक अर्को चरण बनेको छ ।

दीर्घायुकुमार श्रेष्ठकाअनुसार प्राधिकरण निजी क्षेत्रलाई विद्युत व्यापारमा ल्याउन तयार छ । प्राधिकरणले आफैँ नेपाल पावर ट्रेडिङ कम्पनी अघि बढाएको छ भने थप निजी ट्रेडिङ कम्पनी आएर प्रतिष्पर्धा गर्नु पनि आवश्यक छ । सन् २०३५ सम्म करिव १३ हजार ५ सय मेगावाट विद्युत स्वदेशमै खपत गर्ने र करिव १५ हजार मेगावाट निर्यात गर्ने लक्ष्य राखिएको अवस्थामा उत्पादनसँगै खपत र निर्यातको संरचना तयार पार्नुपर्ने हुन्छ । अर्थात ३० हजार मेगावाट उत्पादन गर्ने लक्ष्य आफैंमा पर्याप्त छैन । त्यसलाई कहाँ खपत गर्ने र बाँकी कहाँ बेच्ने भन्ने योजना पनि त्यत्तिकै महत्वपूर्ण छ ।

६ खर्बको प्रशारण लगानी गर्नसक्ने क्षमता छ  ?

यही प्रश्नले नेपालको ऊर्जा क्षेत्रको अर्को ठूलो चुनौती देखाउँछ । सन् २०३५ सम्म ३० हजार मेगावाट उत्पादन प्रणालीमा समाहित गर्न आगामी दशकमा करिव ६ खर्ब रुपैयाँसम्म प्रसारण पूर्वाधारमा लगानी आवश्यक पर्नसक्ने राष्ट्रिय ग्रीड कम्पनीका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर सागर श्रेष्ठको अनुमान छ । यो रकम जुटाउनु मात्र चुनौती होइन । त्यसलाई समयमा प्रसारण लाइन र सबस्टेसनमा बदल्न सक्ने कार्यान्वयन क्षमता पनि चाहिन्छ । नेपालको सार्वजनिक लगानीको पछिल्लो अनुभवले यही जोखिम देखाउँछ ।

आर्थिक वर्ष २०८२/०८३ को पहिलो ११ महिनामा संघीय सरकारको पुँजीगत खर्च ३२.५३ प्रतिशत मात्र भएको र कमजोर आयोजना तयारी, खरिद प्रक्रिया तथा संस्थागत क्षमतालाई त्यसका कारणका रूपमा औंल्याइएको छ ।

प्रशारण आयोजना झन् जटिल हुन्छन् । रुट निर्धारण, जग्गा प्राप्ति, वन तथा वातावरणीय स्वीकृति, स्थानीय तहसँगको समन्वय, ठेक्का, उपकरण खरिद र प्राविधिक जनशक्तिको व्यवस्थापन सबै एकैसाथ अघि बढ्नुपर्छ । त्यसैले ६ खर्बको बहस ‘पैसा कहाँबाट ल्याउने ?’ मा मात्र सीमित हुन सक्दैन । प्रश्न ल्याएको पैसा कति छिटो प्रसारण क्षमतामा बदल्न सक्छौँ ?’ भन्ने पनि हो ।

यसमा अर्को संस्थागत प्रश्न पनि छ । राष्ट्रिय ग्रीड कम्पनी र नेपाल विद्युत प्राधिकरणले समानान्तर रूपमा प्रसारण पूर्वाधार निर्माण गर्ने हो भने दोहोरोपन आउन सक्छ । सागर श्रेष्ठले प्रशारणमा यस्तो डुप्लिकेसन आर्थिक रूपमा उचित नहुने र जिम्मेवारी तथा क्षेत्राधिकार स्पष्ट हुनुपर्ने पक्ष औंल्याएका छन् ।

भारत बजार हो तर रणनीति अझ ठूलो हुनुपर्छ

पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायकाअनुसार नेपालले जलविद्युतमा निजी क्षेत्रलाई प्रवेश गराउने निर्णय गर्दा नै घरेलु बजारले ठूलो परिमाणको जलस्रोत उपयोग गर्न नसक्ने स्पष्ट थियो । त्यसैले जलविद्युतलाई निर्यातयोग्य वस्तुका रूपमा विकास गर्ने नीति आवश्यक भयो । तर त्यससँगै एउटा पुरानो समस्या थियोस प्रसारण पहिला बनाउने कि उत्पादन आयोजना ? उपाध्यायले त्यस समयको अवस्थालाई यसरी व्याख्या गर्नुभयो, “प्रशारण लाइन छैन, उत्पादक उत्पादन किन गर्ने ? उत्पादन छैन, प्रशारण लाइन किन बनाउने ?”

भारतसँगको विद्युत व्यापारको बाटो पनि एकैपटक खुलेको होइन । उच्चस्तरीय भ्रमण, लगानी सम्मेलन, ऊर्जा मन्त्रालयस्तरीय छलफल र कुटनीतिक संयन्त्र हुँदै बजार पहुँच विस्तार भएको हो । भारतसँगको विद्युत व्यापारमा १० हजार मेगावाटसम्म खरिदसम्बन्धी प्रतिवद्धता, क्षेत्रीय ग्रीड र द्विपक्षीय व्यापारका प्रयास जोडिएका छन् ।

यसकारण भारतको बजार केवल व्यावसायिक प्रश्न होइन । यसमा कुटनीति, प्रसारण, सुरक्षा चासो र दीर्घकालीन ऊर्जा सम्बन्ध पनि जोडिन्छ । उपाध्यायकाअनुसार भारतको बजार बन्द भएको अवस्था छैन । त्यसैले नेपालले भारतमा बजार खोज्ने प्रयासलाई अझ रणनीतिक बनाउनुपर्छ ।

भारतको ऊर्जा माग बढ्दै जाँदा नेपालको जलविद्युतको रणनीतिक मूल्य पनि बढ्न सक्छ । भारतले सन् २०४७ सम्म विकसित अर्थतन्त्र बन्ने लक्ष्य राखेको छ । आर्थिक विस्तारसँगै विद्युत माग बढ्नेछ । डेटा सेन्टर र एआईका परियोजना जस्ता नयाँ क्षेत्रले समेत माग थप्नेछन् । सौर्य र वायु ऊर्जाको विस्तार भएपनि तिनको उत्पादन प्रकृति समयसँग जोडिएको हुन्छ । विशेषगरी साँझको पिकआवरको माग व्यवस्थापन गर्न लचकदार ऊर्जा श्रोत र ब्यबस्थापन आवश्यक पर्छ ।
यहीँ नेपालको जलविद्युतको महत्व छ । नेपालले भारतलाई केवल थप बिजुली बेच्ने स्रोतका रूपमा होइन, भारतको ऊर्जा प्रणालीलाई सन्तुलित गर्न सक्ने लचिलो उर्जा श्रोतका रूपमा आफ्नो जलविद्युत प्रश्तुत गर्न सक्छ ।

कँडेलको भनाइमा, “हाम्रो मार्केट पोस्चर हामी कुन ठाउँमा छौँ, इनर्जीको दुनियाँमा हामीले कुन हिसावले इनर्जीलाई लिएका छौँ, त्यो क्ल्यारिटीले हाम्रो इन्स्टिच्युसनल सेटअप र नेगोसिएट गर्ने बाटोहरू खुल्छ।”यसको अर्थ नेपालको ऊर्जा कूटनीति पनि उत्पादनको परिमाणमा मात्र आधारित हुनु हुँदैन । नेपालको विद्युत क्षेत्रीय ऊर्जा प्रणालीका लागि किन उपयोगी छ भन्ने रणनीतिक आधार निर्माण गर्नुपर्छ ।

बंगलादेशपछि नेपालको बिजुलीको बजार कहाँ ?

भारतपछि बंगलादेश नेपालको विद्युत निर्यातको अर्को महत्वपूर्ण गन्तव्य बनेको छ । तर दीर्घकालीन रणनीतिमा ‘अन्य बजार’ भन्नाले कुन देशलाई बुझ्ने भन्ने प्रश्न खुलै छ । अहिले भारत र बंगलादेशबाहेक नेपालको विद्युतका लागि तत्कालै तयार र ठूलो बजार पहिचान भइसकेको अवस्था छैन ।

बंगलादेशसम्मको व्यापारले पनि एउटा वास्तविकता देखाउँछ । नेपालले भारतको प्रशारण प्रणाली प्रयोग गरेर बंगलादेशमा विद्युत पु¥याइरहेको छ । त्यसैले बंगलादेश भारतको विकल्प भएपनि भारतलाई छाडेर पुग्ने बजार होइन । नेपालको क्षेत्रीय विद्युत व्यापारको आधार भारतसँगको प्रशारण सम्बन्धमै जोडिएको छ ।
दीर्घकालीन सम्भावनाका रूपमा श्रीलंकालाई हेर्न सकिन्छ । भारत र श्रीलंकाबीच सम्भावित ग्रीड अन्तरसम्बन्ध विकास भएमा नेपाल–भारत–श्रीलंका संरचनामार्फतनेपाली विद्युत दक्षिण एशियाको अर्को बजारसम्म पुग्ने सम्भावना बन्न सक्छ । तर यो तत्कालको बजार होइन ।

त्यसैले नेपालको रणनीति भारतको विकल्प खोज्नेभन्दा भारत हुँदै क्षेत्रीय बजारमा पहुँच विस्तार गर्ने हुनुपर्छ । भारत मुख्य बजार, बंगलादेश विस्तार भइरहेको बजार र श्रीलंका दीर्घकालीन सम्भावित गन्तव्यका रूपमा देखिन्छ । दीर्घकालमा नेपालको वास्तविक बजार एउटा देश नभई दक्षिण एसियाको एकीकृत विद्युत बजार बन्नसक्छ । तर त्यसका लागि उत्पादनभन्दा बढी प्रशारण, बजार पहुँच, नियामकीय समन्वय र क्षेत्रीय राजनीतिक सहमति निर्णायक हुनेछन् ।

घरेलु खपत बढाउन उद्योग चाहिन्छ

निर्यात मात्र नेपालको ऊर्जा अर्थतन्त्रको समाधान होइन । ठूलो परिमाणमा विद्युत स्वदेशमै खपत गर्ने उद्योग र आर्थिक गतिविधि सिर्जना गर्नुपर्ने आवश्यकता पनि उत्तिकै ठूलो छ । विद्युत खपत बढे औद्योगिक विकास र आर्थिक गतिविधिमा योगदान पुग्छ ।

तर यहाँ नेपालको अर्को नीतिगत विरोधाभास देखिन्छ । उपाध्यायकाअनुसार एकातिर कर तथा भ्याट छुट, न्युन रोयल्टी, आयातमा सहुलियत र अन्य उपायबाट सस्तो विद्युत उत्पादन गर्ने नीति लिइएको छ । अर्कोतिर वन तथा जग्गासम्बन्धी नीतिले आयोजना र उद्योगको लागत बढाउँदै लगेको छ । जग्गाको मूल्य, वन क्षेत्र प्रयोगको जटिलता र वातावरणीय स्वीकृतिमा लाग्ने समयले आयोजना निर्माण महँगो बनाउँछ ।

यसले ऊर्जा क्षेत्रभन्दा बाहिरको ठूलो नीतिगत प्रश्न खडा गर्छ । नेपालले विद्युत उत्पादन बढाएर उद्योग स्थापना गर्न चाहन्छ भने ऊर्जा, वन, भूमि र औद्योगिक नीति एउटै दिशामा चल्नुपर्छ । नत्र उत्पादन बढ्छ तर खपत गर्ने उद्योग आउँदैनन् । प्रशारणको आवश्यकता बढ्छ तर लाइन निर्माणमै अवरोध आउँछ । विद्युत सस्तो बनाउने लक्ष्य हुन्छ तर आयोजना निर्माण लागत बढ्दै जान्छ ।

लगानीमैत्री वातावरणको प्रश्न

ऊर्जा क्षेत्रमा निजी लगानी निर्णायक भइसकेको छ । निजी क्षेत्र अब बाहिरी खेलाडी होइन, उत्पादन प्रणालीको प्रमुख हिस्सेदार हो । त्यसैले सरकार र निजी क्षेत्रबीचको सम्बन्ध पनि बदलिनुपर्छ ।  कँडेलले उठाएको नियामकीय पूर्वानुमानयोग्यताको प्रश्न र उपाध्यायले उठाएको वन तथा जग्गाको प्रश्न एउटै ठूलो समस्याका दुई पाटा हुन् ।

लगानीकर्ताले आयोजना निर्माण गर्नुअघि विद्युत विक्रीको सम्भावना, प्रशारण पहुँच, कर व्यवस्था, जग्गा लागत, वन स्वीकृति र बजार नियमबारे पर्याप्त अनुमान गर्न सक्नुपर्छ । अन्यथा नेपालको प्राकृतिक जलविद्युत लाभ हुँदाहुँदै उत्पादन महँगो बन्न सक्छ ।

यसैले लगानीमैत्री वातावरण भन्नाले कर छुट वा सहुलियत मात्र होइन । नीति स्थिरता, नियामकीय स्पष्टता, बजार पहुँच, प्रशारण सुनिश्चितता र परियोजना कार्यान्वयनको समयतालिका पनि लगानी वातावरणकै हिस्सा हुन् ।

क्रस बोर्डर ट्रेडिङ अब ठूलो परिमाणमा

छलफलमा इन्जिनियर सागर श्रेष्ठले नेपालको विद्युत व्यापारलाई घरेलु कारोबारमा सीमित गरेर हेर्न नहुने पक्ष पनि उठाउनु भयो । नेपाल पावर एक्सचेन्जसँग राष्ट्रिय ग्रीड कम्पनीको लगानी सम्बन्ध र विद्युत व्यापारका लागि अघि बढिरहेको संरचनाले ठूलो बजारतर्फको सम्भावना देखाउँछ ।

ठूलो परिमाणको व्यापारका लागि क्रस बोर्डर विद्युत व्यापारमा जानुपर्ने उहाँको धारणा छ । भूटानले द्विपक्षीय व्यापारसँगै भारतको विद्युत एक्सचेन्ज बजारमा कारोबार गरिरहेको उदाहरण दिँदै नेपालले पनि ठूला परियोजनालाई प्रत्यक्ष द्विपक्षीय वा सरकार–सरकार संरचनाबाट बजारमा लैजान सक्ने सम्भावना उहाँले देखाउनुभएको छ । कर्णाली, पश्चिम सेती, भेरीलगायत ठूला करिडोरका आयोजनालाई ठूलो परिमाणको व्यापारसँग जोड्न सकिए नेपाल साना–साना व्यापारिक सम्झौतामा मात्र निर्भर रहनुपर्ने छैन ।

यसले विद्युत व्यापारको अर्थ नै बदल्छ । प्रश्न केही सय मेगावाट बेच्नेमा मात्र सिमित रहँदैन । प्रश्न नेपाल क्षेत्रीय ऊर्जा बजारको महत्वपूर्ण खेलाडी बन्न सक्छ कि सक्दैन भन्ने हुन्छ ।

अब संस्थागत संरचना पनि बदलिनुपर्छ

उत्पादनमा आएको परिवर्तनको गतिमा संस्थागत संरचना बदलिन नसके ऊर्जा क्षेत्रको विस्तार आफैं जोखिम बन्न सक्छ । नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय ग्रीड कम्पनी, नेपाल पावर ट्रेडिङ कम्पनी, निजी ट्रेडिङ कम्पनी र नियामकको भुमिका स्पष्ट हुनुपर्ने कारण यही हो ।

उत्पादन, प्रशारण, वितरण र व्यापारका भुमिका कानूनी रूपमा अलग संरचनामा स्थापित भएपनि तिनको व्यवहारिक कार्यान्वयन अझै पूर्ण रूपमा स्पष्ट भइसकेको छैन । सागर श्रेष्ठको तर्कअनुसार अब संस्थाहरू थप्नेभन्दा जिम्मेवारी र काम गर्ने सीमा स्पष्ट बनाउने आवश्यकता बढी छ । प्रशारणमा दोहोरो संरचना बन्नु हुँदैन, व्यापारमा अनावश्यक एकाधिकार रहनु हुँदैन, खुला पहुँच नाम मात्रको हुनु हुँदैन र नियामकले बनाएको नियम व्यवहारमा लागू हुनुपर्छ ।

नेपालको ऊर्जा क्षेत्र अब एउटा निर्णायक मोडमा पुगेको छ । हिजोको प्रश्न विद्युत कहाँबाट ल्याउने भन्ने थियो । अहिलेको प्रश्न उत्पादित विद्युत कहाँ लैजाने भन्ने भएको छ । उत्पादन बढेको छ, निजी लगानी विस्तार भएको छ, निर्यातको ढोका खुलेको छ । तर त्यसलाई आर्थिक मूल्यमा बदल्न बजार, प्रशारण, नियमन र संस्थागत क्षमता उही गतिमा विस्तार हुनुपर्छ ।

त्यसैले अब नेपालको ऊर्जा बहस ‘कति मेगावाट उत्पादन गर्ने ?’ भन्ने प्रश्नबाट ‘उत्पादन भएको विद्युतलाई कति प्रभावकारी रूपमा प्रशारण, खपत र व्यापार गर्ने ?’ भन्ने प्रश्नतर्फ सर्नुपर्छ ।

नेपालले ऊर्जा क्षेत्रमा अर्को फड्को मार्ने हो भने उत्पादनको लक्ष्य मात्र ठूलो भएर पुग्दैन । ६ खर्बको प्रशारण लगानी कार्यान्वयन गर्ने क्षमता, प्रतिष्पर्धी बजार सञ्चालन गर्ने नियामकीय क्षमता, निजी लगानी सुरक्षित गर्ने नीति र भारत हुँदै क्षेत्रीय बजारसम्म पुग्ने ऊर्जा कुटनीति पनि त्यत्तिकै बलियो हुनुपर्छ । अन्ततः नेपालको ऊर्जा क्षेत्र अब ‘मेगावाट’को मात्र कथा होइन, ‘मार्केट’को कथा हो । यही परिवर्तनलाई संस्थागत गर्न सक्नु आगामी ऊर्जा दशकको सबैभन्दा ठूलो परीक्षा हुनेछ ।