२९ श्रावण २०८३, शुक्रबार
,
Latest
‘ब्याट्री व्यवस्थापनमा सवारी आयातकर्ताले अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था गर्नुपर्छ‘ ईभीको ब्याट्री दर्ता र ट्याक गर्ने सिस्टम आवश्यक छ: सुरेश श्रेष्ठ स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी ब्याट्री रिसाइक्लिङ आयातकर्ताले मात्रै गर्न सक्दैनन, छुट्टै कम्पनीमार्फत गर्नुपर्छ:आकाश गोल्छा प्रहरी अनुसन्धान र हिरासत व्यवस्थापनलाई सुदृढ बनाइँदै वैदेशिक भ्रमणमा सरकारको कडाइ, पूर्वस्वीकृति अनिवार्य नेपालले अहिल्यैदेखि ईभी ब्याट्री रिसाइलको स्पष्ट नीति बनाउनुपर्छ:डा. भनोट नेप्से परिसूचक सात अङ्कले घट्यो काठमाडौँ विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त प्रधानन्यायाधीश शर्माले आफूखुशी संवैधानिक इजलास गठन गर्ने गरेको भन्दै बार अध्यक्ष मिश्रको आपत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री बादी र युएनएफपीए प्रतिनिधिबीच भेटवार्ता, महिला तथा सीमान्तीकृत समुदायको सशक्तीकरणमा सहकार्य गर्ने प्रतिबद्धता



अ+ अ-

काठमाडाैँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका प्रतिनिधि श्रीराम हरिदासबीच महिला तथा बालबालिकाको संरक्षण र सीमान्तीकृत समुदायको सशक्तीकरणका विषयमा छलफल भएको छ।

मन्त्रालयमा शुक्रबार भएको शिष्टाचार भेटवार्तामा लैङ्गिक समानता, सामाजिक न्याय, प्रजनन स्वास्थ्य अधिकार तथा महिला, बालबालिका र किशोरकिशोरीको संरक्षणका क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी र परिणाममुखी बनाउने विषयमा छलफल भएको हो।

भेटमा मन्त्री बादीले नेपालमा लैङ्गिक समानता, प्रजनन स्वास्थ्य अधिकार तथा महिला, बालबालिका र किशोरकिशोरीको संरक्षणका क्षेत्रमा युएनएफपीए ले विगत पाँच दशकदेखि गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो। उहाँले मन्त्रालय र युएनएफपीए बीचको दीर्घकालीन साझेदारीलाई थप सुदृढ गर्दै जनताले प्रत्यक्ष अनुभूति गर्ने परिणाममा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो।

मन्त्री बादीले लैङ्गिक हिंसा, घरेलु हिंसा, बालविवाह तथा सामाजिक हानिकारक अभ्यास र कुप्रथाको अन्त्यलाई मन्त्रालयले प्रमुख प्राथमिकतामा राखेको बताउनुभयो। महिला तथा किशोरीका लागि सुरक्षित गृह, एकद्वार संकट व्यवस्थापन केन्द्र, किशोरी सशक्तीकरण तथा लैङ्गिक हिंसाविरुद्ध प्रतिकार्य प्रणाली निर्माणमा युएनएफपीएले गर्दै आएको प्राविधिक सहयोग महत्वपूर्ण रहेको उहाँको भनाइ थियो।

भेटमा आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका र सीमान्तीकृत समुदायका महिलालाई आत्मनिर्भर तथा सशक्त बनाउन सीप विकास, उद्यमशीलता प्रवर्द्धन र नेतृत्व विकासका अवसरमा पहुँच विस्तार गर्ने विषयमा पनि छलफल भएको थियो। सामाजिक न्याय र समावेशी शासनलाई प्रभावकारी बनाउन राज्यबाट उपलब्ध अवसर तथा सेवामा सबै समुदायको समान पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको थियो।

त्यसैगरी, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका अधिकारको संरक्षण, सबै प्रकारका भेदभावको अन्त्य तथा स्वास्थ्य, सामाजिक सेवा र कानुनी संरक्षणमा समान र सहज पहुँच सुनिश्चित गर्ने विषयमा सहकार्य विस्तार गर्नेबारे छलफल भएको थियो।

मन्त्री बादीले नेपाल र युएनएफपीएबीचको सम्बन्धलाई विकास सहयोगमा मात्र सीमित नराखी प्रविधि तथा नीति अनुभव आदानप्रदान, संस्थागत क्षमता विकास र विशेषज्ञता हस्तान्तरणमार्फत थप विस्तार गर्न सकिने बताउनुभयो।

महिला, बालबालिका तथा सामाजिक विकासका क्षेत्रमा युएनएफपीएको विशेषज्ञता र अनुभवलाई आगामी सहकार्यको महत्वपूर्ण आधार बनाउँदै थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।