११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह

प्रहरी अनुसन्धान र हिरासत व्यवस्थापनलाई सुदृढ बनाइँदै

प्रहरी अनुसन्धान र हिरासत व्यवस्थापनलाई सुदृढ बनाइँदै
अ अ+ अ-

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीको अनुसन्धान प्रक्रियालाई प्रमाणमुखी र वैज्ञानिक बनाउन सुधारका काम अघि बढाइएको बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा धारणा राख्दै महानिरीक्षक कार्कीले आधुनिक प्रविधि, दक्ष जनशक्ति र संरचनागत सुधारमार्फत प्रहरी सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँका अनुसार लामो समयदेखि फरेन्सिक युनिटमा आवश्यक जनशक्ति तथा स्रोतसाधन पर्याप्त रूपमा विस्तार हुन सकेको छैन । त्यसलाई सम्बोधन गर्न प्रदेशस्तरमा फरेन्सिक सेवा विस्तार गर्ने योजना अघि बढाइएको उहाँले जानकारी दिनुभयो । मधेस, वागमती र कोशी प्रदेशलाई लक्षित गरी हेटौँडामा काठमाडौंको स्तरको फरेन्सिक प्रयोगशाला स्थापना गर्ने तथा बाँकेमा समेत सेवा विस्तार गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

फरेन्सिक सेवाका लागि आधुनिक उपकरण र दक्ष प्राविधिक जनशक्ति थप गर्न आवश्यक संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरी मन्त्रालयमा पत्राचार गरिएको र पूर्वाधार निर्माणको कामसमेत अघि बढाइएको उहाँको भनाइ छ ।

गम्भीर फौजदारी अपराध, जबर्जस्ती करणी तथा कर्तव्य ज्यानजस्ता घटनाको शीघ्र र वैज्ञानिक अनुसन्धानका लागि एकीकृत डीएनए डेटा बैंक स्थापना गर्नुपर्नेमा महानिरीक्षक कार्कीले जोड दिनुभयो । त्यसका लागि आवश्यक कानूनी विधेयक तत्काल पारित गरी कार्यान्वयनमा ल्याउनुपर्ने उहाँले बताउनुभयो ।

उहाँले वैज्ञानिक परीक्षण आवश्यक पर्ने ‘एक्जिबिट’को परीक्षणमा हुने ढिलाइका कारण हिरासतको अवधि लम्बिने गरेको उल्लेख गर्नुभयो । फरेन्सिक सेवाको विस्तारले अनुसन्धानमा हुने यस्तो ढिलाइ कम गर्न सहयोग पुग्ने उहाँको भनाइ छ ।

हिरासत व्यवस्थापन तथा थुनुवाको मानव अधिकार संरक्षणमा समेत तत्काल सुधार आवश्यक रहेको महानिरीक्षक कार्कीले बताउनुभयो । अधिकांश प्रहरी इकाइहरू भाडाका भवनमा सञ्चालन भइरहेकाले अपराधको प्रकृतिअनुसार थुनुवाको वर्गीकरण गर्न समस्या भइरहेको उहाँले जानकारी दिनुभयो ।

गम्भीर अपराधमा संलग्न व्यक्ति, सामान्य अपराधका आरोपित, सवारी दुर्घटनाका मुद्दाका थुनुवा तथा लागुऔषधसम्बन्धी मुद्दाका थुनुवालाई एउटै स्थानमा राख्नुपर्ने अवस्था रहेको भन्दै उहाँले सुरक्षित, व्यवस्थित र अपराधको प्रकृतिअनुसार वर्गीकृत हिरासत व्यवस्थापन आवश्यक रहेको बताउनुभयो ।

सामान्य तथा गम्भीर प्रकृतिका अपराधी, लागुऔषध प्रयोगकर्ता र तेस्रो लिङ्गीलगायतलाई छुट्टाछुट्टै राख्न कम्तीमा आठ प्रकारका हिरासत कक्ष आवश्यक पर्ने उहाँले बताउनुभयो । यथासम्भव वर्गीकरणको प्रयास भइरहेको भए पनि संरचनागत अभावका कारण चुनौती कायम रहेको उहाँको भनाइ छ ।

हिरासतमा स्वच्छ हावा, पर्याप्त प्रकाश, खानेपानी, शौचालयलगायतका न्यूनतम मानवीय सुविधा सुनिश्चित गर्न तथा सीसीटिभीमार्फत निगरानी गर्न आवश्यक बजेटको अभाव रहेको पनि उहाँले बताउनुभयो । कैदीबन्दीलाई अदालत वा अस्पताल लैजान कारागार कार्यालयहरूसँग छुट्टै सवारीसाधन नहुँदा समेत समस्या उत्पन्न हुने गरेको उहाँको भनाइ छ ।

लागुऔषध नियन्त्रण तथा गम्भीर अपराध न्यूनीकरणका लागि ७७ वटै जिल्लामा मनोसामाजिक परामर्शदाताको व्यवस्था गर्नुपर्नेमा पनि महानिरीक्षक कार्कीले जोड दिनुभयो । विगतमा केही स्थानीय तहसँगको समन्वयमा सञ्चालन गरिएका कार्यक्रम प्रभावकारी हुन नसकेको भन्दै उहाँले अब नीतिगत रूपमै छुट्टै पुनस्र्थापना केन्द्र तथा परामर्श सेवाको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

महिला थुनुवासँगै आउने आश्रित बालबालिकाका लागि छुट्टै ‘केयर होम’ वा बाल निगरानी कक्षको व्यवस्था गर्नुपर्ने आवश्यकता पनि उहाँले औँल्याउनुभयो ।

प्रहरी, सरकारी वकिल र अदालतबीच प्रभावकारी समन्वयका लागि एकद्वार डिजिटल सफ्टवेयर प्रणाली सञ्चालन गर्नुपर्ने सुझाव महानिरीक्षक कार्कीले दिनुभयो । यसबाट अनुसन्धानदेखि अभियोजन र न्यायिक प्रक्रियासम्मको समन्वय थप प्रभावकारी हुने उहाँको विश्वास छ ।

प्रहरी कर्मचारीलाई मानव अधिकारसम्बन्धी विषयमा प्रशिक्षित गर्न १८ विधा समेटिएको ‘ह्युमन राइट्स पकेट बुक’ वितरण गरिएको र प्रत्येक जिल्लामा मानव अधिकार सम्पर्क अधिकृत तोकिएको उहाँले जानकारी दिनुभयो । हिरासतमा रहेका व्यक्तिलाई सिर्जनशील कार्यमा संलग्न गराउन ‘हिरासत पुस्तकालय अभियान’ सञ्चालन गरिएको तथा कानून व्यवसायीसँगको पहुँचलाई समेत सहज बनाइएको उहाँले बताउनुभयो ।

त्यस्तै, बाल सुधार गृहमा रहेका बालबालिका वयस्क भइसकेपछि पनि कानूनी बाध्यताका कारण त्यहीँ बस्नुपर्ने अवस्थाले झैझगडा तथा तोडफोडका घटना बढ्ने गरेको भन्दै महानिरीक्षक कार्कीले यस विषयमा समेत कानूनी सुधार आवश्यक रहेको बताउनुभयो ।

उहाँले नेपाल प्रहरीको अनुसन्धान प्रणालीलाई आधुनिक, प्रविधिमैत्री, मानव अधिकारसम्मत र प्रमाणमा आधारित बनाउँदै लैजान संरचनागत तथा कानूनी सुधारलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।