काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले नेपालको पर्यटन विकासका लागि वार्षिक २०–३० लाख पर्यटक भित्र्याउने लक्ष्यमा सीमित नभई अब एक करोड पर्यटक भित्र्याउने वृहत् योजनाका साथ अघि बढ्नुपर्ने बताउनुभएको छ ।
नेपाल पर्यटन व्यवसायीहरूको छाता संगठन नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) को ५९औँ वार्षिक साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै सभामुख अर्यालले पर्यटन उद्योगलाई पुनःउत्थान मात्र नभई तीव्र गतिमा अघि बढाउन ठूलो सपना र स्पष्ट योजना आवश्यक रहेको बताउनुभयो ।
विश्व पर्यटन बजारमा प्रविधिको तीव्र विकास, पर्यटकका बदलिँदा चाहना र बढ्दो अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबीच नेपालले आफूलाई खरो उतार्नुपर्ने चुनौती रहेको उहाँको भनाइ थियो । भूकम्प, कोरोना महामारी तथा अन्तर्राष्ट्रिय आर्थिक मन्दीजस्ता आरोह–अवरोह पार गरिसकेको नेपालको पर्यटन क्षेत्र अब पुनः उठ्ने मात्र नभई तीव्र गतिमा अघि बढ्ने तयारीमा रहेको उहाँले बताउनुभयो ।
सभामुख अर्यालले पर्यटनमैत्री कानून, पूर्वाधार विकास तथा प्रभावकारी अन्तर्राष्ट्रिय बजारीकरणमा राज्यको भरपर्दो सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो । विगतका कमजोरीको समीक्षा गर्दै पर्यटक किन घटे र अन्य गन्तव्यतर्फ किन आकर्षित भए भन्ने विषयमा गम्भीर अध्ययन गर्नुपर्ने उहाँले बताउनुभयो ।
पर्यटक आगमन बढाउन ट्राभल एजेन्टहरूको भूमिका महत्वपूर्ण हुने भन्दै अर्यालले पर्यटन व्यवसायीलाई आन्तरिक द्वन्द्व र व्यक्तिगत स्वार्थ त्यागेर सामूहिक हितमा केन्द्रित हुन आग्रह गर्नुभयो ।
उहाँले लामो समयदेखि चर्चामा रहेको ‘टुरिस्ट बस पार्क’लाई व्यवस्थित रूपमा निर्माण गर्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो । विमान चढ्न विमानस्थल जानुपर्ने व्यवस्था भएजस्तै पर्यटक बसका लागि पनि व्यवस्थित र निश्चित बसपार्क आवश्यक रहेको उहाँको भनाइ थियो ।
सभामुख अर्यालले निजी ठाउँ खोज्दै स–साना स्वार्थमा अल्झिनुभन्दा उपलब्ध बसपार्कलाई एकीकृत तथा व्यवस्थित बनाउन पहल गर्नुपर्ने बताउनुभयो ।
निर्माणाधीन पर्यटन विधेयकबारे बोल्दै उहाँले आगामी ५० वर्षको आवश्यकतालाई सम्बोधन गर्ने गरी बलियो र दीर्घकालीन कानून निर्माण गर्नुपर्ने बताउनुभयो । पर्यटन समितिका सभापति, सम्बन्धित मन्त्रालय तथा सबै सरोकारवालासँग घनिभूत छलफल गरी दीर्घकालीन रूपमा मार्गदर्शन गर्न सक्ने उत्कृष्ट पर्यटन विधेयक निर्माणका लागि आफूहरू पूर्ण सहयोग गर्न तयार रहेको उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।











