काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई छिट्टै पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी सरकारले घनीभूत छलफल गरिरहेको बताउनुभएको छ ।
नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) को ५९औँ वार्षिक साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै सभामुख अर्यालले दुवै विमानस्थलबाट हवाई सेवा छिट्टै निरन्तर रूपमा सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विषयमा समेत सरकार गम्भीर रहेको र आवश्यक बहस अघि बढिरहेको जानकारी दिनुभयो ।
पर्यटन क्षेत्रको विकासका लागि प्रविधिको अधिकतम सदुपयोग गर्नुपर्नेमा जोड दिँदै सभामुख अर्यालले नयाँ पुस्तालाई पर्यटन क्षेत्रमा आकर्षित गर्न विशेष पहल आवश्यक रहेको बताउनुभयो । वर्तमान सरकार र संसद्मा युवाको बाहुल्यता रहेको उल्लेख गर्दै उहाँले सरकारले तत्कालै सबै काम गर्न नसक्ने भएकाले विकास र समृद्धिको यात्रामा नागरिकले धैर्य गर्नुपर्ने धारणा राख्नुभयो ।
सभामुख अर्यालले समाजमा नकारात्मक सन्देश प्रवाह गर्दा मुलुक असफलतातर्फ जाने भन्दै सरकारका सुधार तथा विकासका प्रयासमा नागरिकले साथ दिनुपर्ने बताउनुभयो ।
उहाँले वर्तमान सरकारले मुलुकलाई समृद्ध बनाउने ऐतिहासिक जनादेश पाएको दाबी गर्दै पर्यटनसँगै उद्योग, उत्पादन, आयात–निर्यात र सुशासनका क्षेत्रमा समेत सुधार आवश्यक रहेको बताउनुभयो ।
भ्रष्टाचारलाई जरैदेखि अन्त्य गर्ने अभियानमा सरकार दृढ रहेको उल्लेख गर्दै सभामुख अर्यालले अबको सरकारलाई असफल हुने छुट नरहेको स्पष्ट पार्नुभयो । नेपाललाई समृद्ध बनाउन सबै क्षेत्रलाई एउटै दिशामा अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।











